जेष्ठ ३२, २०८२ शनिबार

बिर्तामोडको विकासमा सहयोग गर्ने चिनियाँ राजदुत चेन सोङ्गको प्रतिवद्धता

बिर्तामोड । चिनियाँ राजदुत चेन सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ । आज विहान बिर्तामोड नगरपालिकामा भेटघाट कार्यक्रममा सरिक हुँदै सोङ्गले सहयोगका लागि प्रतिवद्धता जनाउनुभयो ।

चिनियाँ दुतावासबाट प्राप्त योजनाहरुको उद्घाटन तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री र छात्रवृति वितरणका लागि राजदुत सोङ्ग केहि दिन अघि झापा आउनु भएको थियो । झापा र इलामको कार्यक्रम सकेर फर्किने क्रममा उहाँलाई बिर्तामोड नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले राजदुत सोङ्गलाई कार्यालयमा स्वागत सम्मान गर्दै बिर्तामोडको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भएको प्रगति र हालको अवस्थाको बारेमा जानकारी गराउनु भयो ।

राजदुत सोङ्गले यसअघि चिनियाँ राजदुतावासको सहयोगमा निर्मित बिर्तामोड– ८ स्थित शुक्रराज आधारभूत विद्यालयको २ तले भवनको उद्घाटन, बिर्तामोड ९ मा रहेको देवकोटा आधारभूत विद्यालयका लागि नयाँ भवनको शिलान्यास गर्नु भएको छ ।

यस्तै उहाँले वडा नम्बर ९ मा रहेको दुर्गा माध्यमिक विद्यालयका ४ सय जना विद्यार्थीलाई स्टेशनरीसहित व्याग वितरण गर्नुका साथै दुर्गा मा.वि, शुक्रराज आ.वि र देवकोटा आ.विका १०-१० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले छात्रवृति प्रदान गर्नु भएको थियो ।

भेटघाट तथा स्वागत सम्मान कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, नेकपा एमाले क्षेत्र नम्बर २ का संयोजक बद्री भट्टराई, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज अमिर लिङदेन, अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शुक्रबार  ३ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]