असार २०, २०८२ शुक्रबार

बिर्तामोड वाणिज्य संघको राहत कोषमा २० लाख नाघ्यो, कार्यविधि साधारणसभाबाट पारित गर्ने

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी सदस्य राहत कोषमा २० लाख ४५ हजार १ सय ९१ रूपैयाँ जम्मा भएको जनाएको छ । व्यवसायीहरुले जन्मदिन र विवाह उत्सवमा कोषलाई सहयोग गर्दै आएका छन् ।

गतवर्षदेखि वाणिज्य संघले व्यवसायी सदस्य राहत कोष स्थापना गरेर सहयोग संकलन सुरु गरेको थियो । स्थापनाको एक वर्षमा संघले २० लाख रुपैयाँ पुराएको हो । कोषमा रकम संकलन सुरु भए पनि कोष सञ्चालनका लागि कार्यविधि पारित नभएको जनाइएको छ । आगामी साधारणसभाबाट कार्यविधि पारित गरेर जाने संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

बिहीवार संघले पत्रकार सम्मेलनको आयोजना गर्दै कोष स्थापनाको उद्देश्य सहितको राहत कोषका लागि तयार पारिएको कार्यविधि सार्वजनिक गरेको हो । कार्यक्रममा कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले कोषमा हालसम्म जम्मा भएको रकम सार्वजनिक गरेका थिए । कोषको कार्यविधि बारे कोषाध्यक्ष युवराज निरौलाले जानकारी गराएका थिए । कार्यविधिमा संघको सदस्यको मृत्यु भएमा १५ हजार र प्राकृतिक प्रकोप, आगलागी, चोरी, बाढिबाट क्षति भएको खण्डमा २५ हजार राहत प्रदान गरिने उल्लेछ ।

व्यवसायिक सदस्य राहत कोषमा हालसम्म ५६ जनाले सहयोग गरेका छन् । व्यवसायीहरूले आफ्नो जन्मदिन, वैवाहिक बर्षगाठल, पितृको स्मृति लगायतमा राहत कोषमा रकम प्रदान गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई छ । हालसम्म व्यवसायीहरूले उत्साहपूर्वक राहत कोषमा रकम सहयोग गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई छ । राहत कोषको ब्याजबाट प्रकृतिक प्रकोप, व्यवसायीलाई प्राणघातक रोग लागेको खण्डमा सहयोग गरिने बताइएको छ ।

संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए । कार्यक्रममा कोषमा सहयोग पु¥याउने दातासहित बिर्तामोडका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : असार १९, २०८२ बिहीबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]