असार १, २०८२ आईतबार

सडक पूर्वाधारसँगै पर्यटन र शिक्षा क्षेत्रको विकासमा जोड

शिवसताक्षी सेरोफेरो
मनकुमार गदाल

धार्मिक एवम् पर्यटकीय नगरपालिकाको रुपमा परिचित झापाको शिवसताक्षी नगरपालिका विकासको अभियानमा निरन्तर लागिरहेको छ । शिक्षा,स्वास्थ्य, कृषिसँगै भौतिक पूर्वाधार विकासलाई शिवसताक्षी नगरपालिकाले विशेष प्राथमिकता दिएको छ । स्थानीय तहको निर्वाचनपछि शिवसताक्षीले भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक काम गरेको छ । धेरैजसो कृषि क्षेत्र भएको शिवसताक्षीले पछिल्लो वर्षहरुमा भौतिक पूर्वाधार विकासमा लागिरहेको पाइन्छ ।

शिवसताक्षी नगर पालिका वडा नं.६ मा रहेको शिवगञ्ज कृषि बजारमा होलसेल मार्केट, चिस्यान केन्द्र (कोल्ड सेन्टर) त्यस बजार अगाडीको सडक कालोपत्रे, जनआर्दश माध्यमिक विधालयमा निर्माणधिन पक्की भवन , नगर गौरवको आयोजना अन्तर्गत दुधे रंगशाला, शिवसताक्षीको चक्रपथ (रिङ रोड), प्रणामी मन्दिर र बच्चा बगरको सडक कालोपत्रे, नगर स्मार्ट स्कुल कार्यक्रम मार्फत स्तरउन्नति र वडा नं. ८ को ढुंगेल चोक पूर्व दक्षिणको सडक कालोपत्रे लगायतका भौतिक पूर्वाधारका योजना निर्माण सम्पन्न गरिएको छ भने केहि योजनाहरु निर्माणधिन रहेको नगरपालिकाको प्राविधि शाखाले जनाएको छ ।

नेपाल सरकार अन्तर्गतको कृषि मन्त्रालयको सशर्त अनुदान २ करोड ५० लाख रुपैयाँमा शिवसताक्षी नगरको आन्तरिक स्रोतबाट ७० लाख रुपैयाँ थप गरी कुल ३ करोड २० लाख रुपैयाँको लगानीमा वडा नं.६ मा अवस्थित शिवगञ्जमा शिवगञ्ज कृषि बजारमा होलसेल मार्केट, कोल्ड सेन्टर (२० मेट्रिक टन) क्षमताको निर्माण भइरहेको नगरपालिकाको प्राविधिक शाखाका सव इन्जिनियर पेरिस घिमिरेले जानकारी दिनुभयो । यसको निर्माण आउँदो असार मसान्तसम्म सकिने घिमिरेले बताउनुभयो ।

नगरपालिकाको पुरानो बजार मध्येको शिवगञ्ज बजार पनि एक हो । यस बजारको हतकडी चोकवाट धरहरा चोक हुदै वरपिपल चोक सम्म सडक कालोपत्रे भएको छ ।सानो कटेरोमा करिव एक दर्शक देखि चिया बच्दै आउनु भएका ज्येष्ठ सर्वन राजवंशीले वाल्यकालमा यहाँ एक दुई घर थिए । जता सुकै जंगलै मात्र थियो । जंगलको बीचमा एउटा सानो घोरेटो वाटोवाट हिडने गरिन्थे । अहिले त जता सुकै ठूला–ठूला काला चिल्ला सडक रहेका छन् । सबै तिर घरै –घर कहाँ वाट कहाँ पुगो जमना यस्तो हुन्छ भन्ने कल्पना पनि गरेको थिएन –राजवंशीले चियाको गिलास माज्दै भन्नु भयो । यस सडकको लम्वाई ५सय मिटर रहेको सडकको निर्माण ब्यवसायी कम्पनी ग्लोवल कन्ट्रक्सन शिवसताक्षी ९ रहेको छ । यसको वजेट विशेष अनुदान १करोड ३० लाख रुपैयामा निर्माण कम्पनी ग्लोवलले निर्माण गरिरहेको छ ।

संघीय सरकारको क्रमागत बजेट अन्तर्गत ५ वर्षे योजनाको वडा नं.६ कै जनआर्दश माध्यमिक विधालय परिसरमा पक्की भवन निर्माण जारी रहेको विधालयका लेखा सहायक दिनेश कुमार श्रेष्ठले बताउनु भयो । ग्लोबलले ८३ लाख रुपैयाँमा ठेक्का लिएको भवन ३१ मिटर लम्बाई र साढे ९ मिटर चौडाईको रहेको प्राविधिक शाखाले जनाएको छ । भवनको ३ तल्ला पुरा भएपछि विधालयलाई स्थानीय सरकारले हस्तान्तरण गर्ने पनि श्रेष्ठले बताउनु भयो । जनआर्दशको ०७२ को भूकम्पले जीर्ण बनाएको भवनमा अध्ययन गरि रहेका कक्षा १ देखि ५ सम्म पढ्ने विधार्थीलाई भवन निर्माण सकिए पछि त्यहाँ ल्याएर पढाउने योजना रहेको लेखा सहायक श्रेष्ठले बताउनु भयो । यो निर्माणको काम सशर्त अनुदान मार्फत भइरहेको छ । शिवसताक्षी नगरपालिका वडा नं.६ को जनआर्दश विधालय छेउ ज्येष्ठ नागरिक चौतारी भवन वडा सरकार र सहारा नेपाल सहकारी संस्था बिर्तामोडको सहकार्यमा निर्माण गरिएको हो । चालु आर्थिक वर्ष ०८१-०८२ मा १० लाख लगानीमा गत बैशाखामा भवन निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष मनोज खुलालले बताउनु भयो ।

वडाकै ज्येष्ठ नागरिक भवन भौतिक निर्माण अन्तर्गत चालु आवको वडाकै ठूलो योजना रहेको महिला वडा सदस्य गोमा रिजालले जानकारी दिनुभयो । नेपाल सरकारको सशर्त अनुदानमा शिवसताक्षी ७ स्थित लालझोडाको भानु माध्यमिक विधालय , शिवसताक्षी ८ को झिलझिलेमा रहेको झिलझिले माध्यमिक विधालय र वडा नं. ३ को पाराबारीमा रहेको भानु माध्यमिक विधालयको दुई÷दई कोठे पक्की भवन २५-२५ लाख रुपैयाँको लगानीमा बनिरहेको संरचना निर्माणको अन्तिम चरणमा रहेको नगरपालिकाको प्राविधिकहरुले बताएका छन् ।

शिवगञ्ज कृषि बजारमा रिपोटिङ्घमा पुगेको पत्रकारसँग सोही बजारमा सब्जी ब्यापार गर्दै आउनु भएकी निरा राजवंशीले बजार समिति र नगरपालिकाले सबै ब्यापारीलाई शिवगञ्ज बजारको भवनमा व्यापारका लागि आग्रह गरेको छ । तर, त्यहाँ बिक्री गर्न नआउँदा आफुलाई घाटा लागेको गुनासो गर्नुभयो । अरु ब्यापारीहरुले पुरानो बजारमै ब्यापार गर्दा यस नयाँ भवनमा कोही ग्राहक नआउँदा आफनो व्यापारमा घाटा लागेको सुनाउनु भयो । नयाँ भवनमा ब्यापार ल्याउँदा घाम पानीको समस्या खेप्नु त पर्दैन तर, साग सब्जी किन्ने ग्राहक नआउँदा दोकान सुकेको राजवंशीको पीडा छ । सोही बजारमा सब्जी पसल गर्ने अर्की पसले द्रौपती तापुरियाको पनि उत्तै गुनासो छ ।

नगर प्रमुख रोशन थोप्राले उक्त समस्या समाधानका लागि प्रयास जारी रहेको बताउनुभयो । व्यापारीहरु नगरपालिकाले निर्माण गरेको संरचनामा आएर व्यापार गर्नुपर्ने उनीहरको धारणा छ । यहाँभित्र ल्याएर पसल गरौ न भन्दा उल्टै ब्यापारीहरु ब्यापारी संस्था र नगरपालिकालाई चासो छैन तिमीहरुले भन्दा हुन्छ भन्दै उम्किने गरेका छन् ।
स्थानीय ब्यापारीका अगुवा बन्द्री खनालसँग बुझ्दा ब्यापारी उल्टै झगडा गर्दछन् । नयाँ भवनमा जाने र नजाने भन्दै मिलाउन सकिएको छैन । ब्यापारीको यो समस्या सहितको प्रतिवेदन बनाएर नगर प्रमुखलाई केही महिना अघि बुझाइ सकिएको छ । यसको निकास खोज्ने स्थानीय सरकारको काम हो खनालले भन्नुभयो । शुरुमा नयाँ भवनमा दुई दर्जन जति ब्यापार पसल गर्न आएका थिए ।

नेपाल सरकार समानिकरण अनुदान अन्तर्गत नगरभित्रका बजार तथा विभिन्न वडाका सडकहरुमा इन्टरलक ब्लक बिच्छ्याउने, पक्की ढल निर्माणको काम अन्तिम–अन्तिम चरणमा पुगेको जनाएको छ । यसको लागानी ९० लाख रहेको जनाएको छ । शिवसताक्षी ४ स्थित रंगेथान बजार र बुलोचोक बजार , वडा नं. १० को माइधार आपटारी सडकबाट मेची बोडिङ जाने बाटो निर्माण भइरहेको छ । एता, शिवताक्षी ८ को किराँत माङहिम (मन्दिर) मा इन्टरलक विच्छ्याउने काम गरिएको छ । शिवसताक्षी –११ बाट झिलझिले बजार उत्तर सतासीधाम जाने सडक बाटोमा पक्की ढल निर्माण भईरहेको छ । सतासीधाम जाने बाटोमा पक्की ढलको लम्वाई ९० मिटर र चौडाई १ मिटरको रहेको छ । उक्त वडा कै दुधे बच्चा बगर जाने सडकको पक्की ढल पनि निमार्ण भई रहेको छ । यसको लम्वाई १ सय ८० मिटर र चौडाई एक मिटर रहेको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा भौतिक पूर्वाधार तर्फ पूर्वाधार विकासमा दुधे रंगशालामा प्याराफिट निर्माणको कार्यलाई निरन्तरता दिने, नगरको चक्रपथ (रिङ्घरोड) कालोपत्रे गर्ने, दोमुखा रिङ्गरोड सौन्दर्यकरण एवम् अधुरो पूर्वाधार प्रवेशद्धार निर्माण कार्य गरी आन्तरिक तथा बाह्य पर्यटन आगमनमा वृद्धि गर्ने लगायतका निर्णय समावेश गरिएको नीति कार्यक्रममा उल्लेख छ । दुधे रंगशाला नगरको मात्र नभएर सबैको गौरवको योजना भएको बताइएको छ ।

पूर्व पश्चिम राजमार्ग (एसियन हाइवे) शिवसताक्षीको दुधे बजारको पूर्व बस स्टेण्ड देखि उत्तर करिव ३ सय मिटर माथि दुधे रंगशाला निर्माण जारी रहेको प्राविधिक शाखाको सव इन्जिनियर पेरिस घिमिरेले बताउनु भयो । शिवसताक्षी नगरपालिकाको रंगशालामा १ करोड २० लाख लगानीमा ६ स्टेप प्याराफिट निर्माण भइरहेको छ । त्यसैमा स्टेज निर्माण र युपीभीसीको छाना लगाउने काम भइरहेको प्राविधिक शाखाले जनाएको छ । रंगशालाको प्याराफिट उत्तर दक्षिण लम्वाई ५५ मिटर र चौडाई साढे ६ मिटर रहेको घिमिरेले जानकारी दिनुभयो ।

झापाका धेरै पर्यटकीय स्थल रहे पनि सबै मन– नमा रहेको सबैभन्दा पुरानो लोकप्रिय पर्यटकीय क्षेत्र दोमुखा नै हो । पूर्व पश्चिम राजमार्ग (एसियन हाइवे) माईधार चोकदेखि दोमुखासम्म सडक कालोपत्रे भई सकेको छ । जसले दोमुखको पर्यटन विकासमा ठुलो योगदान गर्नेछ । ३ किलोमिटर २ सय मिटर सडक कालोपत्रे आर्थिक वर्ष ०७९÷०८० मा ४ करोड २४ लाख ८३ हजारको लगानीमा निर्माण सम्पन्न भएको शिवसताक्षी नगरपालिकाको प्राविधिक शाखाका इन्जीनियर उत्तम बरालले बताउनु भयो ।

दोमुखाको प्रवेशद्वारदेखि स्वीमिङ पुल जाने बाटो ६० एमएम थिगनेसको हाइड्रोलिक इन्टरलक ब्लक तथा माइधारको प्रवेशद्धार ८१ लाख ४७ हजारको लगानीमा चालु आर्थिक वर्षको बैशाख मसान्तमा निर्माण सकिएको योजना शाखाले जनाएको छ । यसको लम्वाई ७ सय ३० मिटर रहेको छ । दोमुखाको चमेना गृह तथा रंगरोगन लाइटीङको काम भइरहेको छ । ८१ लाख ४७ हजारको लगानी निमार्ण भइरहेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाले जनाएको छ ।

आर्थिक वर्ष ०७९-०८० मा ५५ लाख ८ हजार सहारा नेपाल शिवसताक्षी नगरपालिकाको साझेदारीमा फलामे पुल निर्माण गरिएको छ । दोमुखा क्षेत्रमा ५२ वटा सडक बत्ती, दोमुखाको झोलुङ्घगे पुललाई झिलीमिली पार्ने वत्ती जडान, एउटा कार्यक्रम स्टेज र केही भागमा हाइड्रोलिक इन्टर ब्लक लगाउने साथै दोमुखामा एक जोडी असला माछाको मुर्ति बनाउने काम भइरहेको नगरपालिकाको प्राविधिक शाखाका अ. सव इन्जिनियर लोचन बस्नेतले जानकारी दिनु भयो ।
माइधारमा रहेको प्रवेशद्धारमा शिव पार्वती एवम् सिलाम साक्माको मुर्ति राख्नका लागि काम धमाधम भइरहेको छ । यो निर्माणको काम असार मसान्तसम्म सकिने नगरपालिकाको योजना शाखाले जनाएको छ । यसको लागत १ करोड २१ लाख ६९ हजार रहेको अ.सव इन्जीनियर बस्नेतले जानकारी दिनुभयो । पूर्व पश्चिम राजमार्ग (एसियन हाइवे) माईधार चोकदेखि दोमुखा सम्म ३ किलोमिटर रहेको बताइएको छ ।

समतल ठाउँको बीच भागमा उपत्यका जस्तो देखिने भुभागमा पोखरी रहेकोे छ । पोखरीमा कमलका फुलहरु ढकमक फुली रहेको देखिएको स्थान शिवसताक्षी ९ स्थित चिल्लागढ धाम हो । यो ठाउँ पोखरी पसिरको पूर्वमा किराँत माङहिमको मन्दिर ,पश्चिममा महारानी माताको मन्दिर रहेको देखिन्छ । पोखरी वरीपरी इन्टरलक ब्लक विच्छाएको छ । पोखरीको वरीपरी फलामको रेलिङ र सो भित्र आउने जाने फलामको ३ सिढी बनाएको नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।

पोखरी सौन्दर्यकरणका लागि नगरपालिकाको १० लाख लगानी पछि निर्माण कार्य सम्पन्न भएको प्राविधिक शाखाका असिसेन्ट सव इन्जीनियर राम खतिवडाले बताउनु भयो ।

नगरको गौरवको योजनाको रुपमा रहेको शिवसताक्षी नगर चक्रपथ (रिङ्गरोड) को पहिलो खण्ड अन्तरगत वडान.३ र ४ को चक्रपथ सडक कालोपत्रे भएको छ । अढाई करोड बजेट लगानीमा दमक कन्स्ट्रक्सनले १ हजार ७ सय मिटर लम्वाई र साढे ५ मिटर चौडाईको सडक कालोपत्रे गरेको बस्नेतको भनाई छ । शिवसताक्षीको चक्रपथ सडक निर्माण विभिन्न खण्डमा भइरहेको बुझिएको छ । यसरी शिवसताक्षी ९ मा चक्रपथ सडकको दोस्रो खण्ड निर्माण जेठको पहिलो साता सकिएको अ.सव इन्जीनियर राम खतिवडाले बताउनु भयो । यसको सम्झौता रकम १ करोड २१ लाख ३० हजार १ सय ७७ रुपैया रहेको छ । सो सडक खण्डको लम्वाई १ हजार ५ सय रहेको छ । यस्तै गरी वडा नं. ११ मा पनि ६ सय ५० मिटर लम्वाईको चक्रपथ सडक निर्माण भएको छ । वडा नं.९ मा भने चक्रपथ सडकको वेस पेल्ने तयारी भइरहेको बताइएको छ ।

दुधे बजारको करिव १ सय मिटर पश्चिम उत्तरको प्रणामी मन्दिर तथा बच्चा बगर जाने सडक कालोपत्रे ठेक्का मार्फत सम्पन्न भएको छ । जसको सम्झौता रकम ३५ लाख ५९ हजार ६ सय ९ रुपैयाँ लगानी रहेको छ । यसको लम्वाई २सय २२ मिटर रहेको जनाएको छ ।

नगरपालिकाको चालु वर्षको बजेटबाट सम्झौता भएको रकम ५३ लाख ७१ हजार ३ सय ३३ रुपैयाँबाट शिवसताक्षीभित्रका ८ वटा सरकारी विधालयको स्तरोन्नति ,मर्मत सम्भार जस्ता काम गरिएको असिसेन्ट सव इन्जीनियर खतिवडाले बताउनुभयो ।

ती विधालयका जस्ता पाता फेर्ने, सिलीङ फेन जडान, खेलकुद सामग्री वितरण, विधालयको प्रवेशद्धार, ग्रील लगाउने, कक्षा कोठाको भुई ढलान, अफिस कोठामा कारर्पेट विछाउने, झयालको पल्ला लगाउने, रंगरोगन र ब्लक विच्छाउने लगायतका काम गरेको छ । यी काम गरिएको विधालयहरु वडा नं. २ को मोती माध्यमिक विधालय, वडा नं.४ को मन्जु श्री आधारभूत विधालय, वडा नं. ७ को भगवती मावि, बाल सेवा आधारभूत विधालय रहेका छन् । यसै गरी वडान. ८ को झिलझिले मावि, वडा नं. १० को बाल निकुञ्ज मावि र शिवसताक्षी वडा नं. ११ को राष्ट्रिय रमणीय आर्दश माविमा काम भएको जनाएको छ ।

शिवसताक्षी ८ को ढुङगेल चोक देखि विकास चोक हुदै मंगलवारे जाने सडक कालोपत्रे भइरहेको छ । जसको लम्वाई ३ सय ५८ मिटर र चौडाई साढे ५ मिटर रहेको छ । ५९ लाख ७१ हजार ८ सय १५ रुपैयाँको सम्झौता रकममा सडक निर्माण भई रहेको प्राविधिक शाखाले जनाएको छ । यस सडकको निर्माण ब्यवसायी मिराक हाङ्ग निर्माण सेवा सुरुङ्गा रहेको छ । आउँदो असार मसान्तसम्म निर्माण कार्य सकिने बुझिएको छ ।

पर्यटन क्षेत्रबाट नगरपालिकाले आम्दानी गर्दैछ
मेगाहाङ थोप्रो (रोशन)
मेयर

शिवसताक्षी नगरपालिकाले जनताको आवश्यकता र यहाँको आर्थिक क्षमता अनुसार विकास निर्माणलाई अघि बढाइरहेका छौं । म नगर प्रमुखको रुपमा निर्वाचित भएपछि मैले पहिलो निर्णय दमकल खरिद गर्ने निर्णय गरेको थिए । शिवसताक्षीमा आगलागीबाट एउटै परिवारमा धेरै मानवीय क्षति भए पछि जनताको मागलाई सम्बोधन गरेको निर्णय पुरा गरिसकेको छु ।

यो पालिका धार्मिक एव्म पर्यटकीय क्षेत्र हो । जिल्लामै कृषिका लागि अब्बल मानिने पालिका भएको हुँदा कृषिलाई पनि विशेष प्राथमिकता दिएर काम गरिरहेका छौं । धार्मिक एवम् पर्यटकीय क्षेत्रमा लगानी गरेका कारण अहिले त्यहाँ नगरपालिकाले आम्दानी नै लिइरहेको छ । सो क्षेत्रहरुको विकासका कारण व्यवसाय बढेको छ । पर्यटकहरुको आवगमन वृद्धि भएको छ । त्यसबाट भएको आम्दानी वापत नगरपालिकाको राजश्व समेत वृद्धि भइरहेको छ । त्यहाँको पूर्वाधार विकासमा लगानी गरेका कारण त्यसले आम्दनी दिएको हो । पर्यटन क्षेत्रमा शिवसताक्षीले छलाङ नै मारेको छ ।

यो पालिका कृषि क्षेत्र भएकाले धान उत्पादन वृद्धि गर्न किसानलाई आवश्यक सहयोग गर्दै आएका छौं । विभिन्न आवश्यकीय वस्तुमा अनुदान, सिँचाईका लागि सहयोग गरिएको अवस्था छ । समयमा मल र वीउ उपलब्ध गराउन नसक्दा दुख लागेको छ । यो राष्ट्रिय समस्या पनि हो । किसानले उत्पादन गरेका वस्तुको बजारको ग्यारेन्टी गर्न सकिएको छैन । यस प्रकारका समस्या समाधानमा पनि ख्याल गरिएको छ । चैते धान रोप्ने किसानलाई कठ्ठाका आधारमा अनुदान दिने गरिएको छ । अहिले धान सुकाउने मेसिन स्थापनाको तयारी गरिएको छ । धान काट्ने मेसिन खरिद गरिएको छ । धान रोप्ने मेसिन खरिद गरिएको छ ।

यहाँका ८ वटा वडामा कनकाई सिँचाई सुविधा छ । अन्य ३ वटा वडामा सिँचाई समस्या भएकाले त्यस क्षेत्रमा सिँचाईका लागि आवश्यक प्रवन्ध मिलाइसकेका छौं । किसानलाई नगर सरकारको क्षमता अनुसार गर्नुपर्ने सबै प्रकारका सहयोगहरु गरिरहेको अवस्था छ । बाँकी दिनहरुमा पनि गर्दै जनो प्रतिवद्धता व्यक्त गर्दछु ।

सामुदायिक विद्यालयहरुलाई निजी भन्दा अब्बल बनाउने गरी लागेका छौं । विगतमा सामुदायिक विद्यालयको अवस्था दयनीय नै थियो । अहिले विद्यार्थीहरुलाई पढ्ने वातावरण बनाएका छौं । शिक्षक कर्मचारीहरुलाई काम गर्न जाँगर चल्ने अवस्था सिर्जना गरिएको छ । त्यसै अनुसारका संरचनाहरु निर्माण गर्न मद्दत गरिएको छ । स्मार्ट विद्यालयको अवधारणा बमोजिम शिक्षामा लगानी गरिएको छ । सुविधा सम्पन्न र प्रविधिमैत्री कक्षाकोठाहरु निर्माण गरिएका छन् । ७५ लाखको फन्ट बनाएर सामुदायिक विद्यालयको सुधारका लागि क्रियाशिल छौं ।

प्रकाशित मिति : असार १, २०८२ आईतबार  ११ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]