असार ३, २०८२ मंगलबार

कांग्रेसको महाधिवेशन अर्को भदौंमा

विर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताउनु भएको छ । नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई भदौमा महाधिवेशन हुने बताउनुभएको हो ।

लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धीलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको टिप्पणी गर्नुभयो ।

लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जाल, विद्युत विस्तारमा उल्लेखनीय प्रगति भएको दावी गर्नुभयो ।

कांग्रेस झापाको पुनर्निर्माण भइरहेको पार्टी कार्यालयलाई आधुनिकीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै आफूले सक्दो सहयोग पु¥याउने बताउनुभयो ।

विस्तारित बैठकका बीच सगरमाथा आरोहणका क्रममा ७ हजार २ सय मिटरसम्मको यात्रा पूरा गरी फर्कनुभएका शर्मालाई नेपाली कांग्रेस झापाले सम्मान गरेको थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्लाका पदाधिकारी, सदस्य, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ÷नगर सभापतिहरुको विस्तारित बैठकका बीच महामन्त्री शर्मालाई सम्मान गरिएको हो ।

लगभग एकमहिना अघि सगरमाथा आरोहणमा निस्कनुभएका शर्मा ७ हजार २ सय मिटरको उचाइमा पुगेर फर्कनुभएको थियो । सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ भने नेपालतर्फको आधार शिविर ५ हजार ३ सय ६४ मिटर उचाइमा छ । सम्मानपछि बोल्दै महामन्त्री शर्माले नेपाली कांग्रेस झापाप्रति आभार ब्यक्त गर्नुभएको थियो ।

यसैबीच बैठकले आगामी असार १५ गते धान दिवस मनाउने निर्णय गरेको छ । बैठकले नेपाल किसान संघको आयोजनामा हल्दिबारी गाउँ समितिका उपसभापति होम चुडालको खेतमा रोपाई गरी धान दिवस मनाउने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]