बैशाख १९, २०८१ बुधबार

बाह्रदशीको वेथिती : एकातिर सम्झौता, अर्कैतिर तटबन्धन

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोप

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा विरिङ नदीबाट पीडित नागरिकले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको दुरुपयोग भएको आरोप लगाएका छन् । उनीहरुले वडाध्यक्ष शम्भु राजवंशी र उपभोक्ता समितिका अध्यक्ष रहिम मियाले प्राथमिकता दिनुपर्ने ठाउँको योजना अन्यत्रै सारेको आरोप लगाएका छन् ।


बाह्रदशी गाउँपालिकाको वडा नं. १ मा पर्ने सिप्तावस्ती हरेक वर्ष डुवानमा पर्ने भएकाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गतको तटबन्धन वस्तीलाई लक्षित गरेर निर्माण गर्नुपर्ने सिप्तावस्तीवासीको माग थियो । जोखिम क्षेत्रलाई प्राथमिकता नदिई तटबन्धन योजनालाई अर्कै ठाउँमा सारेको उपभोक्ता समितिका सचिव सजमल मियाले जानकारी दिए । आर्थिक अनियमिता गर्न नपाउँने बुझेपछि सो योजना सुटुक्कै सारेको उनको आरोप छ ।


बाह्रदशी गाउँपालिकामा सो संरक्षण कार्यक्रम अन्तर्गन ९० लाख बजेट आएको थियो । बाढीबाट जोखिम क्षेत्रको पहिचान गरि तटबन्धन गर्ने भनेपछि वडा नं. १, २ र ७ मा ३०÷३० लाख बजेट विनियोजन भएको थियो । वडा नं. १ मा सिप्तावस्तीको जोखिम पहिचान गरेर तटबन्धनका लागि रहिम मियाको संयोजकत्वमा उपभोक्ता समिति बनेको थियो ।


उपभोक्ता समिति बनेपछि गाउँपालिकासँग योजना सम्झौता समेत गरेर बैंक खाता सञ्चालन गरिएको सचिव सजमल मियाले जानकारी दिएका छन् । सम्झौता भएको केहि दिनमा उपभोक्ता समितिलाई जानकारी नै नदिई निर्माण सामग्री झारेपछि त्यहाँ विवाद शुरु भयो । स्थानीय उपभोक्ता समितिलाई नै थाहा नदिई कसले सामग्री झार्यो, कसले खन्न थाल्यो भनेपछि निर्माणको काम रोकिएको अनुगमन समितिका अध्यक्ष कमरुल मियाले बताए ।

उनका अनुसार सो बजेटबाट तोकिएको क्षेत्रभन्दा बढि काम गर्न स्थानीयले श्रमदान गर्ने योजना बनाएका थिए । बजेट अनुसार १ सय मिटर तटबन्धन गर्ने योजना थियो । अनुगमन समितिका संंयोजक मियाका अनुसार सोहि बजेटबाट धेरै काम गर्ने तयारी भइरहेको थियो । जानकारी विना नीजि जमिनमा डोजर लगाएपछि जग्गाधनी समिर मियाले जानकारी लिन खोजेका थिए ।

नसोधी खन्न थालेपछि उनले कसलाई बुझेर खन्न थालेको भनेपछि त्यहाँ झारिएको निर्माण सामग्री अर्को ठाउँमा सारिएको थियो । उनले निर्माणको काममा नरोक्ने भन्दा भन्दै योजना नै अर्को ठाउँमा पु¥याएको आरोप लगाएका छन् ।


सो स्थानमा सम्झौता भइसकेको योजना गाउँपालिकाले अर्को उपभोक्ता समिति बनाएर अर्को ठाउँमा निर्माण गरेको सिप्तावस्तीवासीको भनाई छ । उनीहरुका अनुसार अहिले निर्माण गरिएको तटबन्धनको कुनै अर्थ छैन । जोखिम क्षेत्रलाई वेवास्था गरेर बजेटको दुरुपयोग गरेको आरोप उनीहरुको छ ।


उपभोक्ता समितिका अध्यक्ष रहिम मियाले जग्गामा विवाद भएपछि काम गर्न नसक्ने भन्दै विदा लिएको बताएका छन् । उनले सल्लाह गर्दा पनि सहमति नजुटेपछि आफुले विदा लिएको बताए । उनले उपभोक्ता समितिको अध्यक्षबाट विदा लिएपछि वडाध्यक्ष राजवंशीले अर्को उपभोक्ता समिति बनाएर काम गरेको पाइएको छ ।

शूरुमा बनाइएको उपभोक्ता समितिका अध्यक्ष बाहेकका अन्य सदस्यहरुले अध्यक्षको भूमिका शंकास्पद रहेको बताएका छन् । सम्झौता भएको ठाउँमा काम नगर्नु, समितिमा सल्लाह नगरी सामान झार्नु र पछि आफ्नै गाउँमा निर्माण गर्नुले अनियमितता भएको स्पष्ट भएको अन्य सदस्यको आरोप छ ।


करिव २ सय घरधुरी रहेको सिप्तावस्ती यो वर्षको वर्खामा पनि डुवानमा पर्ने निश्चित भएको छ । रातारात अर्को ठाउँमा तटबन्धन गरेर सिप्तावस्ती विस्थापित गर्न खोजेको गाउँलेले आरोप लगाएका छन् । उनीहरुले अहिले निर्माण गरिएको संरचना १० लाखमा सम्पन्न गरेर २० लाख रुपैयाँ अनियमितता गरेको दावी गरेका छन् ।

सो क्षेत्रका अगुवा पिरमहोम्मत मियाले भने, हामीले कसैलाई पैसा खान नदिने बुझेपछि योजना नै सारियो । यो अहिले बनेको संरचना १० देखि १५ लाखमा सम्पन्न गरिएको छ, बाँकी पैसा खोई ?
यता, वडा नं. १ का अध्यक्ष शम्भु राजवंशीले जमिनधनीले काम गर्न नदिएकाले योजना अन्यत्रै सार्नुपरेको जानकारी दिएका छन् ।

उनले बजेट दुरुपयोग हुने भएकाले अर्को जोखिम क्षेत्रमा तटबन्धन गरेको बताए । वडाध्यक्ष राजवंशीले भने, विकासमा त्यहाँ विवाद भयो, सहमति खोज्दा पनि नभएपछि अर्को ठाउँमा निर्माण गर्न बाध्य भयौं । उनले तिनसम्म छलफल गर्दा पनि सहमति नजुटेपछि अर्को जोखि क्षेत्रमा काम गरेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : जेष्ठ १२, २०७६ आईतबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]