बिर्तामोडमा २१ बुँदे प्रतिवद्धतामा अधिकतम ९१ प्रतिशतसम्म सिकाई उपलब्धि
बिर्तामोड । सिकाई उपलब्धि सुधार अभियान – २०८१ को प्रगति समीक्षा गरेको शिक्षा, युवा तथा खेलकुद विकास शाखा बिर्तामोडले २१ बुँदे प्रतिवद्धामा शिक्षकहरु प्रतिवद्ध भई कार्यान्वयन गरेको जनाएको छ । गत वर्षदेखि बिर्तामोडमा उक्त अभियान थालनी गरिएको थियो ।
सिकाई सुधारका लागि शिक्षकहरुले गरेको प्रतिवद्धतामा कार्यान्वयनको अवस्था सकारात्मक देखिएको उपसचिव तिलचन भण्डारीले जानकारी दिए । उनका अनुसार गत वर्ष गरिएको प्रतिवद्धतामा धेरै प्रगति हासिल गरिएको छ । बिर्तामोड नगरपालिकाद्वारा सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरूसँग गरिएको प्रतिबद्धताहरूको कार्यान्वयनको अवस्था समीक्षा गर्दा न्यूनतम ६९ देखि अधिकतम ९१ प्रतिशत प्रगति भएको भण्डारीले जानकारी दिए ।
विद्यार्थीहरुको विषयगत क्लब गठन गरी त्यस मार्फत उनीहरुको प्रतिभा तथा क्षमताको प्रस्फुटन गराउन कम्तिमा एक पटक प्रदर्शनीको आयोजना गर्ने प्रतिवद्धतामा ६९ प्रतिशत उपलब्धि भएको शिक्षा शाखाले जनाएको छ । २१ बुँदे प्रतिवद्धतामध्ये यसमा कम उपलब्धि भएको छ भने सबैभन्दा धेरै निर्धारित कक्षा समयलाई पूर्ण रूपमा शिक्षण सिकाई क्रियाकलापमा उपयोग गर्नेमा ९१ प्रतिशत उपलब्धि हासिल भएको छ ।
विषयगत औषत सिकाई उपलब्धि न्यूनतम एक अंकले वृद्धि गर्नेमा ७५, पाठ्यक्रमले निर्धारण गरेका विषयगत सिकाई सक्षमता पूरा गर्न प्रतिबद्व रहनेछौंमा ८३, विद्यालयको विषयगत समितिमा मासिक रूपमा छलफल तथा अन्तक्रिया गरी सिकाई उपलब्धि सुधारमा सक्रिय सहभागी बन्नेमा ८१, शिक्षण सिकाई क्रियाकलापका नवीनतम विधि र असल अभ्यासहरुको प्रयोग गर्दै एक अर्कामा आदान प्रदानसमेत गर्नेमा ८१, बाल मनोविज्ञान अनुररूप बालमैत्री शिक्षण सिकाई क्रियाकलापको प्रयोग गर्नेमा ८३, शिक्षण सिकाइमा (आइसिटी ) को अधिकतम प्रयोग गर्नेमा ६९, शैक्षिक सामग्री सङ्कलन, निर्माण, उपयोग र संरक्षणमा विशेष जोड दिनेमा ७७, कक्षाकोठामा प्रदर्शन पाटीको व्यवस्था गरी सोको सजावटमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्नेमा ७३, विद्यालयको सिकाइमैत्री वातावरण निर्माणमा सक्रिय सहभागी बन्नेमा ७४ प्रतिशत उपलब्धि हासिल भएको उपसचिव भण्डारीले जानकारी दिए ।
यस्तै, सिकाई उपलब्धि कमजोर भएका बालबालिकाहरुको कार्यमूलक अनुसन्धान मार्फत वास्तविक समस्या पहिचान गरी वैयक्तिक शिक्षणमार्फत सिकाई उपलब्धि सुधारमा सहभागी बन्नेमा ७५, वार्षिक शैक्षणिक योजना र शिक्षण सुधार योजना निर्माण गरी शिक्षण गर्नेमा ७६, पाठनोट तयार गरी सोहीअनुररूप शिक्षण क्रियाकलाप गर्नेमा ८३, तालिममा सिकेका शिक्षण सीपहरु कक्षाकोठामा प्रयोग गर्नेमा ८४, वर्षमा कम्तिमा एउटा घटना अध्ययन र एउटा कार्यमूलक अनुसन्धान गरी उपचारात्मक शिक्षणमा जोड दिनेमा ७६, पाठ्यक्रम अनुसार निरन्तर विद्यार्थी मूल्याङ्कन तथा आन्तरिक मूल्याङ्कनलाई तथ्यपरक र प्रभावकारी बनाउनेमा ८४, कम्प्युटरलाई प्रत्येक विषयको सिकाईमा शिक्षण माध्यमका रूपमा प्रयोग गर्नेमा ७१, प्रत्येक त्रैमासिक परीक्षाको नतिजा प्रकाशन भएपछि विद्यालयले आयोजना गर्ने शिक्षक अभिभावक अन्तक्र्रिया कार्यक्रममा सक्रियता पूर्वक सहभागी भई छलफल गर्नेमा ८६ प्रतिशत उपलब्धि हासिल भएको छ ।
त्यसैगरी नगरस्तरीय विषयगत सञ्जालमा सक्रियतापूर्वक सहभागिता जनाउनेमा ८५, आफूले अध्यापन गर्ने विषयसँग सम्बन्धित विषयवस्तुमा अद्यावधिक हुँदै सोसँग सम्बन्धित खोज, अनुसन्धानमा क्रियाशील रहनेम ८२ प्रतिशत उपलब्धि हासिल भएको जनाइएको छ ।
सिकाइ उपलब्धि सुधार अभियान अन्तर्गत शैक्षिक सत्र २०८२ का लागि पाँच बुँदे कार्ययोजनामा शिक्षकहरुले प्रतिवद्धता जनाएका छन् ।
सिकाइ उपलब्धि सुधार अभियान – २०८१ का प्रतिबद्धताहरू र कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा निरन्तर कार्यान्वयन गर्ने, विद्यालयबाट शिक्षक तालिममा गएर फर्किएपछि तालिममा सिकेका मुख्य विषयवस्तुहरू, तालिमपश्चात कक्षाकोठामा तालिमलाई पूर्णरूपमा उपयोग गर्ने कार्ययोजना सहितको शिक्षकको प्रतिबद्धतासहितको तालिम पुस्तिका राख्ने र सोको अनुगमन प्रधानाध्यापकले गर्ने, शिक्षकले गर्ने कार्यमूलक अनुसन्धान र घटना अध्ययन लगायतका अनुसन्धानको प्रमाणित अभिलेख पुस्तिका राखी त्यस्ता अनुसन्धानबाट आएका निष्कर्ष तथा योजना शिक्षण सिकाईमा प्रयोग भए नभएको प्रभावकारी अनुगमन गर्ने, प्रत्येक कक्षाकोठालाई विद्यार्थीको सहभागितामा शिक्षण सिकाइसँग सम्बन्धित सामग्रीहरू निर्माण गरी कक्षाकोठाको सजावट गर्ने र सिकाइमा प्रयोग गर्ने, अघिल्लो परीक्षाको नतिजालाई आधार मानेर हरेक विषय शिक्षकलाई एक वर्षमा विषयगत सिकाइ उपलब्धि के कति वृद्धि गर्ने सोको लक्ष्य निर्धारण गरी कार्यान्वयनको योजना सहितको शिक्षण सुधार योजना निर्माण गर्न लगाई सोको कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् ।