बैशाख १३, २०८१ बिहीबार

कोरोनाको त्रास, सरकारको काम र सामाजिक सञ्जालको दुरुपयोग

शिव ढुङ्गेल

कोरोना भाइरस (कोभिड १९) को माहामारीले विश्व आतंकित छ । कोरोना भाइरसको तिब्र संक्रमण जारी छ । यो भाइरस पत्ता लागेको तीन महिनामा ७ लाख संक्रमित भएका छन् भने ३२ हजारको मृत्यु भइसकेको छ । संक्रमणको दर हेर्दा मानव अस्तित्वमा गम्भीर संकटमा पर्दै गइरहेको देखिन्छ । हालसम्म यो भाइरसको औषधि पत्ता लाग्न सकेको छैन । औषधि पत्ता लाग्न सकेन भने हामी जो कोहि कुनै बेला पनि संक्रमति हुन सक्छौ । यस्तोबेलमा हाम्रा सोचहरु, गतिबिधिहरु र ब्यवहारमा परिवर्तन ल्याउन सकिएन भने अकल्पनीय क्षति ब्यहोर्नु पर्ने निश्चित छ ।

संसारले यस्तो माहामारी सामना गरेको पहिलो पटक भने होइन । विश्व इतिहासमा कैंयौ डरलाग्दा माहामारी फैलिएका उदाहरण छन् । इतिहास पढ्दा मात्रै पनि आङ्ग जिरिङ्ग हुने माहामारी त्यसबेलाको समाजले कसरी सामना गर्दै अगाडि बढ्यो होला । सन् ५४१ मा रोमबाट शुरु भएको प्लेग रोगले सन् ७५० सम्म २०९ वर्ष आतंक मच्चायो । यो महामारीमा पाँच करोडले ज्यान गुमाए । सन् १३४७ मा पुनः प्लेग शुरु भएर सन् १३५१ मा नियन्त्रणमा आयो । चार वर्षमा विश्वमा २० करोड मानिसको मृत्यु भयो । सन् १५२० मा बिफर सुरुभयो । यसको खोप १८ औं शताब्दीमा मात्र पत्ता लाग्यो र लामो समयमा मात्रै नियन्त्रणमा आयो । यो माहामारीले ५ करोड ६० लाख मानिसको मृत्यु भयो । सन् १९१८ मा स्पेनिस फ्लुको कारण विश्वमा ५ करोड मानिसको मृत्यु भयो । अहिले हामी कोरोना भाइरस (कोभिड १९) को सामना गरिरहेका छौ ।

विश्व स्वास्थ्य सङ्गठन , संयुक्त राष्ट्र संघ र विश्वका शक्तिशाली मुलुकहरु यो भाइरसका विरुद्ध सबै शक्ति लगाएर लडिरहेका छन् । अमेरिकी महाशक्ति यसको प्रकोपले थला पर्दै गइरहेको छ । चिनले केहिमात्रमा नियन्त्रण गरेको भएपनि मुक्त हुने अबस्था देखिदैन । बेलायती प्रधानमन्त्री आफै संक्रमित भएका छन् । इटलीले ठुलो नोक्सानी ब्यहोरेको अवस्था छ । भारतीय साम्राज्य कोरोना बिरुद्ध लडिरहेको छ र विश्वका सबै राष्ट्रको पहिलो काम यसैमा केन्द्रित भएको छ ।
हामी भर्खर भर्खर राजनीतिक अधिकारको आन्दोलन सकेर जनताको जीबन परिबर्तन गर्ने गरि आर्थिक समृद्धिको अभियानमा छौ । हामीले १०४ वर्षे राना शासन व्यहोर्यौ । ३० वर्ष पञ्चायती व्यवस्थाको सामना गर्यौ । १० वर्ष द्वन्द्व भोग्यौ । अहिले हामी संघीयता कार्यान्वयनको चरणमा छौ । यसै क्रममा समृद्धिको आधार हरु तयार गर्दै बिश्वप्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्ने तर्फ हामी केन्द्रित छौ ।

ठिक यहिबेला हामीलाई माहामारीले छोपेको छ । सबै काम थाति राखेर कोरोना बिरुद्ध लड्नु अहिले सरकार, राजनीतिक दल , सामाजिक संघसस्था र आम नागरिकको जिम्मेवारी हो । राज्य सञ्चालनको अभिभावक भनेको सरकार हो । सरकारले सबै नागरिकको जिउधनको सुरक्षा गर्ने कुरा जिम्मा लिनु पर्छ र सिङ्गो समाजले राज्यलाई सहयोग गर्नु पर्छ । सिमित साधनश्रोत हुनु ,अवसरको समान वितरण नहुनु, अत्याधुनिक प्रबिधि आफ्नै मुलुकमा नहुनु, भौतिक पूर्वाधारको अभाव हुनु , उत्पादकत्व क्षमता आफुसँग नहुनु हाम्रा राष्ट्रिय चुनौति हुन् । यि चुनौतिको सामना गर्दै सरकारको तर्फबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जे जस्ता काम भएका छन्, आशा लाग्दा कामहरु नै भएका छन् । अहिले हामी संकटको सुरुवाती दिनमा छौ । हाम्रा अगाडि प्रलय आउँदै छ । त्यसको सामना गर्न सरकार एक्लैले सम्भव छैन । सरकारले अघिसरेका योजनामा हामी सबैको साथ हुन जरुरी छ । सरकारले गरेको अहिलेको तयारि पर्याप्त छैन । तीनै तहका सरकार यसदिसामा गम्भीर हुन जरुरी छ ।

केहि शक्तिहरु अहिले धमिलो पानीमा माछा मार्ने दाउमा देखिन्छन् । सरकारले जे गरे पनि आलोचना मात्र गर्ने पेसेवर आलोचक बजारमा यत्रतत्र पाइन्छन् । हामीले अङ्गिकार गरेको राज्य ब्यवस्थाले आवधिक निर्बाचन मार्फत शासन ब्यवस्थालाई ब्यवस्थित गरेको छ । दिन पर्खनु पर्दछ , आवधिक निर्वाचन मार्फत जनताले सबैको कामको मुल्याङ्कन पक्कै गर्ने छन् । अहिले सङ्कटको बेला राष्ट्रिय सरकारको बहस थालिएको छ । ‘काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर’ भने जस्तो यो बेमौसमको बाजा हो । यो बेला कसैले पनि कुनै बहानामा जिम्मेवारीबाट पन्छन मिल्दैन । जनादेश प्राप्त सरकारले भागेर होइन, सामना गरेर अगाडि बढ्न र कामबाटै श्रेस्ठता हासिल गर्न सक्नुपर्छ । सत्ता कसैको पेवा होइन । समय सबैको आउछ । आज सिङ्गो राष्ट्र र मानब जीबन सुरक्षाका लागि एक भएर लड्न आवश्यक छ । त्यसैले सबै राजनीतिक दल र नागरिक समाजले सरकारको काममा सहयोग गर्नुको विकल्प छैन ।

हाम्रो संविधानले अभिब्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ । प्रबिधिले आज हरेक नागरिकलाई सामाजिक सञ्जालमा जोडेको छ । विश्वभरका घटनाको सूचना एकैछिनमा हामीसँग प्राप्त हुन्छ । यो प्रबिधिको उपयोग गर्न पाउने अधिकार हामीले लामो संघर्षबाट प्राप्त गरेका हौ । तर, यसको सदुपयोग भन्दा पनि अलि धेरै दुरुपयोग गरिरहेका छौ । गलत सूचना प्रबाह गर्ने, नभएका घटना र तथ्यहरु बङ्ग्याई प्रस्तुत गर्ने , अनावश्यक टिप्पणी गर्ने, ब्यक्तिगत आक्षेप लगाउने, चरित्र हत्या गर्ने, सामाजिक सन्जाललाई प्रयोग गरेर अपराधिक गतिबिधि गर्ने क्रम बढेको छ ।

कोरोना भाइरसको त्रास बढिरहेको बेला सामाजिक सन्जालका प्रयोगकर्ताहरु जिम्मेवार बन्न नसकेको गुनासो आइरहेको छ । सामाजिक सञ्जालले समाजलाई आतंकित पार्ने होइन आश्वस्त पार्न सक्नुपर्छ । भ्रम छर्ने होइन तथ्य दिन सक्नुपर्छ । नकरात्मक बन्ने होइना आशा जगाउन सक्नुपर्छ । हामी सबै सकारात्मक बन्न सक्यौ भने मात्रै परिस्थितिसँग जुध्न सक्छौ ।

प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार  १ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]