घरको छतमा गजुरसहितको मन्दिर शास्त्रीय हिसाबले ‘अनुपयुक्त’
प्रदीप परियार
झापा । एक बेला थियो – घरको धुरीमा लहरा चढाएर घिरौला, लौका फलाउने । दुई दशकअघिसम्म घरको धुरीतिर टिभीको एन्टेना देखिने गर्थ्यो । अहिले ती लौका फल्ने, घिरौला फलाउने र एन्टेना राखिने ठाउँहरु बदलिएका छन् । घरको स्वरुप बदलिएसँगै घरका छतहरुमा पूजा गर्ने मन्दिर बन्न थालेका छन् ।
सार्वजनिक ठाउँहरुमा रहेको मन्दिरमा सबैलाई पूजा गर्नलाई सुविधा दिइएको छ । घरभित्र प्राय: सबैको मन्दिर पनि छ । सार्वजनिक स्थान हुँदै, घरको आँगन, कोठा हुँदै छतमा मन्दिर किन बनाइरहेका छन् ? यस विषयको खोजमा केही घरधनीहरुसँग कुराकानी गरिएको छ । वास्तुशास्त्री हरिहर अधिकारीले घरको छतमा मन्दिर बनाउनुलाई उपयुक्त मानेका छैनन् । मन्दिर जमिनमा बनाउनुपर्छ, पूर्व-उत्तर भागमा मन्दिर बनाउनुपर्छ भन्ने तर्क दिँदै उनले सुत्ने कोठा, भान्साघर, शौचालयको छेउ, पितृको तस्वीरसँगै मन्दिर राख्न नहुने प्रतिक्रिया दिए ।
हरेक मानिसको आफ्नो घर हुँदैन । घर हुनेसँग पर्याप्त जमिन हँुदैन । जमिन हुनेले अन्य प्रयोजनका लागि ठाउँको उपयोग गरिरहेको पाइन्छ । एउटा मात्र कोठा भाडामा लिएर बसेको परिवारले मन्दिर कहाँ बनाउने ? वास्तुशास्त्री हरिहर अधिकारी एउटा मात्र कोठा भाडामा लिएर बस्ने परिवारले पूर्व-उत्तर भागमा मन्दिर बनाएर पर्दाले छोप्नुपर्ने तर्क दिन्छन् । त्यसले गर्दा नकारात्मक उर्जा सिधै मन्दिरको भागमा पर्दैन । इशान कोणमा मन्दिर बनाउनुपर्ने अधिकारीको धारणा छ । त्यो कोण भनेकै उत्तरपूर्वलाई मानिन्छ । मन्दिर अन्तरिक्षमा होइन, जमिनमा नै हुनुपर्ने वास्तुशास्त्री अधिकारीको धारणा छ ।
बिर्तामोड-४ निवासी दिपा सापकोटाको घरको चार तलामाथि छतमा मन्दिर छ । उनका अनुसार छतमाथि मन्दिर बनाउनुको कारण घरमा तलका तलाहरुमा ठाउँ नभएर हो । धार्मिकशास्त्र, धर्म गुरुहरुलाई बुझेर मन्दिर बनाइएको होइन । वास्तु अनुसार मन्दिर उत्तर-पूर्व बनाइएको छ । थप कुनै कारण थाहा नभएको उनको भनाइ छ ।
यस्तै, बिर्तामोड-४ का राजु शाहले पनि घरको छतमै मन्दिर बनाएका छन् । उनलाई छतमाथि मन्दिर बनाइनुको कारण चाहिँ थाहा छैन । पूजा गर्न सजिलो हुन्छ, मन्दिरसम्म कुकुर पुग्दैन भनेर घरको छतमा मन्दिर बनाएको उनको व्यवहारिक तर्क छ । यो भन्दै गर्दा शाहले घरको कोठाभित्र शुद्धता नहुने पनि विचार व्यक्त गरे । घरभन्दा अलग्गै हुनुपर्छ भन्ने उनको मान्यता छ । तर, मन्दिर छतमा बनाएको विषय कोही कसैसँग बुझेर होइन, आफ्नै विवेकले बनाएको उनले बताए ।
बिर्तामोड-४ का अर्जुन राजभण्डारीका अनुसार मन्दिरमा छोइछाई हुन्छ भन्ने लागेर छतमा मन्दिर बनाइएको हो । मन्दिरमा सबैले प्रवेश गर्न मिल्दैन । कोठाभित्रै मन्दिर बनाउँदा सबैले छुन पनि सक्छन् । वास्तुअनुसार नै छतमा मन्दिर बनाइएको हो । आस्था विश्वासले नै छतमा मन्दिर बनाएको उनको धारणा छ ।
एमाले नेतृ द्रौपदी गणेशको घरको छतमा पनि मन्दिर छ । उनका अनुसार सुरुमा घरको आँगनमा मन्दिर थियो । अहिले दुई तलामाथि मन्दिर छ । छतमा नै मन्दिर बनाउन खोजे पनि तेस्रो तलामा पनि कोठाहरु बनाइएकोले अहिले मन्दिर दुई तलाको बराण्डामा परेको छ । पहिले आँगनमा हुँदा पनि चलेकै थियो । जब घर भाडामा लगाउन थालियो, त्यसपछि माछामासु ल्याउने, खाने गरेको देखेर मन्दिर माथि नै सारियो । परिवारको बसाइभन्दा मुनी नराख्न मन्दिरलाई माथि सारिएको हो । पाउभन्दा मुनी बनाउँदा कुलदेवता बिग्रिन सक्ने चिन्ताले आँगनको मन्दिरलाई छतमाथि सारिएको उनको भनाइ छ ।
पहिले बिर्तामोड-६ निवासी पुष्पाञ्जली सिन्हाको घरको भुइँतालामा मन्दिर थियो । वास्तुअनुसार पूजा गर्ने ठाउँ ठिक भए पनि माथिल्लो तलामा सुत्ने कोठा, हिँडडुल हुने भएपछि मन्दिरलाई तल नपरोस् भनेर माथि सारिएको हो । उनका अनुसार मानिसहरुको कुनै पनि गतिविधि मन्दिरभन्दा माथि नहोस् भनेर छतमा सारेर पूजा गर्ने काम सुरु गरिएको हो ।
अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नि सिग्देलले घरको छतमा गजुरसहितको पक्की मन्दिर नबनाउन सल्लाह दिने गर्छन् । ‘गजुरसहितको मन्दिर बनाउँदा दैनिक नित्यकर्म गर्नैपर्छ’, उनले भने, ‘घरमा जुठो परेको बेला नित्यकर्म रोकिन्छ, त्यसैले शास्त्रीय हिसाबले खासै राम्रो मानिँदैन ।’
उनका अनुसार घरभित्र बनाइने पूजा कोठालाई जुठो परेको बेला छोपेर राख्न मिल्छ । जुठो सकिएपछि पूजा गर्दा पनि हुन्छ । तर, शास्त्रीय हिसाबले गजुरसहितको मन्दिरमा पूजा रोक्न मिल्दैन । दैनिक पूजा गर्न असुविधा हुने भएकाले पनि गजुरसहितको मन्दिरलाई उपयुक्त मान्न सकिँदैन । ‘घरको छतमा मन्दिर बनाउन चाहने परिवारले सल्लाह लिँदा पनि मैले त्यसै भन्ने गरेको छु’, उनले भने, ‘दैनिक पूजा गर्न सकिएन भने घरमा अशान्ति हुन सक्छ ।’
अर्जुनधाराधाम नजिकै घर भएका चित्रसेन भण्डारीले छतमाथि पूजा गर्न छोडेको झण्डै चार वर्ष भयो । धेरै पूजारीहरुसँग सल्लाह लिँदा ‘छतमा पूजा नगर्नू’ भन्ने सुझाव पाएपछि भुइँमा पूजा गर्न थालेको उनले बताए । दोस्रो तलामा रहेको गजुरसहितको मन्दिरमा पूजा गर्दा भावनासँग जोडिएन । अहिले भुइँमा पूजा गर्न थालेपछि राम्रो भएको उनको अनुभव छ । उनी अहिले इशान कोणमा मन्दिर बनाएर पूजापाठ गर्दै आएका छन् ।