बैशाख ११, २०८१ मंगलबार

ढुक्क हुनुस्, झापाको १५ तहमै क्वारेन्टाइन बनाउँछौ : जिसस प्रमुख पोर्तेल

१ सय ८१ देशमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । चिनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यतिवेला इटलीमा भयाभय भएको छ । त्यसको प्रभावले नेपाल पनि उत्तिकै जोखिममा छ । नेपाल सरकारले कोरोना भाइसरको संक्रमण भित्रिन नदिन देशव्यापी ‘हाइअलर्ट’ गरेको छ । शैक्षिक संस्थादेखि भीडभाड हुने क्षेत्र बन्द नै गरिसकिएको छ । नेपालमा कोरोनाको संक्रमण भित्रिन नदिन सरकार रफ्तारमा काम गर्दैछ । हरेक जिल्ला–जिल्लामा जोखिम कम गर्न कामहरु भइरहेका छन् । यसै सन्दर्भमा झापामा कोरोना संक्रमण हुन नदिन जिल्ला तहमा के कस्ता काम भइरहेका छन् भन्ने बारे जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् मेची अञ्चल अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलसँग इजलास डटकमले गरेको कुराकानी :

१. नागरिकको सुरक्षाको लागि झापामा कस्तो तयारी भइरहेको छ ?

झापामा सभासम्मेलन रोक्नका लागि झापावासीलाई आग्रह गरिएको छ । जिल्ला समन्वय समिति झापाले चैत २ गते बसेको बैठकको निर्णयबाट समेत सभासम्मेलन रोक्न आव्हान गर्दै सुरक्षित रहन आग्रह गरिएको छ । क्वारेन्टाइन निर्माणको तयारी गरिराखिएको छ । भेन्टिलेटर सहित आइसुलेशन वार्ड मेची अञ्चल अस्पतालमा तयारी गरिदैछ ।

स्थानीय तहलाई पनि क्वारेन्टाइन र आसुलेशन वार्ड तयारी गर्न आग्रह गरिएको छ । र, त्यस अनुसारको काम अघि बढाइएको छ । सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने नागरिकको ज्वरो नाप्ने र अधिक ज्वरो भए प्रवेशमा रोक लगाउने कार्य भइरहेको छ । नेपाल प्रवेश गर्ने सबैलाई हात धुन लगाउने र झापाका सबै सरकारी काममा आउने सेवाग्राहीलाई अनिवार्य हात धुन लगाउने काम भइरहेको छ । मास्क अनिवार्य रुपमा लगाउन आग्रह गरिएको छ ।

२. झापामा क्वारेन्टाइन निर्माणको काम के भइरहेको छ ?

भद्रपुरको ग्रामीण विकास प्रशिक्षण केन्द्र कलवलगुरीमा ३२ वेडको क्वारेन्टाइन तयारी भइरहेको छ । पूर्वी नाका काँकरभिट्टाको मेचीनगरमा दुई स्थानमा ७० बेडको नगरकै व्यवस्थापनमा पनि क्वारेन्टाइन निर्माणको काम शुरु भएको छ । गाउँपालिका र नगरपालिकालाई समेत क्वारेन्टाइन निर्माणको लागि आग्रह गरिएको छ । स्थानीय तहका प्रमुख तथा अध्यक्ष सहित सर्वदलीय बैठक बस्दैछौं । यसैको बारेमा आवश्यक निर्णय गरेर जाने कुरा भएको छ । बैठकमा हालसम्मको कामको समीक्षा र आगामी योजनाबारे छलफल हुनेछ ।

३. क्वारेन्टाइन पर्याप्त भएन , किन ढिलाई र हेल्चेक्राई भइरहेको छ ?
झापाको जनसंख्या १० लाख बढि छ । सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न संभव छैन । नागरिकहरुले आफ्नो घरलाई नै ‘होम क्वारेन्टाइन’ को रुपमा विकास गर्न जरुरी छ । अहिले बनाउदै गरेको क्वारेन्टाइन आपतकालिन व्यवस्थापनका लागि हो । ढुक्क हुनुस् सबै पालिका तहमा पनि क्वारेन्टाइन निर्माण हुन्छ । जिल्ला भित्रका नागरिकलाई आफ्नै पालिकाभिको क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नेछौं ।

झापा बाहिरको नागरिकको हकमा जिल्लाले व्यवस्था गर्नेछ । ढिलाई भएको छैन । यदि कसैमा शंकास्पद अवस्था देखिएमा तत्काल व्यवस्थापन गर्ने व्यवस्था मिलाइसकेका छौं । हेल्चेक्राई भएको छैन । हामी संवेदनशील भएको छौं । राज्य तहबाट हेल्चेक्राई भएको छैन । बरु, नागरिककै तहबाट धेरै हेल्चेक्राई भइरहेको अनूभुति भइरहेको छ । म आग्रह गर्छु, यो विसम परिस्थितिमा सबै नागरिकलाई पर्याप्त सतर्कता अपनाउन अनुरोध गर्छु ।

४. बजारमा तेल, ग्यास र खाद्यन्नको पनि अभाव भइरहेको कुरा नागरिकको तहबाट आइरहेको छ । के झापामा अभाव भइसकेको हो ?

कुनै अभाव छैन । अभाव हुन पनि दिइन्न । मैले पेट्रोलियम पदार्थ आपुर्तिको अनुगमन गरेको छु । अभावको अवस्था पाइन । हिजोको समयभन्दा आपुर्ति धेरै धेरै भइरहेको छ । बाहिर चर्चा भए जस्तो यथार्थमा छैन । कहिकतै कृतिम अभाव सिर्जना गर्न खाजियो भने अनुगमन गरेर कारवाही दायरामा ल्याइने छ ।

५. सरकारले भीडभाडमा नजान आग्रह गरिसेको छ । तर, झापाका बजारहरु अझै खुल्ला छन् । आम नागरिकको भीडभाड पनि उस्तै छ । यसले जोखिम हुदैन ?

पक्कै जोखिम हुन्छ । सरकारले नागरिकलाई गरेको आग्रह अनुसार जो कोहि सचेत हुनैपर्छ । नियमित हाट बजार र सपिङ मलका बारेमा आजको बैठकले निर्णय गर्नेछ ।

६. काँकरभिट्टा अन्तराष्ट्रिय नाका हो । त्यहाँको संवेदनशीलता अनुसार राज्य पक्षबाट प्रभावकारी सतर्कता नअपनाएको आरोप छ । किन तपाईहरु संवेदनशील नबन्नु भएको ?

राज्य पर्याप्त संवेदनशील छ । कहिकतै सतर्कता अपनाउने सन्दर्भमा कमजोरी भए सच्याइनेछ । आवश्यक जनशक्तिसँगै सबै व्यवस्थापन गरिनेछ । अत्यावश्यक बाहेकको आवातजावत समेत रोक लगाइने छ ।

७. अन्त्यमा, कसैलाई कोरोना भाइरसको शंका लाग्यो । के गर्ने ? कहाँ जाने ? कसलाई सम्पर्क गर्ने ?

सामान्यतय यसको लक्षण भनेको अधिक ज्वरो, सुख्खा खोकी र श्वासप्रश्वासमा समस्या हुनु हो । यस्तो लक्षण देखिएमा मेची अञ्चल अस्पताल भद्रपुरमा सम्पर्क गर्ने र चिकित्सकसँग परामर्श लिने । यदि संक्रमण भएको पुष्टि भएमा राज्यको तहबाट सोहि अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । त्यहाँ संभव नभए अन्य अस्पतालमा सुरक्षित रुपमा पठाइनेछ । विरामीको नमूना संकलन भद्रपुर मै हुन्छ । त्यसको परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइनेछ । त्यसको नतिजा आउन दुई दिन लाग्छ । त्यो समय आइसोलेशन वार्डमा राखेर उपचार गरिने छ । आम नागरिकले आत्तिनु पर्दैन । हामी संवेदनशीलतालाई ख्याल गरेर परिचालन भएका छौं ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  १२ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]