डेढ दशकदेखि मेची क्याम्पसमा निघुरो खुवाउदैं ललितादेवी
बिर्तामोड । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस परिसरमा हरेक दिन भेटिनुहुन्छ, ७९ वर्षीया ललितादेवी दाहाल । हातमा निघुरो, केही थान पोलिथिन र सानो कचियामा भेटिने दाहालले त्यहि परिसरमा दैनिकी बिताएको डेढ दशक पुरा भइसक्यो ।
चितवनको नेपाल स्टिल बन्द भएपछि झापा भद्रपुर आउनु भएको दाहाल यतिवेला क्याम्पसका प्राध्यापकहरु र विद्यार्थीहरुको सब्जी टारिरहनु भएको छ । नेपाल स्टिलमा सहयोगीको रुपमा कार्यरत दाहाल उद्योग बन्द भएपछि छोरीहरुको सल्लाहमा झापा आउनु भएको थियो । झापा भद्रपुर निवासी दाहाल हरेक विहान क्याम्पस परिसरमा निघुरो टिप्दै दैनिकी सुरु गर्नुहुन्छ । पहिले–पहिले क्याम्पस बाहिर टिप्थें, उहाँले भन्नुभयो, अहिले बाहिर निघुरो पाउदैन । क्याम्पसभित्रैं टिपेर सर र विद्यार्थीहरुलाई विक्री गर्छु ।
सुरुसुरुमा क्याम्पस बाहिर डुलाएर विक्री गर्ने उहाँले सर र विद्यार्थीहरुले किन्न थालेपछि डुलाउन छोड्नुभयो । प्रति मुठा २० रुपैयाँमा विक्री गर्ने उहाँ दैनिक १ सय रुपैयाँदेखि १५० रुपैयाँसम्म कमाइ हुने बताउनु हुन्छ । बुढेकालमा काम गर्न सक्नुहुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, म मेरो लागि आफै मेहनत गरेर खान्छु । सकुन्जेल आफै दुख गर्छु, जति धेरै हातखुट्टा चलायो त्यति नै निरोगी भइने रहेछ ।
निघुरोको बाहेक आम्दानीको स्रोत वृद्धाभत्ता मात्रै छ । दाहालले थप्नुभयो, निघुरो बेचेर दुधदहि खान्छु । वृद्धभत्ताले रासन किन्छु । हातखुट्टा चलेसम्म कसैको भर नपर्ने उहाँको धारणा छ ।
विद्यार्थीभन्दा सरहरुले धेरै जसो लैजाने गर्नुभएको उहाँले जानकारी दिनुभयो । उहाँले सरहरुलाई बेलाबेला केलाएर पनि तयार गरिदिने गरेको सुनाउनुभयो ।
मेची क्याम्पसमा कार्यरत शिक्षक सहायक कविता पौड्यालले बेलाबेला निघुरो खरिद गर्ने गरेको जानकारी दिनुभयो । साह्रै दुख गर्नुहुन्छ, धेरै झाडीसम्म पुगेर निघुरो खोज्ने गरेको बताउनुभयो । पौड्याल भन्नुहुन्छ, सर्पले टोक्ला है ख्याल गर्नु पनि भन्छु ।
क्याम्पसमा रहेको क्यान्टिन र वरपर भान्सामा काम गर्न पनि जाने गरेको दाहालले सुनाउनुभयो ।