असार २, २०८२ सोमबार

बिर्तामोडमा कालोपत्रे र पेवर्स मात्रै २१३ किमि, बाँकी सडकको काम २ वर्षभित्र सम्पन्न गर्ने

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सडक सञ्जालको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ । बिर्तामोडका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले भौतिक पूर्वाधार तर्फ सडक क्षेत्रमा जनताले महसुस गर्ने गरि काम गरेको जानकारी दिनुभयो ।

उहाँले बिर्तामोड नगरपालिकाले कालोपत्रे र पेवर्स २१३ मिलोमिटर सम्पन्न गरेको बताउनुभयो । उपप्रमुख संग्रौलाका अनुसार ३०६.५२ किलोमिटर ग्राभेल गरिएको छ । विपन्न नागरिकहरुका लागि ५९२ वटा आवास निर्माण गरिएको छ भने ९० वटा भवन मर्मत गरिएको छ । १० वटा अस्पताल निर्माण गरिएको छ भने ६ वटा प्रशासनिक भवन निर्माण गरिएको छ । नगरपालिकाद्वारा १८२ वटा सामुदायिक भवन मर्मत तथा निर्माण गरिएको छ भने ३१.८ किलोमिटरमा नाला डे«न निर्माण गरिएको बताइएको छ ।

५४.५१ किमि प्लम, १५१ वटा कल्भर्ट, ४२ कल्भर्टको मर्मत, ९ वटा फलामे पुल निर्माण, ३ वटा झोलुङ्गे पुल निर्माण गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिनुभयो । ११७१ ह्युमपाइप कल्भर्ट, ९४३१.३ मिटर तटबन्धन, २६२ वटा विजुलीको पोल विस्तार गरिएको छ । यस्तै, नगरपालिकाले १४ वटा सोलार सडक बत्ति, ९९६ वटा सडक बत्ति जडान गरेको संग्रौलाले जानकारी दिनुभयो । नगरले ५३१ परिवारलाई गोवरग्यास प्लान्ट जडान गर्न सहयोग गरेको छ । नगरभित्र ९ वटा खेल मैदान निर्माण गरिएको छ भने ५१ थान ट्यूवेल उपलब्ध गराएको छ । नगर उपप्रमुख संग्रौलाका अनुसार खानेपानीको पाइपलाईन १० हजार ३४० मिटर विस्तार गरिएको छ भने ६० मिटर नहर कुलो निर्माण गरिएको छ ।

बिर्तामोड नगरपालिकाभित्र सडक पूर्वाधारलाई विशेष प्राथमिकता दिएर काम गरिएको उहाँको भनाई छ । बिर्तामोडको भूगोलमा रहेका केहि सडकहरु निर्माण गर्न बाँकी रहे पनि अबको २ वर्षभित्र सबै सडक पूर्वाधार निर्माण सम्पन्न गरिने उहाँको धारणा छ । बिर्तामोडका कुनै पनि वडाबाट नगर जोड्ने सडकहरु निर्माण गर्न बाँकी नरहेको बताइएको छ ।

कालोपत्रे र पेवर्समा गुणस्तरलाई ध्यान दिएर काम गरिएको बताउँदै उहाँले केहि सडकहरुको काम अबको दुई वर्षभित्र सम्पन्न गरिने जानकारी दिनुभयो । पालिकाबाट–पालिका जोड्ने सडकहरु निर्माण गर्न नगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोग लिने उपप्रमुख संग्रौलाको भनाई छ । साना सडकहरु निर्माणका लागि पालिकाले जनतासँग ६०-४० को साझेदारी समेत गरेको जनाएको छ ।

बिर्तामोड १ र बिर्तामोड ५ बाट अर्जुनधारा जाने सडक जोडिएको छ । बिर्तामोड २ देखि कनकाई जाने सडक जोड्ने काम भएको छ भने घाग्रा खोलामा ट्रस्ट पुलको लागि स्माप निर्माणको काम जारी रहेको बताइएको छ ।

देउनियाँ खोला हुँदै हल्दिवारी, हर्चनादेखि हल्दिवारी जाने सडकमा काम जारी रहेको छ । सैनिकमोड गोल्धाप निर्माण सम्पन्न गर्ने तयारीमा छ । द्रोणमार्ग–बाह्रदशी–कट्टरडाँगी सडक अर्कोभित्र सम्पन्न गर्ने योजना छ । उनका अनुसार बिर्तामोड २ का ठुला सडक निर्माणको काम सम्पन्न भइसकेको छ । गरामनी पूर्व पुरानो गोल्धाप शिविर जाने सडक निर्माण गर्न जरुरी उहाँको भनाई छ ।

नगरको ठुलो योजनाको रुपमा रहेको बुट्टाबारी –प्याकुरेल सडक आगामी भदौभित्र सम्पन्न हुने उपप्रमुख संग्रौलाले जानकारी दिनुभयो ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरवासीको आवश्यकता र बजेटको अवस्था हेरेर विकास निर्माणलाई अघि बढाइएको जानकारी दिनुभयो । भौतिक पूर्वाधारका क्षेत्रका के कति काम भयो, मैले भनिरहनु पर्दैन, उहाँले भन्नुभयो, ‘यो सबै तपाईहरुका सामुन्ने छर्लङ्ग छ । सबै विकास देखिने गरि गरिएको छ । आगामी दिनमा प्राथमिकता दिनुपर्ने संरचनाहरु बनाउदै जाने बताउनुभयो । बिर्तामोडको विकासमा माथिल्लो तहबाट पनि सहयोग भइरहेको बताउनु भएको छ । विकास प्राथमिकताका आधारमा गर्दै जाने भएको हुँदा आगामी दुई वर्षभित्र सबै सडक निर्माणको काम सम्पन्न गरिने उहाँको भनाई छ ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  १२ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]