बिर्तामोडमा १५० विद्यार्थीले गरे प्रतिभा प्रदर्शनी
धर्मेन्द्र मामा
झापा । बिर्तामोडको महेन्द्र रत्न माविको नयाँ भवनमा शुक्रबार बिहान १० बजेतिर विद्यार्थीहरूको चहल–पहल बढिरहेको थियो । विद्यार्थीहरूको अनुहारमा उत्साह उमङ्ग र जिज्ञासाहरू प्रष्ट झल्किन्थे । साना कक्षा दुई तिनका विद्यार्थीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू उत्तिकै उत्साही देखिन्थे । उनीहरूका साथमा आआफ्ना विद्यालयका एक एक जना गुरुहरू पनि आउनुभएको थियो ।
एकैछिनमा उनीहरु सबैले आआफ्नो प्रतियोगिताको लागि नाम दर्ता गराए र मुख्य सभाहलमा एकीकृत भए । कुन प्रतियोगिता कुन हलमा हुन्छ भन्ने उनीहरूमा जिज्ञासा त छँदै थियो । आयोजक परिवारले उनीहरूलाई आआफ्नो हलको बारेमा जानकारी पनि गराए । त्यसपछि सुरु भयो रमाइलो कार्यक्रम । कोही बालगीत गाउन थाले । कोही चराचुरुङ्गी र जनावरहरूको आवाजको नक्कल गर्न थाले । कसैले कुकुरको कसैले बाख्राको कसैले उल्लुको आवाज निकाल्दा रमाइलो वातावरण सिर्जना हुन्थ्यो । कोही कागज काटेर विभिन्न सामग्रीहरु निर्माण गर्न थाले । कागजका फूलहरू शुभकामना कार्डहरू सजावटका सामग्रीहरू बनाएर आफ्नो प्रतिभा देखाएका थिए । अर्कातिर छात्र छात्रा दुवै डोरीबाट नाम्ला दाम्ला र अन्य सामग्रीहरु निर्माण गर्न थाले। माध्यमिक तहका विद्यार्थीहरु भने एकैछिनमा कथा तयार पार्न कथा लेखन गर्न थाले ।
बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले हरेक वर्ष झैँ यस वर्ष पनि विद्यार्थीहरूमा रहेको प्रतिभा पहिचान तथा प्रदर्शन गर्ने कार्यक्रम थियो यो । बिर्तामोड नगर भरिका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्राचार गरी प्रत्येक विद्यालयबाट पाँचवटा विधामा एक एक जना विद्यार्थी सहभागी गराउन जानकारी गराएको थियो । कक्षा १, २, ३ का नानीबाबुहरूका लागि कागजबाट सामग्री निर्माण गर्ने प्रतियोगिता थियो भने कक्षा ४ ,५ का विद्यार्थीहरू आफ्नो पाठ्यपुस्तकमा भएका बालगीत कविताहरूलाई सुमधुर स्वरले हाउभाउका साथ प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि भने परम्परागत सीपमा आधारित डोरीबाट विभिन्न सामग्रीहरु निर्माण गर्नुपर्ने थियो ।
कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूको लागि भने खुल्ला रूपमा क्यारिकेचर गर्ने कार्यक्रम राखिएको थियो । कक्षा ९, १२ लाई थिममा आधारित भएर कथा लेख्नका लागि प्रतिस्पर्धा गराइएको थियो । सबै विद्यार्थीहरू तल्लिनताका साथ आआफ्नो प्रतिभा प्रस्तुत गर्न थाले । निर्णायक मण्डलहरू को राम्रो भन्ने छुट्याउनका लागि प्रदर्शनी स्थलमै व्यस्त देखिन्थे । करिब एक घण्टा ३० मिनेट जति आफ्ना प्रतिभा प्रस्फुटन गरिसकेपछि उनीहरुले प्रस्तुत गरेका सामग्रीहरूको मूल्याङ्कन गरियो । मूल्याङ्कनकर्ता हरू विभिन्न क्षेत्रमा अब्बल व्यक्तित्वहरू रहनुभएको थियो । विधागत रूपमा सुहाउँदा मूल्याङ्कनकर्ताहरू सिरो सानदाई, टंक विकल्प, युवराज रिजाल, हस्त परियार, इन्द्रसिंह राजवंशी लगायतको दुई दुई जनाको समूहले बाल प्रतिभाहरूको मूल्याङ्कन गर्नुभएको थियो ।
विद्यार्थीको उमेर र तह सुहाउँदा विषय शीर्षकहरूमा उनीहरुले प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । विद्यालयहरूमा यस्ता प्रकृतिका कार्यक्रमहरू कमै मात्र हुने गरेको र यस्ता प्रतिस्पर्धामा विद्यार्थीहरूले भाग लिने अवसर नपाइरहेको अवस्थामा नगर शिक्षा शाखाको यो कार्यक्रमले ती विद्यार्थीहरूमा अवसर का साथसाथै उत्साह समेत भरिदिएको छ ।
वर्तमान परिवेशमा विद्यालयहरूमा पढाउने मात्रै नभएर सिकाउने अभियान थालनी गर्नुपर्छ भन्ने सर्वत्र माग भइरहेको अवस्थामा यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई सिक्ने र गर्ने अवसर प्राप्त हुने कुरामा दुई मत छैन । विद्यालयका कार्यक्रमहरूमा कहिल्यै सहभागी नहुने विद्यार्थीहरु ले पनि यस्ता कार्यक्रमहरुमा सहभागिता जनाए को पाइएको छ ।
विद्यालयहरूले परम्परागत रूपमा गरिँदै आएका कार्यक्रमलाई मात्र निरन्तरता दिने गरेको परिप्रेक्ष्यमा यस्ता नयाँ र अनौठा कार्यक्रमहरूको आयोजना गर्दा विद्यार्थीहरू लाभान्वित हुने देखिएको छ । बिर्तामोड नगर क्षेत्रका १५० जना बालबालिकाहरुले प्रतिस्पर्धा गर्ने अवसर पाए । प्रतिस्पर्धीहरु मध्ये २५ जना विद्यार्थीहरूले नगद पुरस्कार र प्रमाणपत्र पनि प्राप्त गर्न सफल भए । प्रतियोगितामा प्रथम हुनेले पाँच हजार दोस्रा हुनेले ४००० तेस्रो हुनेले ३००० र २ जना शान्तवना पुरस्कार दुई हजारका दरले प्राप्त गरेका थिए । बिर्तामोड नगरपालिका शिक्षा शाखा विगत केही वर्षदेखि शिक्षक तथा विद्यार्थीहरूको दक्षता सीप र प्रतिभाको विकास गर्न लागि परेको पाइएको छ ।
समापन समारोहमा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले विजयी प्रतियोगीहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । पाँचवटा विधामा भएको उक्त कार्यक्रमको संयोजन विर्तामोड नगर क्षेत्रका विषयगत समितिका सदस्यहरू लिला प्रसाद भण्डारी, धर्मेन्द्र भट्टराई, खड्गप्रसाद खरेल, दीपक लुइटेल देवेन्द्र हुमागाईं लगायतले संयोजन गरेका थिए । कार्यक्रममा नगर शिक्षा शाखाका प्रमुख तिलचन भण्डारी शाखा अधिकृतहरू जानुका रेग्मी , लासाङ तामाङ र कर्मचारी मित्र ओली र सामना उप्रेती को सक्रिय व्यवस्थापन र सञ्चालन रहेको थियो ।