बैशाख १३, २०८१ बिहीबार

बिर्तामोड सेरोफेरो : प्राथमिकतामा गुणस्तरीय शिक्षा

विधार्थीलाई नैतिकवान र सभ्य बनाउने रणनीति

झापाको बिर्तामोडमा रहेको देवी मावि विधार्थी र अभिभावकको रोजाईमा पर्छ । पूर्वमा विधार्थी संख्या धेरै भएको विधालयमा पर्ने देवी मावि महिलाको नेतृत्वमा सञ्चालित छ । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार हाल विधालयमा ४ हजार ८ जना विधार्थी अध्ययनरत छन् । देवि मावि विधार्थी संख्याको आधारमा प्रदेश नं. १ को पहिलो र देशकै दास्रो ठुलो विधालय हो । जहाँ विधार्थीले सहजै अध्ययन गर्ने अवसर पाउदैनन् । सो विधालयमा अध्ययनका लागि परीक्षा समेत दिनुपर्छ । विधालय प्रशासनका अनुसार गत वर्ष मात्रै कक्षा ११ र १२ का लागि अध्ययन गर्न आउने ६ सय विधार्थी फर्किनुप¥यो । विधार्थीको अनुपात अनुसारको भौतिक पूर्वाधार अभाव भएकाले सबै विधार्थीले अध्ययन गर्ने अवसर पाएका छैनन् ।

जिल्लाकै सुगम नगर बिर्तामोडको मध्य भागमा विधालय भएकाले सबैलाई सुविधा छ । जसका कारण धेरै अभिभावक बसाइसरेर आँउदा पनि देवी मावि पायक पर्ने ठाउँ खोजिरहेका हुन्छन् । अर्थात, झापामा देवी माविले शैक्षिक क्षेत्रमा नयाँ पहिचान स्थापित गरेको छ । यसको मुख्य प्रभाव भनेको चाँही स्थानीय सरकार नै हो । स्थानीय सरकारको नेतृत्वमा विधालय आउनुभन्दा पहिले यहि अवस्था थिएन । स्थानीय सरकारको प्रत्यक्ष निगरानी र अब्बल व्यवस्थापन समितिको कारण देवी मावि प्रगतिको मार्गमा जोडले दौडिरहेको छ ।

विधालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले बिर्तामोड नगरपालिकाले शिक्षामा राम्रो लगानी गरेको बताएकी छन् । उनले भनिन्, बिर्तामोड नगरपालिकाको प्राथमिकतामा शिक्षा परेकोमा असाध्यै खुशी छौं । नगरकै सहयोगले देवीको भौतिक पूर्वाधार लगभग पुरा हुदैछ । प्रोत्साहन पनि उत्तिकै छ, श्रेष्ठ भन्छिन् – शिक्षामा बिर्तामोड नगरले गरेको प्रोत्साहनले नतिजा पनि सकारात्मक आइरहेको छ । शिक्षक, कर्मचारी र विधार्थीमा पनि नयाँ उत्साह आएको श्रेष्ठको भनाई छ ।

स्थानीय सरकारले शिक्षाको निगरानी गर्न शुरु गरेपछि यहाँका शिक्षकमा पनि सोच परिवर्तन भएको छ । पहिले जस्तो गैरजिम्मेवारी छैन, सबैले सजगता अपनाएर काम गरिरहेको पाइन्छ । म स्थायी हो, मैले जे गर्दा पनि हुन्छ भन्ने हिजोको सोचले आज चल्दैन, प्रअ श्रेष्ठले थपिन् ।
विधार्थी संख्याको आधारमा शिक्षक कर्मचारीको व्यवस्था हुन थालेको छ ।

पठनपाठन राम्रो भएन भने , विधार्थी संख्या घट्यो भने विधालय छोडेर अर्को विधालयमा शिक्षकलाई पठाउने व्यवस्थाले गर्दा पनि शिक्षकले सचेत हुनुपर्ने समय आएको उनको भनाई छ । सँगै विधार्थी पनि सचेत भएका छन् । शिक्षकले कक्षा नलिए वा समयमा कोर्ष पुरा नगर्ने अवस्था आएमा विधार्थी आफैले सूचना गरिरहेका हुन्छन् । यो सुधारको अर्को परिणाम हो । नत्र, शिक्षक र विधार्थी आ–आफ्नै खुशीमा दौडिरहेका हुन्थे ।

यस्तै प्रअ श्रेष्ठले विधालय परिसरमा जंक फुड निषेध गरेको जानकारी दिएकी छन् । उनले स्थानीय तहले सबै विधालयको २ सय मिटर क्षेत्रभित्र मादक पदार्थ र सुर्तिजन्य पदार्थको व्यापार पनि निषेध गर्न आवश्यक रहेको बताएकी छन् ।

बिर्तामोड नगरपालिकाले सुधार गरेको अर्को विधालय हो, शहिद लक्ष्मी प्रावि । बिर्तामोड –९ मा रहेको सो विधालय एक वर्षअघिको अवस्था असाध्यै दर्दनाक थियो । तर, अहिले नमूना विधालयको रुपमा विकास भइरहेको छ । भाटाले मैदान बारिएको सो विधालय उराठ लाग्दो थियो । अहिले पक्का पर्खाल छ । व्यवस्थित संरचना निर्माण गरिएका छन् । खानेपानी र शौचालयको उत्तिकै राम्रो प्रवन्ध मिलाइएको छ । शैक्षिक संस्थाको अवलोकनमा आउनेहरुलाई सोहि विधालय पठाउने गरेको बिर्तामोड नगरपालिकाका प्रशासन विभाग प्रमुख देवराज कार्कीले जानकारी दिए । उनले सो विधालयको सुधार देखेर सबैले चाहेमा विधालय क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिने दावी गरे ।

लक्ष्मी प्राविमा एक समय विधार्थीको संख्या कम भएर मर्ज गर्ने अवस्थामा पुगेको थियो । तर, स्थानीय सरकारकै अगुवाइमा विधालय बचाइएको छ । अभिभावकले बालबालिको जिम्मा लिएर गत वर्ष एकै पटक ६० जना विधार्थी भर्ना गरे । आज त्यहि विधालय हो, जहाँ अभिभावक निराश भएर आफ्नो सन्तान निकाल्न खोजिरहेका थिए । त्यहि विधालय आज सबैको आकर्षणमा परेको छ ।

स्थानीय तहहरुको मुख्य प्राथमिकतामा भौतिक पूर्वाधार छ । सडक, कल्भर्ट, पुरानो बाटोको मर्मत इत्यादि । देशभरकै स्थानीय तहहरुले बनाएको बजेट नीति तथा कार्यक्रम हेर्दा मुलुक अहिले ‘अण्डर कन्ट्रक्शन’ मा छ । हेर्दा पनि जताततै बाटो बन्दैछ । जहाँ पुगे पनि बाटो बनाउदै गरेको देख्न पाइन्छ । झापाको बिर्तामोडमा अहिले प्रायः हरेक वडामा भौतिक पूर्वाधारको काम चलिरहेको छ । तर, नगर प्रमुख ध्रव कुमार शिवाकोटीले भौतिक पूर्वाधार भन्दा शिक्षामा विशेष जोड दिँदै आएको बताइरहेका छन् ।

उनले बिर्तामोड नगर क्षेत्रका बालबालिकालाई नैतिकवान बनाउने उदेश्यका साथ स्थानीय सरकार लागिपरहेको बताउँदै आएका छन् । केहि महिनाअघि मात्रै नगरपालिकाले कक्षा ३ र ४ को लागि आचरण सचेतना शिक्षा स्थानीय विषय अन्तर्गत कार्यान्वयनमा लगिसकेको छ । यसैगरी नगरपालिका अहिले कक्षा ५ र ६ को पाठ्यक्रम तयार गरेर पाठ्यपुस्तक लेख्ने काममा लागिसकेको छ । यो कामको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुद शाखालाई छ ।

केन्द्र सरकारको योजना अनुसार सशर्त अनुदानको कार्यक्रम विधालयले हरेक वर्ष गर्नैपर्छ । शिक्षा मन्त्रालयबाट निर्देशित सो अनुदानको काम गर्न विधालय बाध्यकारी हुनेछन् । यदि काम सम्पन्न नगरे त्यस वापतको बजेट राज्य कोष मै फिर्ता हुनेछ । केन्द्र सरकारको नियमित योजना बाहेक स्थानीय तहको तर्फबाट बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न योजनाअघि सारेको छ । त्यसका लागि बिर्तामोड नगरपालिकाले ३ करोड बजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रको भौतिक पूर्वाधारसँगै गुणस्तर सुधारका लागि शिक्षा शाखा अहोरात्र लागिरहेको छ ।

१८ वटा सामुदायिक विधालय रहेको बिर्तामोडमा संस्थागत समेत गरी ७५ वटा विधालय सञ्चालनमा रहेको शाखा अधिकृत दिनेशप्रसाद आचार्यले जानकारी दिए । यसैभित्र मदरसा र सांस्कृत विधालय १/१ वटा छन् । शिक्षा शाखा नगरभित्रका बालविकास कक्षा काठको पार्केटिङ गरेर व्यवस्थित गर्न लागिरहेको छ । धेरै विधालयमा पार्केटिङ भइसकेको छ । जसका कारण बालबालिकालाई बस्न सहज भएको छ । यस्तै सबै विधालयका शौचालयमा टाइल लगाइएको छ । टाइल लगाएपछि सरसफाई गर्न सजिलो हुने र शौचालय सफा राख्न सकिने आचार्यको भनाई छ ।
अर्को, खानेपानीको व्यवस्थापन चलिरहेको छ । शुद्ध पानी पिउने वातावरण तयार गरिएको शाखाले जनाएको छ । भौतिक पूर्वाधार, कक्षा कोठा, खानेपानी र शौचालयको उचित व्यवस्थापनसँगै नगरको मुख्य जोड गुणस्तरिय शिक्षा नै हो – शाखा अधिकृत आचार्य भन्छन् । उनका अनुसार सबै व्यवस्थापनका बाबजुत शिक्षाको गुणस्तरमा सुधार ल्याउने काम प्राथमिकतामा छ ।

बालबिकासको कक्षा कोठा व्यवस्थापनका लागि सहारा नेपालको १० लाख र नगरको १५ लाख लगानी गरिएको छ । यस्तै स्वच्छ पिउने पानी र सफा शौचालयका लागि २० विनियोजन गरिएको शाखाले जनाएको छ । सशर्त अनुदानमा आएको १८ करोड १८ लाख १९ हजार अपुग भएपछि अहिले शिक्षकको तलवका लागि २ करोड ७२ लाख ५२ हजार ३१ रुपैयाँ केन्द्र सरकारसँग माग गरिएको छ ।

सामुदायिक विधालयमा विधार्थीको संख्या घट्दै जाने चुनौतिलाई समाधान गर्न बालविकास कक्षाको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण विषय हो । यसैले नगर शिक्षाले ४७ जना बाल शिक्षकलाई सामग्री निर्माण कार्यशाला आयोजना खटाइसकेको छ । त्यसले बाल सिकाईलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ ।

यता, यस वर्षदेखि सेनेटरी प्याडका लागि ३२ लाख ८ हजार बजेट आएको छ । सामुदायिक विधालयमा प्याडको व्यवस्था गरिने छ । प्रयोग गर्नेको संख्याका आधारमा निर्देशिका बमोजिम प्याडको कार्यक्रम कार्यान्वयमा लैजाने तयारी गरिएको छ ।

अनुगमन

शिक्षा, युवा तथा खेलकुद शाखाले नगरका विधालयमा अनुगमन गरेको छ । पहिलो चरणमा सामुदायिक विधालयमो अनुगमन गरेको शाखाले त्यसको प्रतिवेदन सार्वजनिक गर्न बाँकी छ । शिक्षा क्षेत्रका विज्ञ, शिक्षाका कर्मचारी, स्रोत व्यक्ति र जनप्रतिनिधि लगायतको सहभागितामा भएको सघन अनुगमन सुधारका लागि सूझाव दिने चरणका रुपमा लिइएको छ । राम्रा पक्ष उल्लेख गर्दै शाखाले सुधार गर्नुपर्ने पक्ष पनि जानकारी गराइसकेको छ । अनुगमन पश्चात विधालयको सरोकार समूहसँग बसेर तत्काल समीक्षा गरिएको थियो । यसले विधालय सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

अनुगमनको सूचक तयार गरेर गरिएको अनुगमनमा शौचालयको सरसफाई देखि खानेपानीको व्यवस्था र विहानको प्रार्थना लाइन समेत हेरिएको थियो । पठनपाठक, विधालय कक्षा कोठाको वातावरण समेत अनुगमन गरिएको उनको भनाई छ । नगरभित्र रहेको चमरधाप प्रावि र शहीद लक्ष्मी प्राविमा विधार्थीको संख्या कम छ । त्यहाँको विधार्थी संख्या बढाउन नगरले केहि नयाँ कार्यक्रममा दुवै विधालयलाई प्राथमिकतामा राखेको छ । गत वर्ष १८ जना विधार्थी रहेको शहीद लक्ष्मी प्राविमा अहिले १७२ विधार्थी अध्ययन गरिरहेका छन् । विधालयको भौतिक पूर्वाधार र विधालयको वातावरणमा आएको परिवर्तनले विधालयको मुहार नै बदलिएको छ ।

इ–हाजिरीको प्रभाव
नगरभित्रका १७ वटा सामुदायिक विधालयमा अहिले इ–हाजिरी जडान गरिएको छ । जसका कारण शिक्षक कर्मचारीले छलकपट गर्न पाइरहेका छैनन् । इ–हाजिरीबाट सबै विधालयका शिक्षकको निगरानी हुने भएपछि शिक्षक, कर्मचारी जिम्मेवार बन्न थालेका छन् । हाजिरीमा उपस्थित नभए शाखाले तत्कालै विधालयमा बुझ्ने गरेको छ । स्थानीय तह शिक्षाको सुधारमा लागेपछि यतिवेला शिक्षक, कर्मचारी , अभिभावक र विधार्थी सबै जागरुक भएर लागिरहेका छन् । इ–हाजिरीसँगै विधालयलाई इन्टरनेटको सुविधा दिइएको छ । इन्टरनेट जडानपछि कतिपय विधालयहरुमा मल्टिमिडिया मार्फत अध्ययन गराइन्छ ।

नियमित बैठक
शाखाले हरेक महिना विधालयका प्रधानाध्यापकसँग बैठक डाक्ने गरेको छ । मासिक बैठकमा पढाईको कुरा सोध्ने गरिन्छ । कुन विधालयमा के भइरहेको छ भन्ने बारे सबैसँग रिपोटिङ लिइन्छ, शाखाका उपसचिव तिलचन भण्डारीले भने । उनका अनुसार प्रअलाई कुन कितावको कुन पाठ पढाइभइरहेको छ भनेर साध्ने गरिएको छ ।

बिर्तामोडमा संस्थागत र सामुदायिक विधालयमा बालबिकासमा अध्ययन गर्ने जम्मा ५ हजार ८ सय ९७ विधार्थी छन् । कक्षा १–५ मा १२ हजार ९३, ६–८ मा ७ हजार ६ सय ४३, कक्षा ९–१० मा ४ हजार ९ सय २९ र ११–१२ मा ४ हजार ९ सय ५८ जना विधार्थी अध्ययन गरिरहेका छन् ।

बिर्तामोडमा शिक्षाको नेतृत्व गर्ने उपसचिव भण्डारीले व्यवहारिक सिकाई र प्रयोगात्मक सिकाई अपरिहार्य भएको बताएका छन् । जीपीएको कारण व्यवहारिक शिक्षा कमजोर भइरहेकाले सबै विधालयले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । सिकाई सुधारका कार्यक्रम निर्माण गरेर बिर्तामोडको समग्र विधालयहरुमा शिक्षाको गुणस्तर सुधार ल्याउन सकिने भण्डारीले बताएका छन् । उनका अनुसार शिक्षकमा पुरानो प्रबृत्तिको अन्त्य हुनुपर्छ । भण्डारी भन्छन्, – हिजोको जस्तो घोकाएर, विना व्यवहारिक शिक्षाले अब काम गर्दैन । नयाँ सोच र कार्यक्रम चाहिन्छ । संस्थागतमा अनुशासन छ, व्यवहारिक शिक्षा कमजोर छ । सामुदायिकमा अनुशासन कमजोर छ, व्यवहारिक शिक्षा बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिकाको मुल उदेश्य बालबालिकालाई नैतिकवान र सभ्य बनाउने हो । त्यसका लागि कक्षाकोठाबाटै सुधार गर्नुपर्ने नगर प्रमुख शिवाकोटीको अभिव्यक्ति आइरहन्छ । यस नगरमा शिक्षा क्षेत्रको सुधारका लागि जनप्रतिनिधिको भूमिका सकारात्मक पाएको उपसचिव भण्डारीले जानकारी दिएका छन् । जनप्रतिनिधि सकारात्मक र शिक्षक जागरुक हुने हो भने बिर्तामोडको शिक्षामा आमुल परिवर्तन आउने निश्चित छ । शिक्षामा तत्काल परिवर्तन आउँदैन, भण्डारी भन्छन्, – यसैगरी अघि बढिरहेको हो भने अबको ५ वर्षमा एउटा स्टाण्डर्डमा पुगिनेछ ।

प्रस्तुति : प्रदीप परियार

प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार  १० : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]