स्थानीय सरकारको सहयोगले शिवसताक्षीका किसान उत्साहित
शिवसताक्षी सेरोफेरो
मनकुमार गदाल
मौरी मालक किसान उत्साहित
वैदेशिक रोजगारको सिलसिलामा आधा दर्जन वर्ष विदेशमा विताएका शिवसताक्षीका युवा अर्जुन मुखियालाई मौरीपालन ब्यवसायी प्रर्वद्धनका लागि स्थानिय सरकारले दिएको अनुदानले अहिले सफल मौरीपालक किसानको परिचय दिएको छ । चर्को घामको प्रवाह नगरी १२ घण्टा विदेशको ठाउँमा श्रम गर्ने मुखियालाई झापाको शिवसताक्षी नगरपालिकाले मौरीपालन व्यवसाय वृद्धिको लागि दिएको अनुदानले स्वदेश मै मिहिनेत गरे सुन फल्छ भन्ने हौसला मिलेको छ । विदेशीको अन्डरमा रहेर रगत पसिना बगाउने भन्दा पनि स्वदेशमा परिवारसँगै बसेर मौरीपालन गरी जसले मह काढ्छ उसले हात चाढ्छ भन्ने आफ्नो उखान ब्यवहारमा लागु भएको शिवसताक्षी ११ मा रहेको पोनिका मौरीपालन फर्मका सञ्चालक मुखियाले बताउनु भयो ।
शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष ०७९-०८० मा कृषि शाखाले युवा लक्षित छनौट गरी मौरीपालक कृषकको (मेरा) २५ प्रतिशत ३७ हजार र पालिकाको ७५ प्रतिशत १ लाख रुपैयाँ गरी १ लाख ३७ हजार अनुदान पाएको मुखियाले बताउनु भयो । सो अनुदानले २० घार मौरी थप गरी अहिले १ सय १७ घार रहेको कृषक मुखियाले जानकारी दिनु भयो । लामो समयदेखि मौरीपालन गरे पनि अरुले अनुदान पाएरे भन्ने सुने पनि आफूले पाएका थिएनन् । आफू त सिधा मान्छे कहाँ गएर माग्ने थाहा थिएन ।
जिन्दगीमा पहिलो पटक स्थानिय सरकारले अनुदान दिदा गर्व अनुभूति भयो । तब मात्र स्थानीय सरकार रहेछ भन्ने महसुस गरे मुखियाले । हसिलो मुद्रामा मौरीपालनमा थप हौसला र उर्जा मिलेको बताउनुभयो । स्थानीय सरकारबाट अनुदान र आमा सन्त कुमारी मुखियाले मौरी पालन व्यवसाय किन गर्ने यसको महत्व, महको फाइदा,वेफाइदा र यसको बजारको सम्भावना देश विदेशमा रहेको बुझाएपछि सन् २०१० फेब्ररेवरीवाट मौरी पालनमा आमाको सहयोगी भएर होमिएको उहाँले बताउनु भयो ।
हाम्रो पोनिका फर्मको म, आमा , श्रीमती , भाई बुहारी मिलेर उत्पादन गरेको मह अमेरिका,अष्टेलिया,युके,साउदी लगायतका खाडी देश छिमेकी भारतमा पठाउने गरेको अर्जुनको भनाई रहेको छ । स्वदेशमा पनि विक्री वितरण राम्रो रहेको अर्जुनको आमा सन्त कुमारीले बताउनु भयो ।
घर परिवारबाट विछोड भएर विदेशै सबै थोक हो भन्ने अहिलेको बालक देखि वृद्धसम्मको बुझाई अनि मेरो मन मष्तिकमा रहेको सो बुझाईको धङधङी हटाउन आमा, श्रीमती लगायतका परिवारले प्रेरित नगरेको भए, स्थानीय सरकारले अनुदान सहयोग दिने अवसर नदिएको भए म अहिले ६० डिग्रीको घाममा विदेशको मरुभूमिमा दुख गरी रहेको हुन्थे, विदेशको प्रसंगमा मौरीपालक अगुवा मुखियाले भन्नुभयो ।
महको माग विदेश अमेरिका लगायतका स्वदेशका विभिन्न जिल्लाबाट मह पठाई दिनु भन्दै फोन आउने गर्छ । घरमै आएर मह किनेर लैजान्छन् । विदेशको भन्दा धेरै आम्दानी घरैमा मौरीको मह बेचेर गर्ने गरी रहेकोमा अर्जुन धेरै फुरुङ हुनुहुन्छ । मह उत्पादनको विभिन्न समस्या र अप्ठ्यारा भए पनि यसको बजारीकरण प्रतिदिन बृद्धि भइरहेको मौरी पालक किसानहरु बताउछन् । जंगली मह, लिचीको मह, चिउरी तथा रुदिलो मह प्रति केजी १ हजार २ सय ,रैथाने मौरीको चाका सहितको १ हजार ५ सय देखि २ हजार प्रति केजी र तोरी फापरको मह प्रति केजी ८ सय रुपैयाँमा घर साथै बजारमा विक्री भइरहेको कृषक मुखियाले बताउनु भयो ।
आर्थिक वर्ष ०८०-०८१ मा कृषि ज्ञान केन्द्र झापाले मौरीपालन व्यवसायको अवलोकन गरी ५० प्रतिशत अनुदान अन्तर्गत १५ लाख रुपैयाँको मौरीको घार, डुर प्रशोधन मेशिन र मैन पता बनाउने औजार दिएको पनि मुखियाले जानकारी दिनुभयो । सिजनमा प्रति महिना ६ सयदेखि ७ सय केजी मह विक्री हुने गरेको उहाँको भनाई छ । किसानहरुले मौरी चर्नको लागि झापाको गौरादह, धुलावारी, विर्तामोडको सैनिकमोड , मोरङको कानेपोखरी, दाङको भालुबाङ र चितवन लगायतका ठाउँसम्म लगेर मौरी चराउने गरेको शिवसताक्षी मौरी किसान मनु अधिकारीले बताउनु भयो ।
बारम्वार नगरपालिकामा मौरीपालनका लागि योजनाहरु पेश गर्दा पनि महिलाले गरेको व्यवसाय भनेर होला सामान्य मात्र सहयोग गरेको अधिकारीको गुनासो छ । आफूले प्रत्येक वर्षको पुस महिना देखि जेठसम्म विभिन्न जिल्लाका चरन क्षेत्रमा मौरीको आहाराको लागि लगि सोही ठाउँहरुबाट ८-१० पटक मह काढ्ने गरेको बताउनु भयो । बर्खाको समयमा कृत्तिम रानी र कृत्तिम आहारा मौरीलाई उपलब्ध गराउनु पर्ने हुँदा मौरी किसानका लागि जटिल समय भएको उनीहरु बताउछन् ।
यसै गरी शिवसताक्षी ११ मै सृजना मौरी फर्मकी मौरी किसान कौशिला गुरुङ सुनुवारले गत आर्थिक वर्षमा नगरपालिकाबाट ७० हजार रकम अनुदान प्राप्त गरी १० घार मौरी किनेको बताउनु भयो ।
अहिले ५० घारमाथि मौरी रहेको गुरुङको भनाई छ । नगरपालिकाको कृषि शाखामा पुस महिनामा कागजात सहित बिल भुक्तानीको कागजात पेश गरेपछि जेठ महिनामा आएर भुक्तानी पाएको उहाँले बताउनु भयो । जतासुकैबाट चपेटामा पर्ने मौरीपालक किसान झन् पालिकाले ढिलो भुक्तानी दिदा धेरै समस्यामा पर्ने गरेको गुरुङ लगायतका किसानको गुनासो छ । मौरीको महत्व थाहा नहुँदा खेतीपाती गर्ने किसानहरुले मौरी चराउन लैजादा त्यस क्षेत्रका किसानले चर्न क्षेत्रमा चराउन नदिने, बर्खाको समयमा कृतिम आहाराको अभाव हुने सोही वेला चिनीको भाउ धेरै बढ्ने जस्ता समस्या रहेको मौरी पालक किसानहरु गुनासो गर्छन् ।
मौरीपालनका लागि प्राथमिकता दिएर खेतीमा सिचाई गर्नुपर्ने, मौरी पालन व्यवसायको वर्गीकरण गर्नु पर्ने, वास्तविक मौरी पालक कृषकलाई प्राथमिकता दिएर अनुदान दिनुपर्ने र सम्वन्धित पालिकाले मौरी चरन क्षेत्रको व्यवस्थापन गरिदिनु पर्ने दुई दर्शक अघि देखि मौरीपालन व्यवसाय गर्दै आउनु भएकी तथा श्री सतासी महिला मौरी पालन सहकारी संस्था शिवसताक्षीको कार्य समिति सदस्य सन्तकुमारीको सुझाव छ ।
शिवसताक्षी नगरभित्र ३ सय परिवार मौरीपालक किसान रहेको सतासी मौरी सहकारी संस्थाको व्यवस्थापक देवी कुमारी ओली दाहालले जानकारी दिनुभयो । केही समय देखि शिवसताक्षी मै मौरी पालन गर्दै आउनु भएकी आर्थिक अवस्था कमजोर रहेकी, एकल महिला चित्रा पाण्डेले मौरी पालन गर्न थालेपछि मेरो स्वास्थ्यमा धेरै सुधार आएको, केही रोग निको भएको बताउनु भयो । एपी सेरेना र मिलीफेरा मौरीको आहाराको लागि चराउन किसानहरुले झापा,मोरङ हँुदै दाङ,चितवनसम्म पुराउने गरेका छन् ।
चालु आर्थिक वर्ष ०८१-०८२ को युवा लक्षित कृषि विकास अनुदान अन्तर्गत शिवसताक्षी ९ की जमुना भटराई, वडा नं. ११ की दुर्गा चापागाई र सताक्षी मौरी पालन सहकारी संस्थालाई एक गरी ३ फर्मलाई मौरी घार खरिदका लागि यही जेठ मसान्तसम्म अनुदान रकम बैंक मार्फत उपलब्ध गराईने कृषि शाखाका प्रमुख रविन भट्टराईले जानकारी दिनुभयो । मौरीको मह नियमित सेवन गर्नाले १ सय ५ बढी रोग नियन्त्रण हुने त्यससँगै यस सृष्टिमा मौरी नहँुदा मानिसको आयु ४ वर्ष मात्र रहेको चिकित्सकलाई उद्धृत गर्दै मौरी पालक ब्यवसायीहरु बताउछन् ।
शिवसताक्षीमा मात्र नभएर झापामै तोरी ,फापर जस्ता वाली, लिची जस्ता फलफुलको उत्पादन राम्रो रहेको छ । ती वाली र फलफुलको रस चुसेले मौरीले चाका उत्पादन गर्ने भएकोले साथै मह विक्री खरिदको बजार पनि दिन प्रतिदिन बढ्ने क्रम रहेकोले मौरी पालन ब्यवसायको धेरै सम्भावना रहेको सतासी महिला मौरी पालन सहकारी संस्था शिवसताक्षीको अध्यक्ष रनमाया आङबोले बताउनुभयो । स्थानीय ,प्रदेश र संघीय सरकारले ब्यवसायिक मौरीपालन किसान चिनेर मात्र, मौरी पालनको औजारहरु लगायतका अनुदान सहयोग गर्न अध्यक्ष आङबोको आग्रह छ । सरकारी निकायले मौरीपालक किसानलाई सहयोग गर्ने पहिलो सर्त मौरीपालन सम्वन्धी कम्तीममा आधारभुत तालिम अनिवार्य लिएको हुनुपर्ने व्यवस्था लागु गर्न अध्यक्ष रनमायाको सुझाव छ ।
च्याउ उत्पादनमा नगरको अनुदान
शिवसताक्षी नगरपालिकाको कृषि शाखाले च्याउ उत्पादनमा बैदेशिक रोजगारवाट फर्किएका युवालाई युवा लक्षित कार्यक्रममा जोडेर किसानलाई पनि अनुदान दिने भएको छ । १० वर्ष विदेशमा काम गरेर फर्किएका शिवसताक्षी १ का चुडामणी पराजुलीले सञ्चालन गरेको गणपति च्याउ उधोगलाई नगरपालिकाले अनुदान सहयोग जेठ महिनाको अन्तिम तिर दिने भएको कृषि शाखाले जनाएको छ । साउदी अरब लामो समय र बहराइन केही समय बसेर फर्किएका चुडामणीले अहिले दुई गोठमा ९ सय बढी सिलिण्डर (पोका) च्याउ उत्पादन गरी गाउँ घर र शहर बजारमा आफनै सिटी सफारीमा विक्री गरी रहेका छन् ।
हाम्रो च्याउ उत्पादनलाई हेरेर नगपालिकाले ५० हजार रुपैयाँ अनुदान दिने बताएको चुडामणीले बताउनु भयो । भाउजु चन्द्रा पराजुलीले पहिला देखि घरमै गर्दै गरेको च्याउलाई देवर भाउजु मिलेर उत्पादन र बिक्री गरी रहेको उहाँले बताउनु भयो । भाउजुको च्याउ उत्पादनको सीपको उपयोग गर्दै हरेक दिन उत्पादन भएको च्याउ पूर्वमा माइधार र पश्चिम दमकसम्म सिटी सफारीमा लगेर विक्री गर्दै आएको चुडामणीको भनाइ छ । विदेशबाट फर्किएर केही समय अन्योलमा रहे पनि विदेशमा पनि उत्तिकै खट्नु पर्ने स्वेदश मै भाउजुले गर्नु भएको च्याउ उत्पादनलाई पेशाको रुपमा अंगालेको चुडामणीले बताउनुभयो ।
शुरु–शुरुमा च्याउ उत्पादन गरेर बेच्न लैजादा ग्राहकसँग बोल्न लाज लाग्थो । अहिले त लाज हटी सकेको गोठमा फल्दै गरेको च्याउको सिलिण्डरलाई देखाउदै उहाँले भन्नुभयो । मसिरे धानको पराललाई सफा गर्ने , उसिन्ने ,चुना हालेर पोकालाई प्वाल पारी तयार गरेर गोठमा लहरै राख्ने ,समय समयमा पानी लगाउने र च्याउ फलि सकेपछि च्याउ टिपेर बिक्री गर्ने च्याउ उत्पादकको भनाई छ ।
च्याउ,च्याउको सुकुटी र अचारको माग धेरै भए पनि आवश्यक जनशक्ति नपाउने,पानी र विजुलीको अभाव रहेको, वास्तविक च्याउ किसान छनौटमा समस्या रहेको लामो समय देखि च्याउ खेती गर्दै आएको शिवसताक्षीका अर्का किसान काँशीनाथ पोखरेलले बताउनु हुन्छ ।
मजदुरको अभाव भएपछि नगरवासीलाई राईस ट्रान्सप्लान्टर
परम्परागत खेती प्रणालीको विकल्प खोज्न, कृषि मजदुरको चरम अभाव रहेको,धानको उत्पादन लागत बढी र उत्पादन लागत बढाएर कृषकहरुलाई बढी मुनाफा दिनको लागि धान रोप्ने चार चक्के मेशिन (राईस ट्रान्सप्लान्टर ) बीउ राख्ने मेशिन, ल्याएको कृषि शाखा प्रमुख रोशन भटराईले बताउनु भयो । यसलाई यस वर्षबाट सञ्चालनमा ल्याउने बुझिएको छ ।
धान रोप्ने रोपाहार, खेतलाको अभाव बढ्दै गएकाले यसको समस्या सामधान गर्न कोशी प्रदेश सरकारसँग पहल गरी कोशी प्रदेश सरकारको ससर्त अनुदान १० लाख ५० हजारमा धान रोप्ने मेशिन, वीउ राख्ने टे« ल्याएको नगरपालिकाले जनाएको छ । धान काट्ने कम्बाइन हार्बेस्टर १ थान खरिद गरिएको र यसै वर्ष देखि सञ्चालनमा ल्याइने नगरपालिकाको कृषि शाखा प्रमुख रोशन भटराईले बताउनु भएको छ । बजारमुखी कृषि उत्पादन कार्यक्रम अन्तर्गत शिवसताक्षी भित्रका ३ वटा कृषक समुहहरुलाई चैते धानलाई बजारमुखी उत्पादनको रुपमा छनौट गरी चैते धानको बीउ वितरण गरिएको प्रमुख भटराईले बताउनु भयो ।
वडा– वडामा घुम्ति शिविर
नगरपालिकाको कृषि शाखाले कृषि उत्पादन र प्रर्वद्धनका लागि कृषक समुहको माग बमोजिम प्रत्येक वडाका १÷१ कृषक समुहका कृषकलाई धान खेती, तरकारी उत्पादन, विषादी न्यूनिकरण स्थलगत घुम्ती तालिम ११ वटै वडामा सञ्चालन गरेको जनाएको छ । तालिमहरु रोग तथा किरा ब्यवस्थापन उत्पादन प्रविधि, धान मकै, तरकारीका रोग तथा किराहरुका व्यवस्थापन गर्ने सीप सिकाइएको थियो । चालु आर्थिक वर्षमै कालो नुनिया बास्मती धान प्रर्वद्धन कार्यक्रम अनुसार प्रोत्साहन रकम उपलब्ध गराएको छ । प्रति कठ्ठा ५ सयका दरले १७ जना कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको कृषि शाखाको विवरण उल्लेख छ ।
कालो नुनिया बास्मती धान प्रर्वद्धन कार्यक्रम मार्फत प्रोत्साहन रकम प्राप्त गर्ने कृषकहरु शिवसताक्षी १ का पृथ्वी बहादुर बोहोरा र गणेशमान सिंह कार्की रहेका छन् । वडा नं.४ का ६ कृषकले प्रोत्साहन रकम पाएका छन् । रकम पाउनेहरु राजेन्द्र प्रसाद ताजपुरिया,निलम कुमार मैनाली, गुणराज पाण्डे, कुमार बस्नेत, भक्ति सिटौला र तेजेन्द्र प्रसाई रहनु भएको छ ।
त्यसै गरी शिवसताक्षी ६ का ५ जना कृषकले रकम पाएका छन् । रकम पाउनेमा श्याम लाल राजवंशी, सन्तोषकुमार चौधरी, नर बहादुर पौडेल, विष्णु बहादुर कटुवाल शेर बहादुर खड्का, हुनुहुन्छ । वडा नं. ७ का अम्विका थापा, वडा नं. ८ का जीवन राई, वडा नं. ९ का झगर सिंह अधिकारी र शिवसताक्षी १० का परमानन्द्र घिमिरेले कालो नुनिया बास्मती धान प्रर्वद्धन कार्यक्रम अन्तर्गत प्रोत्साहन रकम पाएको कृषि शाखाले जनाएको छ । प्रोत्साहन रकम पाउने बोहोरासँग भेटेर बुझ्दा बैंकको चेकबाट रकम बुझेर धान उत्पादन गरेको बताउनु भयो ।
जैविक तथा रसायनिक विषादी निशुल्क
कृषि सेवा केन्द्रका लागि जैविक तथा रसायनिक विषादी समस्याका आधारमा कृषि सेवा केन्द्र मार्फत जैविक तथा रसायनिक विषादी निशुल्क वितरण भई रहेको कृषि शाखाको विवरण उल्लेख छ ।
शिवसताक्षी नगरपालिकाको प्राविधिक सहयोगमा कञ्चन जैविक विविधता संरक्षण तथा विकास समिति चन्द्रडाँगीमा १ सय ७ प्रकारका धानहरुको बीउ तयारी गरी जैविक विविधताको कार्यालयमा शो गरी राखेको संस्थाका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिनु भयो । जसमा सानो नुनिया,कालो हुडे, बास्मती सेतो, ध्युपरी , गोमर्डी लगायतका धानको रैथाने जातका वीउ प्रर्दशनीमा राखिएको समितिले जनाएको छ ।
कृषि जैविक विविधता तथा बीउ उत्पादन सम्वन्धी जेठ १२ गतेदेखि १४ गतेसम्म तालिम सम्पन्न गरेको कृषि शाखाले जनाएको छ । शिवसताक्षी १० नम्वर वडामा किसान सूचीकरण कार्यक्रम मार्फत किसान सुचीकरण घर धुरी तथ्याङ विवरण अनुसार किसान सुचीकरण प्रणालीमा गत बैशाख मसान्तसम्म सुचिकृत कृषक परिवार संख्या ७ हजार ५ सय ९५ रहेको कृषि शाखाको शाखा प्रमुख भटराईले जानकारी दिनुभयो ।
किसान सुचीकरण घर धुरी तथ्याङ विवरण ३ जना सहजकर्ताले संकलन गरेका छन् । एक कठ्ठा भन्दा बढी जमिन भइ खेती गरेका वा अरुको खेती अधीयामा खेती गर्नेलाई किसान सुचीकरणमा समावेश गरिने जनाएको छ । उनीहरु सहित ११ वटै वडाको किसान सुचीकरण पनि आउदो आर्थिक वर्ष ०८२-०८३ मा सकेर किसान सुचीकरण कार्ड वितरण गरिने योजना पनि प्रमुख भटराईले बताउनुभयो ।
नगरपालिकाले नगरवासीलाई विषादी रहित अनाज, तरकारी जस्ता वस्तु उपलब्ध गराउन कृषि प्राविधिक राखेर सचेतना जगाउन प्रयास गरिरहेको छ ।
विभिन्न वालीमा लाग्ने रोग किरा मार्ने विषादी लिएर औषधी भन्ने किसानहरु धेरै भेटिएकोले उनीहरुलाई विषादी र औषधीको बिषयमा जानकारी दिएको शिवसताक्षी नगरपालिकाको कृषि शाखाको अधिकृत तथा प्राविधिक लेनिन शमशेर कुवँरले बताउनुभयो । धान, तरकारी वाली आदिमा लागेको रोगका किराहरुको उपचार विधि,त्यसका लक्षण र असरको विषयमा कृषकका घर ,कृषक समुहमा पुगेर सचेतना जगाउने गरेको अधिकृत कुवँरले बताउनु भयो । किराले खाएको बोट विरुवा लिएर कार्यालयमा आउने कृषकलाई लागेको रोगको जानकारी उपचार गर्ने तरिका बुझाएर कार्यालयबाट पाउने विषादी दिएर पठाउने गरेको कुवँरको भनाइ छ ।
धानमा ब्याटेरिया,धानको पँधेरो, मकैमा लाग्ने अमेरिकन फौजी किरा र तरकारीमा लहरे तरकारी बालीको फल कुहिने लाग्ने सुलसुले आदि किराले शिवसताक्षीका किसानलाई दुख दिने गरेको समस्या निराकरण गर्ने विधिको परामर्श सल्लाह दिने गरेको प्राविधिकहरुले जनाएका छन् ।
किसानले विषादी प्रयोग सही तरिकाले गर्न नजान्दा विषादीको धेरै असरहरु देखि रहेका छन् । विषादी उपयोगका सामान्य सावधानीहरु अपनाउन सकिए त्यस्ता जोखिमबाट बच्न सकिने कृषिका जानकारहरु बताउछन् । विषादी छर्दा सुरक्षित कपडा लगाएर छुर्न पर्ने (पञ्जा,मास्क,चश्मा) । बालबच्चा, गर्भवती महिला विषादीबाट टाढा राख्ने, फसल काट्नु अगाडी होलडिङ प्यारेडको पालना गर्ने । विषादी मिसाउने समय र मात्रामा अनियमितता नगर्ने र विषादी प्रयोग पछि खाली भएका बोतलहरु उचित रुपमा नष्ट गर्ने । किसानले सानो सावधानी गरेमा मानिसमा नसर्ने रोगको कमी हुने र फसल आम्दानी पनि राम्रो हुने कृषि शाखाको अधिकृत तथा प्राविधिक लेनिनको सुझाव छ ।
तरकारी लगायतका वालीमा प्रयोग हुने विषादी विष हो, दवाई होइन । त्यसले सबै क्षेत्रबाट जनचेतना जगाउन आवश्यक रहेको प्राविधिक कुवँरको अपिल छ । कृषकहरुले जताभावी हेलचेक्राई नगरी कृषि प्राविधिकहरुसँग सल्लाह लिएर अहिले विभिन्न सञ्चारका माध्यमबाट अध्ययन गरी विषादी छर्ने काम गरे बाली उत्पादन पनि राम्रो हुने विषादीको संक्रमणबाट बच्न सकिने प्राविधिक कुवँरको धारणा छन् ।
नगरको कृषि क्षेत्रको विकासमा हरेक वर्ष योजनावद्ध काम गरिरहेको नगर प्रमुख रोशन थोप्राको धारणा छ । आधुनिक प्रविधिको प्रयोग गरेर कृषिमा आत्मनिर्भर होइन, व्यवसायिक बनाउनमा जोड दिने योजना अनुसार काम भइरहेको उहाँको भनाई छ ।