चैत्र १६, २०८० शुक्रबार

कोरोना कहर : मान्छेको अग्निपरीक्षा

प्रदीप परियार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार साँझसम्मको तथ्याङकमा नेपालमा पाँच जनामा मात्र कोरोना भाइरसको संक्रमण भएको उल्लेख छ । एक जना निको भइसकेका छन् भने चार जना आइसोलेसनमा उपचाररत छन् । मृत्यू शुन्य छ । चिनको वुहान प्रान्तमा जनवरीबाट संक्रमण फैलिएको कोरोना यतिवेला विश्वका २०३ राष्ट्रमा फैलिसकेको छ । कोरोना विरुद्ध विश्वका विभिन्न राष्ट्र लडेको झण्डै तिन महिना पुगेको छ । विश्व स्वास्थ्य संगठनका आधारमा हालसम्म अहिलेको संक्रमण र मृतकको संख्या यस्तो छ । (WHO को तथ्याङक )

कोरोनाको संक्रमण भयावह बन्दै गएपछि नेपाल सरकारले पहिलो पटक चैत ११ गतेबाट लकडाउन ग¥यो । लकडाउन गरेको पाँचौं दिनसम्ममा नेपालमा पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि संक्रमण भएको स्वास्थ्य मन्त्रालयले राखेको तथ्याङकमा उल्लेख छैन । तर, देशभर यसको जोखिम कम गर्न व्यापक तयारी छ । केन्द्र, प्रदेश र स्थानीय सरकार यतिवेला कोरोना भाइरसको संक्रमण फैलिन नदिन जोडबलले लागिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार हालसम्म १०६० जनाको परिक्षण गरियो । त्यसमध्ये १०५५ जनामा संक्रमण देखिएन । सरकारले लकडाउन थप गरेर चैत २६ सम्मलाई पु¥याएको छ । विश्वभर यसको संक्रमण दर बढेपछि नेपाल सरकारले पनि सचेतना अपनाउदै लकडाउनको समयावधि थप गरेको हो । यसले आम नागरिकको दैनिक जीवनलाई भने प्रभावित पारेको छ । सरकारले केहि दिन दुःख विताएर भएपनि आफ्नो जीवन रक्षाका लागि घरमै बस्न आव्हान गरेको छ ।

यो प्रकोपलाई राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो चुनौति भएको बताएका छन् । अहिलेसम्म भोग्नु परेको यस प्रकारका विपत्तिमा निश्चित राष्ट्र मात्र सतर्क भएका थिए । तर, कोरोना विरुद्ध आज संसार एक ठाउँमा उभिएको छ । र, कोरोना भाइरसलाई पराजित गर्न विश्व उद्दत छ ।

लकडाउनको अनुभव

नेपाली नागरिकले धेरै प्रकारका संकट व्यहोरे पनि लकडाउन भोग्नु परेको थिएन । विभिन्न आन्दोलनमा कफ्र्यु सहनु परेको थियो । तर, लकडाउन संभवतः पहिलो अनुभव बनेको छ । नयाँ पुस्ताका लागि लकडाउन फरक भोगाइ बनिरहेको छ । दैनिकीहरु कष्टकर बनिरहेका छन् । एकातिर भाइरसबाट जोगाउनु छ भने अर्का तिर भोकलाई मेटाउनु छ । यो लकडाउन बाध्यता पनि होइन, यो आवश्यकता हो । यदि लकडाउन नहुने थियो भने हामी कोरोनासँग पराजित भइसकेका हुने थियौ ।

लकडाउनले चौतर्फी प्रभाव पारेको छ । त्यस तर्फ हामीले कुनै प्रवाह नगरे हुन्छ । तर, जीवन बचाउने कुरा अहिलेलाई प्राथमिकतामा राख्नुपर्छ । लकडाउनको प्रभाव शहर मात्र होइन, गाउँमा पनि उस्तै छ । फरक यत्ति हो, शहरको लकडाउनले कोठाभित्र बन्दक बनाएको छ भने गाउँको लकडाउनले बारीमा काम गर्नसम्म दिएको छ । बारीकै टिपेर खाने मेलो छ, गाउँघरमा । तर, शहर खुल्ला हुञ्जेलको सुविधा मात्र रहेछ । शहरका धनाढ्यलाई समेत लकडाउने गरिव बनाएको छ । गाउँका गरिवलाई हातमुख जोड्नलाई त्यति सकस भएको छैन ।

सबै बराबर

कोरोना भाइरस विश्वको संकटका रुपमा देखिएको छ । यो भाइरसले विभेद गर्दैन । धनी गरिव छुट्याउँदैन । सेतो कालो छुट्याउदैन । जातपात छुट्याउदैन । हाकिम मजदुर छुट्याउदैन । महल र झुपडी छुट्याउदैन । महिला पुरुष छुट्याउदैन । प्रकृतिको निम्ति पृथ्विमा जो कोहि समान छन् । व्यवस्थालाई मानव जातिले तोडमोड गरेका हुन् । विभेद गर्नेहरु पनि कोहि सुरक्षित छैनन् । एक पटक सबैले जीवन गुमाउनै पर्छ । यो संकटले पक्कै मानव जातिको आँखा खोलिएको हुनुपर्छ ।

नयाँ अभ्यास गरौं

संसारभर कोरोना भाइरसको संक्रमणका कारण हातधुन सिकाइएको छ । हात धुने, सफा बस्ने, हात नमिलाउने आदि । अमेरिकी राष्ट्रपति ट्रम्पले समेत नमस्कार गर्न सार्वजनिक कार्यक्रम मै भने । त्यति मात्र होइन, यतिबेला सबैको मुखमा मास्क छ । अब विगतमा सामान्य प्रयोग गर्दै आएको मास्क नियमित र अनिवार्य प्रयोग गरौं । सँगै, हात मिलाउने प्रचलनलाई विस्तापित गरेर नमस्कार मात्रैं गरौंन । के हुन्छ ? बरु, यसलाई हामीले नयाँ अभ्यास मानेर जाऔं ।

प्रकृतिको कब्जामा मानव जाति

धनदौलत कमाउने र मात्र जीवन धान्ने दुई थरीको मानव जाति छौं । हरेक क्षण कमाउने धन्दा हुन्छ । अर्को थरी मानव, विहान बेलुकाको गुजारा टार्ने ध्याउन्नमा हुन्छौं । लोभ लालच धनको भोक जति नै भए पनि आखिर हामी आफ्नो सुरक्षा आफै गर्न सक्दैनौं । हामी सँधै प्रकृतिको कब्जा हुन्छौं । तर, त्यो हामीले बुझिरहेका छैनौं । र, हाम्रै कारण पृथ्वीलाई संकट ल्याउन बाध्य बनाइरहेका छौं । सोचौं न , पानीका मुहान, हरियाली जंगल, उर्वर माटो , जीवजन्तु कस्को कारण विनास भइरहेको छ ? त्यहाँ हाम्रो लोभ जोडिएको छ । कल्पना गरौंन, पानी भएन भने के हुन्छ ? पानीको मुहान सुकाउने काम हामी आफै गरिरहेका छौं । प्रदुषण उस्तै छ । हावालाई दुषित बनाएर कस्तो अक्सिजन ग्रहण गर्दैछौं ? त्यसले हाम्रो स्वास्थ्यमा कस्तो असर गरिरहेको होला ? हरेक विपत्ति मानव जाति कै त्रुटिले निम्तिएका छन् । यसैले बेलैमा सोच्न जरुरी छ । आखिर, मानव जाति प्रकृतिकै कब्जामा छ । कसैले पनि लिढेढिपी नगरेकै वेश हुनेछ ।

सहज जीवन रोजौं

मानव जातिको लुछाछोडीले प्रकृतिमा पक्कै असर गरेको छ । धावाधावा दैनिकीले जीवनलाई असहज बनाइरहकै हुन्छ । बुझाई यस्तो छ, धेरै कमायो भने जीवन सुखद् हुन्छ । धेरै कमाउन उस्तै असहज समयको सामना गनुपर्छ । त्यति मात्र होइन , धेरै कमाउन प्रकृतिसँग नै जुध्नु पर्छ । त्यसको परिणाम प्रकृतिले एक दिन बदला लिनेछ । जसरी अहिले मानव जातिसँग कोरोनाको युद्ध चलिरहेको छ । २०२० मा मानव जाति कोरोनासँग लडिरहेको छ । यसको संक्रमण विस्तारै कमकम हुँदै जाला । तर, अबको १० वर्षमा यहि कोरोना फर्कियो भने के हुन्छ ?
अब, हरेक राष्ट्रका नागरिकले सभ्य र सहज जीवनशैली अपनाउनुपर्छ । प्रकृतिलाई प्रेम गर्नुपर्छ । प्रकृतिको सुरक्षा भएन भने मानव जाति स्वभाविक रुपमा असुरक्षित हुनेछौं ।

संकटमा राजनीति पूर्वाग्रह

यहि बेला सरकार विरुद्ध विभिन्न भ्रम छर्ने काम पनि भइरहेको छ । मिडिया र राजनीतिक दल भ्रम छर्न क्रियाशिल छन् । चिनबाट आयात गरिएको सामग्रीमा भ्रष्टाचार भएको कुरा मिडियामा आइसकेको छ । त्यसलाई अहिलेको प्रतिपक्षले मिठो मसला बनाइरहेको छ । सत्ता पक्षवाला सकेसम्म डिफेन्स गरिरहेका छन् । मिडिया आफ्नो मिसनमा काम गरिरहेकै छ । तर, यो संकटको समय हो । संकटमा राजनीति गर्नेले जित्न त केहि सक्दैनन् । मात्र, आत्म सन्तुष्टि मिल्ला । यदि भ्रष्टाचार नै भइहाले पनि त्यसको खोजी गर्ने समय आउने छ । यो समय भनेको कोरोना विरुद्धको लडाईमा एकताका साथ लड्नु नै हो । सरकारलाई कमजोर बनायो भने कोरोनासँग आम नेपाली नागरिकले पराजय व्यहोर्नु पर्ने छ । सकिन्छ भने, अहिले सरकारलाई टेको दिने काम गरौं ।

भोकमरीले मर्नु नपरोस्

अहिले नै भोकमरी लागिहालेको अवस्था छैन । तर, आइहाल्यो भने त्यसको समाधानमा तत्काल जुट्न गाह्रो पर्नेछ । त्यसैले बेलैमा त्यस वर्गको पहिचान गर्नुपर्छ । सरकारले स्थानीय तहको परिचालन गरेर पनि यो काम गर्न सक्छ । सबैको घरमा अहिले चामल त सकिएको छैन । तर, अधिकांश परिवारमा तरकारीको अभाव भइसकेको छ । दैनिक मजदुरी गर्नेहरुलाई त चामल कै पनि समस्या भइसकेको छ । यसैले लकडाउन अवधिभरका लागि खाद्यन्नको व्यवस्थापनमा राज्यपक्ष गम्भीर हुनुपर्छ ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]