बिर्तामोडमा कालोपत्रे सडक निर्माण धमाधम
बिर्तामोड, २३ जेठ – बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तिब्र गतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेट मार्फत विभिन्न ठुला साना सडक कालोपत्रे गर्दै आएको हो ।
वडा नम्बर ९ र १० मा आज र भोलि १ हजार ३ सय ६० मिटर सडक कालो पत्रे हुँदैछ । आज वडा नम्बर ९ कोलाटोली स्थित नेत्र मार्गमा ४ सय मिटर क्षेत्रमा कालो पत्रे सम्पन्न भयो । ५ मिटर चौडाईको यस सडकमा ९ नम्बर वडा कार्यालयको २५ लाख र बिर्तामोड नगरपालिकाको २५ लाख गरी कुल ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
यस्तै आज नै वडा नम्बर १० स्थित तारानाथ चोकबाट पथरभिट्टा जाने सडकको १ सय मिटर क्षेत्रमा कालोपत्रे गरिएको छ । ६ मिटर चौडाईको यस सडकमा बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको छ ।
यस्तै नम्बर १० स्थित मोहन चोकबाट – कुवापानी हुँदै लक्ष्मीनारायण आधारभुत विद्यालय जाने ८ सय ४० मिटर सडकमा भोलि कालोपत्रे हुँदैछ । ६ मिटर चौडाईको यस सडकमा बिर्तामोड नगरपालिकाले १ करोड रुपैयाँ बजेट लगानी गरेको छ । कालोपत्रेको काम भोलि बेलुकीसम्ममा सम्पन्न हुने नगरपालिकाका सव-ईन्जिनियर डिल्ली ओलीले जानकारी दिनुभयो । यी तीन वटै सडक योजनाको पृथ्वी निर्माण सेवाले ठेक्का पाएको छ ।
कालो पत्रे योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गर्नु भएको छ । नगर प्रमुख प्रसाईले आवश्यक मापदण्डको आधारमा गुणस्तरीय काम गर्न प्राविधिक र ठेकेदारलाई सुझाव दिनु भयो ।