सहाराको जीवन बरदान : सदस्यहरुको उपचारमै ४२ करोड भुक्तानी
एउटै परिवारलाई १५ लाखसम्मको सुविधा
प्रदीप परियार
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेका ढुण्डीराज मिश्रले गत वर्षको बैशाखमा ट्युमर, हर्नियासँगै च्यापिएको नशाको अपरेशन गराए । उनको अपरेशमा ठुलो खर्च लाग्ने निश्चित थियो । ठुलै खर्च हुने भए पनि उनलाई ढुक्क थियो, किनभने उनी सहारा नेपालको जीवन बरदान कार्यक्रममा आवद्ध थिए ।
खर्चको तनाव नभएपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा अपरेशन गराए । सात दिनको अस्पताल बसाईमा उनको ५ लाख भन्दा बढि खर्च भयो । सहाराले उनको उपचार खर्च वापत ४ लाख बराबरको रकम अस्पताललाई बुझाइदियो ।
मिश्र भन्छन्, ‘सहाराको जीवन बरदानमा आवद्ध नभएको भए ऋण खोज्नु पर्ने थियो । स्थिति गाह्रो गाह्रो नै छ । मैले सहाराको जीवन बरदानमा जोडिएर ठुलै राहत पाएको महसुस गरेको छु ।’ उनका अनुसार छोराले पनि मासिक औषधि खाने गरेका छन् । औषधिमा पनि आर्थिक रुपमा सहयोग प्राप्त भइरहेको छ ।
उपचार पछि घरमै आराम गरिरहेका मिश्रले सदस्यहरुको उपचार सेवाका लागि कार्यक्रम सञ्चालन गर्ने सहारा नेपाललाई धन्यवाद दिएका छन् ।
यस्तै, अर्जुनधाराको एउटा परिवारका ३ जना सदस्यहरुले साढे ३ वर्षको समयमा १५ लाख हाराहारीको उपचार सेवा पाएका छन् । क्यान्सर समेत भएकोले उनीहरुकै आग्रहमा परिवारको पहिचान खुलाइएको छैन । बुबा, छोरा र बुहारीको उपचारमा १५ लाख बराबरको खर्च सहाराले अस्पताललाई बुझाएको छ । अहिले पनि त्यो परिवारले उपचार गराइरहेको छ ।
बुबाको प्रोटेस्ट, क्यान्सर अपरेशन, केमो, श्रीमतिको पाठेघरको सिस्टको अपरेशन, क्यान्सर, केमो, नसा सम्बन्धी उपचार र आफ्नो स्टोनको अपरेशन गरेको जानकारी दिए । सहाराले ‘मन्त्रीको उपचार अमेरिकामा गरे जस्तो’ महसुस गराइदियो, उनले थपे – सहाराका कर्मचारीहरुले विरामीको ख्याल गर्नेदेखि कागजातको व्यवस्थापनमा समेत धेरै सहयोग गरेको पाए । उनीहरुले कोरोनाको समयमा समेत सहयोग पाएका रहेछन् ।
कनकाई नगरपालिका ३ गोहीखाडीका चन्द्र प्रसाद रिजालको गत चैत महिनामा टाउकोको मेजर अपरेशन गरिएको थियो । गत चैत २६ गते बिएण्डसीमा भर्ना भएका रिजालको १७ दिन अस्पताल बसाई भएको थियो । उनको ब्रेनमा पानी जमेको थियो । उनका अनुसार टाउको देखि नै पाइप जडान गरिएको छ । डेढ वर्षअघि जीवन बरदानमा आवद्ध रिजालले सहाराबाट २ लाख ५० हजार उपचार खर्च पाए । खर्चभन्दा ठुलो सहाराका कर्मचारीहरुको हेरचाह पाएकोमा उनले खुशी व्यक्त गरेका छन् ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ०७२ सालदेखि सदस्यहरुको उपचारमा सहयोग गर्ने उद्धेश्यले जीवन बरदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सदस्य तथा कर्मचारीहरुको उपचारमा आर्थिक बोझ नहोस् भन्ने उद्धेश्यले स्थापना गरिएको कार्यक्रममा पौष मसान्तसम्म १३ सय ९७ जनाले उपचार सेवा पाएका छन् । चालु आर्थिक वर्षको पौष मसान्तसम्म १३ सय ९७ जनाको उपचारमा सहाराले ६ करोड २९ लाख २६ हजार २ सय २८ रुपैयाँ खर्च गरेको संस्थाका उपनिर्देशक दिनेश बहादुर निरौलाले जानकारी दिए । उनका अनुसार पौस महिनादेखि यताको विल आउन बाँकी रहेको छ ।
सो जीवन बरदान कार्यक्रममा सुरु भएदेखि १७ हजार ७ सय ३७ जनाले उपचार सेवा पाइसकेका छन् । सहाराले देशका विभिन्न भागमा सञ्चालित ५० भन्दा बढी अस्पतालहरुमा उपचार सेवाका लागि जीवन बरदान कार्यक्रम सम्झौता गरेको उपनिर्देशक निरौलाको भनाई छ । उनका अनुसार १७ हजार ७ सय ३७ जनाको उपचारमा सहाराले ४१ करोड ९७ लाख ४३ हजार हजार ५ सय ४८ रुपैयाँ खर्च गरिसकेको छ ।
यस्तै सामाजिक सुरक्षा कार्यक्रममा ११२८० जना शेयर सदस्यहरुको लागि ३४ करोड ५१ लाख २२ हजार १२० रुपैयाँ र कर्जा सुरक्षण कार्यक्रममा ४१२६८ जना शेयर सदस्यहरुको लागि ५४ करोड ३८ लाख १० हजार ४३८ रुपैयाँ खर्च भएको बताइएको छ । हालसम्म सामाजिक सुरक्षा, स्वास्थ्य कार्यक्रम र कर्जा सुरक्षण कार्यक्रममा १०७२० जना शेयर सदस्यहरुका लागि १ अर्व ३० करोड ८६ लाख ७६ हजार १०६ रुपैयाँ खर्च गरिएको उपनिर्देशक निरौलाले जानकारी दिए ।
संस्थाले सदस्य वा कर्मचारी बिरामी भई उपचार तथा शल्यक्रिया गराउनु पर्ने अवस्था आएमा शल्यक्रियामा लाग्ने कुल खर्चको ९० प्रतिशत र उपचारमा लाग्ने खर्चको ८० प्रतिशत रकम अस्पताल भर्ना भएदेखि डिस्चार्ज हुने समयसम्मको खर्च सोझै अस्पताललाई भुक्तानी गरि सेवा उपलब्ध गराउंदै आएको छ ।
शल्यक्रिया गराएको सदस्यलाई संस्थाले थप सेवाका लागि सहायक कार्यक्रम स्वास्थ्य हेरचाह (होम केयर ) कार्यक्रम अन्तर्गत घरैमा गई सुगर प्रेसर चेकजाँच सहित ड्रेसिङ्ग, घाउ सफा र साना साना टाँका काट्ने सहितको सेवा उपलब्ध गराउँदै आईरहेको छ । दीर्घरोगी भई नियमित सेवन गर्नेलाई औषधि, सुगर, प्रेसर, थाईराईड, कोलाईटिस, मुटु मृगौला दम छारेरोग र यूरिकएसिड जस्ता १० वटा रोगको मासिक रुपमा लाग्ने औषधि खर्च रकमको ५० प्रतिशतसम्म संस्थाले उपलब्ध गराउंदै आएको सहारा नेपालले जनाएको छ ।
उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल, विएण्डसी, पूर्वाञ्चल क्यान्सर अस्पताल, कन्काई हस्पिटल, ओम साई हस्पिटल भद्रपुर,मेची नेत्रालय काँकरभिट्टा,स्पाइनेक्स बिर्तामोड, मेची आँखा अस्पताल, आम्दा दमक, नोवेल विराटनगर, सबै नगर अस्पतालहरु, विराट टिचिङ हस्पिटल, विराट नर्सिङ हस्पिटल, दृष्टि आँखा अस्पताल, आर्य न्यूरो हस्पिटल,घोपा धरान, सप्तकोशी हस्पिटल लगायत काठमाडौंसहित देशका विभिन्न भागमा सञ्चालित दर्जनौ अस्पतालहरुमा सहाराको जीवन बरदान कार्यक्रम मार्फत उपचार सुविधा उपलब्ध गराउने गरिएको छ ।
विरामीहरुले जीवन बरदानमा आवद्ध भएपछि त्यसको कार्ड लिएर अस्पताल पुगे उपचार सुरु हुने गरेको छ । सरकारी अस्पतालहरुमा पनि उपचार गरे वापत संस्थाले नियम बमोजिम सहयोग गर्दै आएको उपनिर्देशक निरौला बताउँछन् । सरकारमा उपचार गर्न जाँदा सुरुमा आफ्नै खर्चले गर्नुपर्छ, पछि हिसाव बुझेर सुविधा उपलब्ध गराइन्छ, उनले थपे । उक्त कार्यक्रममा आत्महत्या, घरेलु हिंसा र मादक पदार्थ सेवनबाट हुने दुर्घटनामा सेवा पाइने छैन ।
जीवन बरदान कार्यक्रमको झापा जिल्ला संयोजक कल्पना विकले आवद्ध हुनका लागि सहारा नेपालको सदस्यह बन्नुपर्ने बताइन् । सदस्य बनेको १ वर्षपछि जीवन बरदान कार्यक्रममा स्वतः जोडिनेछ । उनका अनुसार सहाराबाट पाइने विभिन्न सुविधाहरुका लागि सदस्यहरुले वार्षिक ३४ सय ७५ रुपैयाँ बुझाउनुपर्ने छ । संस्थाको सम्पूर्ण नियमहरु पुरा गर्ने सदस्यहरुले उक्त सुविधा पाउने बताइएको छ । यस कार्यक्रम मार्फत एउटै सदस्यले १० लाख रुपैयाँसम्म सुविधा पाएको तथ्याङक छ । पछिल्लो समय संस्थाले कार्यक्रमलाई व्यवस्थित गर्न कतिपय नियमहरु संशोधन समेत गरेको बुझिएको छ ।