जेष्ठ २४, २०८२ शुक्रबार

पूर्वाधारपछि बिर्तामोड गुणस्तरीय शिक्षाको यात्रामा

बिर्तामोड सेरोफेरो
विद्यार्थीको सिकाई उकास्ने योजना
बिर्तामोड नगरपालिकाको पाँच दिने शैक्षिक भ्रमण चलिरहेको छ । शैक्षिक भ्रमणमा सिकाई अनुभव आदानप्रदान गर्ने प्रमुख उद्देश्य रहेको छ । भरतपुर महानगरपालिकाका २ विद्यालय र मेयर रेनु दाहालसँग भेटघाट तथा अन्तरक्रियापछि भ्रमण टोली हेटौडा आइसकेको छ । हेटाडा उपमहानगरका जनप्रतिनिधिहरुसँग भेटघाट अन्तरक्रियासँगै विद्यालयहरुको अवलोन गर्ने कार्यक्रम रहेको शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले जानकारी दिए । उनका अनुसार नगरको शिक्षा क्षेत्रमा नयाँ अभ्यास भित्राउनका लागि अवलोकन गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईसहित, शिक्षा शाखा, शिक्षकहरु, शैक्षिक अगुवाहरु भ्रमण टोलीमा सहभागी रहेका छन् ।

बिर्तामोड नगरपालिकामा सामुदायिक १८, संस्थागत ५७ र धार्मिक २ वटा विद्यालयहरु रहेका छन् । शिक्षा शाखा प्रमुख भण्डारीले नगरको समग्र शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनका लागि प्राविधिक सीप र सिकाईलाई प्रभावकारी बनाउन जोड दिइएको छ । विगतमा भन्दा धेरै सुधार ल्याएका छौं, आगामी दिनमा थप सुधार गर्ने योजना छ ।
नगरको तर्फबाट आगामी नीति तथा कार्यक्रममा विद्यार्थीको सिकाई उकास्ने प्रकारका कार्यक्रमहरु समावेश गरिने उनको भनाई छ । सिकाई सुधार योजना नै मुख्य कार्यक्रममा जोड दिनेछौं ।

विद्यार्थीको भविष्यलाई सम्झेर काम गर्दैछौं : नगर प्रमुख
झापाको बिर्तामोड नगरपालिका शैक्षिक हबको रुपमा विकास भइरहेको छ । नर्सरीदेखि मास्टर्ससम्म अध्ययन गर्न पाइने बिर्तामोड शैक्षिक हबका रुपमा पहिचान बनाउन सफल भएको छ । अस्पतालको हब भनेर चिनिने बिर्तामोड शैक्षिक हबका रुपमा पनि स्थापित भइरहेको नगर प्रमुख पवित्रा महतारा प्रसाईको भनाई छ ।
विद्यालय क्षेत्रको विकासमा स्थानीय सरकारको तर्फबाट सकेसम्म काम गरिरहेको धारणा छ । यहाँ निम्न देखि सम्पन्न परिवारका बालबालिकाहरु अध्ययन गरिरहेका छन् । स्थानीय सरकारले सबै विद्यार्थीहरुको भविष्यलाई ख्याल गरेर शैक्षिक सुधारको कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ ।
विगतको तुलनामा धेरै काम गरिसकेको छौं, आगामी दिनमा थप काम गर्दै पूर्वाधारमा सम्पन्न, शिक्षामा गुणस्तरीयतालाई प्राथमिकता दिनेछौं ।

सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याइनेछ
बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलाले नगरपालिका क्षेत्रभित्र शिक्षामा व्यापक सुधार आएको बताए । स्थानीय सरकारले विद्यालय क्षेत्रमा गरिरहेको लगानी र दिएको प्राथमिकता अनुसार व्यापक परिवर्तन आएको मान्न सकिन्छ । जनप्रतिनिधि आउनुभन्दा अघि र अहिलेको अवस्थामा तुलना गर्दा धेरै नै परिवर्तन भइसकेको छ । विद्यालयको कम्पाण्ड थिएनन्, विद्यार्थी पढ्ने ठाउँमा फेनको व्यवस्था थिएन । अहिले विद्यार्थी अध्ययन गर्ने कोठाहरुलाई सुविधा सम्पन्न बनाइएको छ । विद्यालय क्षेत्रलाई बालमैत्री, अपांगता मैत्री बनाइएका छन् ।

गत महिना भएको शिक्षक आन्दोलनले शैक्षिक शत्रमै असर पुगेको छ । त्यसको क्षति परिपूर्ति गर्ने गरी शिक्षक कर्मचारीहरु राम्रैसँग मेहन गरिरहनु भएको छ । यो वर्ष विद्यार्थी भर्ना प्रभावित भयो । नगर क्षेत्रभित्र अहिले पनि ७-८ प्रतिशत बालबालिकाहरु विद्यालयको पहुँच बाहिर भएको अनुमान छ । आगामी दिनमा सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा पुराउनेछौं, उनले भने – शिक्षाको अधिकार सबै बालबालिकाको मौलिक अधिकार हो । हामी गुणस्तर सुधार, भौतिक पूर्वाधार विकाससँगै शैक्षिक क्षेत्रमा आशा जगाउन चहान्छौं ।

‘शिक्षामा भौतिक पूर्वाधारसँगै गुणस्तर सुधार हुँदैछ’
खड्ग प्रसाद खरेल, प्रअ
महेन्द्र रत्न मावि, बिर्तामोड
झापाको बिर्तामोड नगरपालिकाले शिक्षालाई पूर्वाधारको मेरुदण्ड मान्दै विकास निर्माणमालाई अघि बढाइरहेको छ । यहाँको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले गरिरहेको काम चौतर्फी प्रशंसाको विषय बन्दै गइरहेको छ । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको महेन्द्र रत्न माविका प्रधानाध्यपक खड्ग प्रसाद खरेलले स्थानीय सरकारले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताए ।

उनले विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधारमा धेरै परिवर्तन आएको प्रतिक्रिया दिए । जीर्ण भवनको पुननिर्माण, खानेपानीको व्यवस्थापन, शौचालय निर्माणसँगै विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनको भनाई छ । पूर्वाधार निर्माणसँगै नगरपालिकाले गुणस्तर सुधारलाई विशेष प्राथमिकता दिदैं जानुपर्ने उनको धारणा छ । विद्यालयको पूर्वाधार राम्रो नभए सम्म गुणस्तर सुधारमा समेत असर गर्ने भएकाले त्यस तर्फ पनि ध्यान दिनुपर्नेमा उनको जोड छ । पूर्वाधार निर्माणको काम धेरै अघि बढिसकेकोले अब शिक्षा क्षेत्रमा गुणस्तर सुधारलाई जोड दिनुपर्ने उनको धारणा छ ।

स्थानीय सरकार बनेपछि शिक्षा क्षेत्र हेर्ने जिम्मेवारी पनि पालिका सरकारलाई नै छ । ०७४ पछि विद्यालय क्षेत्रमा पठनपाठनका लागि उपयुक्त वातावरण बन्दै गएको छ । विद्यालय क्षेत्रमा नगरपालिकाले प्रविधिको विकासमा पनि उत्तिकै ध्यान दिइरहेको हुँदा आगामी दिनमा नतिजामा पनि परिवर्तन आउने निश्चित भएको तर्क छ ।

महेन्द्र रत्न माविकै सवालमा पनि नगरपालिकाले धेरै काम गरेको छ । विद्यालयको कम्पाण्ड व्यवस्थित गर्न देखि गुणस्तर सुधारमा धेरै नै सहयोग भइरहेको छ । अहिले विद्यालयले अटिजम भएका बालबालिकाहरुको लागि विशेष कक्षा सञ्चालन गरिरहेको छ । अटिजम स्रोत केन्द्रका रुपमा कक्षा सञ्चालन गरिरहेको महेन्द्रलाई व्यवस्थित कोठा निर्माणमा सहयोग आवश्यक भएको छ । प्रअ खरेलले नगरपालिकाले अटिजम भएका बालबालिकाहरुका लागि व्यवस्थित कोठा निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । तीन वर्षदेखि अटिजम भएका ३० जना बालबालिकाहरुलाई रेखदेख गर्दै आएको विद्यालयमा सुविधा सम्पन्न कोठाको जरुरी छ । ति बालबालिकाहरुको लागि अष्ट्रेलियाबाट एक जना थेरापिष्ट आएर तालिम समेत दिइरहेको प्रअ खरेलले जानकारी दिए ।

हुँदा खाने परिवारका बालबालिकाहरु सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् । कतिपय बालबालिकाहरु अध्ययन गर्न नियमित विद्यालय पनि आउन सकेका छैनन् । उनीहरुलाई विद्यालय ल्याउने वातावरण बनाउन उनको आग्रह छ । शिक्षकहरुलाई १० देखि ४ होइन, विहान ९ देखि ४ बजेसम्म योगदान गर्ने वातावरण बन्नुपर्ने उनको धारणा छ ।

पछिल्लो समय स्थानीय सरकारको पहलकदमी र शिक्षक कर्मचारीको मेहनतबाट गुणस्तर सुधार हुँदै गएको छ । गुणस्तर सुधारले नतिजा सुधारमा पनि धेरै परिवर्तन ल्याइसकेको छ । शिक्षक कर्मचारीको मुख्य ध्यान नै गुणस्तर सुधारमा भएकाले यसमा सहयोग गर्न अभिभावकको पनि जरुरी पर्ने प्रअ खरेल बताउँछन् । यतिले मात्र पर्याप्त नभएको भन्दै उनले अझै पनि गुणस्तर सुधारलाई प्राथमिकतामा राख्नुपर्ने छ । त्यसका लागि शिक्षकहरुका लागि तालिम सेमिनारहरुको जरुरी छ । तालिम, गोष्ठी, शिक्षक सञ्जाल, गणित, विज्ञान प्रदर्शनी लगायतका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जरुरी रहेको छ । अबको पाँच वर्षमा विर्तामोडको शैक्षिक क्षेत्रले गुणस्तर सुधारमा राम्रै फड्को मार्ने उनको धारणा छ ।

०७४ पछि यहाँको भौतिक पूर्वाधारमा धेरै नै विकास भइसकेको छ । गुणस्तर सुधारमा अपेक्षाकृत सफलता पाउन सकिएको छैन । विज्ञ टोलीहरुको परिचालन र अनुगमनलाई समेत निरन्तरता दिने हो भने सुधार हुनेमा कुनै द्विविधा छैन । अर्को समस्याको रुपमा रहेको ड्रप आउट पनि यहाँको चुनौति हो । यसको समाधानका लागि नगरपालिकाले विशेष पहल गर्नैपर्छ, प्रअ खरेलले थपे ।

गुणस्तर सुधारका लागि प्रभावकारी अनुगमनको खाँचो
लिलाप्रसाद भण्डारी
सहायक प्रधानाध्यापक
देवी मावि, बिर्तामोड

बिर्तामोड नगरपालिकाको सक्रियताले शिक्षामा व्यापक परिवर्तन आएको मान्न सकिन्छ । बजेट स्रोतको अभावका बीचमा पनि बिर्तामोडले शिक्षा क्षेत्रमा गरिरहेको काम उदाहरणीय छन् । संघीय सरकारसँगै बजेटमा निर्भर हुनुपर्ने बाध्यताले पनि सोच जसरी काम गर्न पालिकालाई कठिनाई भएको हुनुपर्छ । जे जस्तो समस्याहरु भएपनि शिक्षामा लगानी नै महत्वपूर्ण छ । लगानीलाई बढाउदै जानुको विकल्प छैन । शिक्षामा सोच अनुसारको परिणाम निकाल्न लगानी महत्वपूर्ण विषय नै हो ।

ककुल बजेटको २० प्रतिशत बजेट शिक्षामा व्यवस्था गरेर जानुपर्छ । यस पालिकाको सन्दर्भमा व्यवस्थापकीय र तालिम गोष्ठीहरु पनि सञ्चालन भइरहेका छन् । यसलाई अझ बढाएर लैजानुपर्छ । शिक्षक कर्मचारीको हकमा क्षमता वृद्धिका कार्यक्रमहरु राम्रै ढंगबाट सञ्चालन भइरहेका छन् । आधारभुत तहमा स्थानीय पाठ्यक्रमबाट पठनपाठन भइरहेको छ ।

निजी तथा सामुदायिक विद्यालयहरुले स्थानीय पाठ्यक्रमको कार्यन्वयनमा सहयोग नै गरिरहेको भण्डारीको भनाई छ ।
शिक्षामा अर्को महत्वपूर्ण पाटो भनेको अनुगमन नै हो । अनुगमनलाई प्रभावकारी बनाउने र बजेटको उचित प्रवन्ध गरेर जाने हो भने बिर्तामोडलाई शिक्षामा अन्य पालिकाहरुले प्रतिष्पर्धा गर्न कठिन नै हुन्छ । बजेटको सिमितताले गर्दा सोचे अनुसार काम गर्न कठिनाई भइरहेको छ । यस तर्फ पालिकाले ध्यान दिन आवश्यक छ । विद्यालयको भौतिक पूर्वाधारसँगै गुणस्तर सुधार महत्वपूर्ण छ । सँगसँगै विद्यार्थीहरको सर्वाङ्गिण विकासमा ध्यान दिन आवश्यक छ ।

सहायक प्रअ भण्डारीले शिक्षा क्षेत्रलाई सुधार गर्न जनप्रतिनिधि, शिक्षक कर्मचारीसँगै अभिभावकको पनि भूमिका महत्वपूर्ण बताए । अभिभावकलाई शिक्षाको सन्दर्भमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको धारणा छ । अभिभावकको समेत प्रभावकारी भूमिका हुन सकेमा यहाँको शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन कुनै पनि बाधा अवरोधले छेक्न सक्दैन ।

कक्षा ५ र ८ को नतिजामै सुधार
धर्मेन्द्र भट्टराई ‘मामा’
अंग्रेजी विषयका प्रशिक्षक

बिर्तामाड नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको कामले अभुतपूर्ण फड्को मारिरहेको छ । उनले शिक्षक भएकाको नाताले शैक्षिक क्षेत्रमा व्यापाक परिवर्त आएको अनुभुति सुनाए । केहि वर्षअघिसम्म शिक्षा क्षेत्र धरासयी बन्ने अवस्थामा पुगेको थियो । अहिले त्यो दुर्घटनाबाट सुरक्षित रुपमा अघि बढेका छौं । बिर्तामोडमा गुणस्तर सुधारकै सिलसिलामा विषयगत समितिहरु बनाइएको छ । त्यसले पनि सकारात्मक परिणामका लागि सहयोग पुगेको छ । नगरक्षेत्रमा अंग्रेजी शिक्षकहरुको समेत समिति बनाइएको छ । यसले अंग्रेजी शिक्षणका लागि तालिम, प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ । अंग्रेजी विषयलाई अप्ठ्यारो विषय मानिन्छ, अहिले पाँचौं अप्ठ्यारो विषयको रुपमा अंग्रेजी भएको छ । यसलाई अंग्रेजी अप्ठ्यारो विषय होइन भन्ने तहमा पुराउने गरी मेहनत गरिरहेको जानकारी दिए । त्यसका लागि नगरपालिकाले सहयोग गरिरहेको छ ।

शिक्षकलाई दक्ष बनाउनु नगरपालिकाको जिम्मेवारी हो । शिक्षा नै पूर्वाधारको पहिलो आधार भएकाले लगानी पनि यसक्षेत्रमा प्राथमिकताका साथ हुनुपर्ने मामाको जोड छ । शिक्षकलाई दक्ष बनाउनुपर्छ । प्राविधिक सीपयुक्त बनाउन सकेमा गुणस्तर सुधार आफै राम्रो हुँदै जानेमा म ढुक्क छु, मामाले भने । गुणस्तर सुधारका लागि व्यापक अनुगमनको खाँचो छ । अनुगमनले पनि शिक्षा क्षेत्रमा गुणस्तर सुधारमा दवाव दिदैं जानेछ ।

बिर्तामोड नगरपालिकाले गुणस्तर वृद्धि वर्ष घोषणा गरेर अभियान नै सञ्चालन गरेको छ । जसले विद्यालयमा सकारात्मक परिणाम नै ल्याएको छ । कक्षा ५ र ८ को नतिजामा नै सुधार आएको अंग्रेजी प्रशिक्षक मामा बताउछन् ।
यहाँ नगरपालिकामा नगर प्रमुख पवित्रा महातारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय, शिक्षा शाखाको भूमिका समेत शिक्षा क्षेत्रप्रति धेरै सकारात्मक छ । जसले शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउन सहयोग पुगेको छ । आगामी वर्षहरुमा बजेट वृद्धि गर्नुपर्ने देखिन्छ । बजेटमा पनि शिक्षा प्राथमिकतमा पर्नुपर्ने मामाको भनाई छ ।

नगरमा सञ्चालित सिक र सिकाऊ अभियानले दक्ष प्रशिक्षकहरु उत्पादनमा सहयोग पुगिरहेको छ । नगरस्तरीय तालिम, छलफलले सबैको ध्यान शिक्षामा गुणस्तर सुधार हुनुपर्नेमा केन्द्रीत भइरहेको छ ।

‘सरकारी विद्यालयमा प्रोजेक्टरबाट पढ्न पाएका छौं’
सान्तना राजवंशी
कक्षा –१०
महेन्द्ररत्न मावि, बिर्तामोड
विद्यार्थीको नजरमा पनि विद्यालय क्षेत्र पहिलेभन्दा धेरै सुधार आएको छ । कक्षा १० मा अध्ययनरत सान्तना राजवंशीका अनुसार अहिले सरकारी विद्यालय भएपनि प्रोजेक्टरबाट पठनपाठन हुने गरेको छ । शिक्षकहरुले नियमित कक्षा लिइरहनु भएको छ । विद्यार्थीहरुको कठिनाईलाई ख्याल गरेर नजानेका कुराहरु सिकाउन ध्यान दिनुभएको छ । खानेपानी, शौचालय जस्ता अत्यावश्यक संरचनाहरु पनि सुविधा सम्पन्न भइसकेको छ । पहिले धुलैधुलो हुने विद्यालयको मैदानमा अहिले पेवर्स लगाइएको छ । विद्यार्थीहरुको खेलकुदका लागि वातावरण बनाइएको छ । समग्रमा विगतमा भन्दा सिकाई पनि प्रभावकारी हुँदै गइरहेको राजवंशीको धारणा छ ।
पठनपाठनका लागि विभिन्न हिसावले पहिले धेरै कठिनाईहरु हुन्थ्यो । अहिले पठनपाठनका लागि राम्रो वातावरण बनेको उनको भनाई छ ।

वर्षेनि पोसाक वितरण गर्दै नगरपालिका
हरेक वर्ष बिर्तामोड नगरपालिकाले यस क्षेत्रका विद्यार्थीहरुलाई पोसाक वितरण गर्दै आएको छ । नगरपालिकाले सुरुवात देखिनै गरिव विपन्न विद्यार्थीहरुलाई पोसाकको व्यवस्था गर्दै आएको छ । यो वर्ष पनि सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई पोसाक वितरण सुरु गरेको छ ।

वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले २ जना छात्र र २ जना छात्रालाई पोसाक लगाई दिएर पोसाक वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ देखि हरेक वर्ष पोषाक वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष १८ वटा सामुदायिक र २ वटा धार्मिक गरि २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोषाक वितरण गरिने नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले अभिभावकलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले हरेक वर्ष विद्यालय पोषाक वितरण गर्दै आएको बताउनु भयो । विद्यार्थीहरुमा एकरुपता ल्याउन पोसाक महत्वपुर्ण रहेको भन्दै नगर प्रमुख प्रसाईले विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन शिक्षक र अभिभावकलाई सुझाव दिनुभयो ।

यस्तै वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईले अंग्रेजी माध्यमबाट पढाई हुने भएकोले सामुदायिक विद्यालय पनि नीजि विद्यालय भन्दा कम नभएको धारणा राख्नुभयो । यस्तै नगरका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीले नगरपालिकाले प्रदान गरेको पोसाकको सदुपयोगसँगै बालबालिकाको सरसफाईमा ध्यान दिन अभिभावकलाई आग्रह गर्नुभयो । पोसाक वितरण शुभारम्भ कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, शिक्षा शाखा अधिकृत लासाङ तामाङ, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम भण्डारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बुधबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]