बैशाख १३, २०८१ बिहीबार

सयौं विगाहमा पाकेको खरबुजा कुहिन थाल्यो बगरमै

बिर्तामोड । लकडाउनले बजारसम्म पुर्याउन नसक्दा खरबुजा किसानले ठुलो क्षति सहनुपर्ने भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका –१ रंगियथानमा किसानहरुले सयौं विगाहमा खरबुजा लगाएका छन् । ठिक्क बजारमा पुर्याउने समयमा लकडाउन भएपछि खरबुजा बगरमै कुहिने अवस्था बनेको छ ।

कनकाई माईको बगर क्षेत्रमा लगाएको खरबुजा समयमै बजारमा पुर्याउन नसक्दा किसानलाई लाखौं रुपैयाँ क्षति हुने भएको हो । रंगियथानका कैलाश राजवंशीले ५ विगाहमा लगाएको खरबुजा अहिले मज्जाले पाकेको छ । यातायात र बजार बन्दका कारण करिव १० लाख क्षति हुने उनको भनाई छ । बैशाखको पहिलो हप्तासम्म बजारमा पुर्याउने खरबुजा अहिलेसम्म कुनै तयारी समेत गरिएको छैन । लकडाउनको कारण के गर्ने के नगर्ने मोडमा छौं, कैलाशले भने ।

खरबुजा र काँक्रोको लागि राजधानी जत्तिकै मानिने रंगियथानको बगरमा किसानको बिलौना मात्र सुन्न पाइन्छ । पश्चिम नेपालमा निर्यात हुने खरबुजा बोटमै कुहिन लागेको किसानहरुको भनाई छ । ऋण खोजेर खरबुजा लगाइयो , गाउँमै बेचेर पनि साध्ये छैन – कैलाश भन्छन्, ब्याज बढेको बढैछ ।

वैदेशिक रोजगारीमा लामो समय बसेका राजवंशी आफ्नै देशमा त्यतिकै मेहनत गरेर राम्रो आम्दानी गर्ने सोचमा फर्किएका थिए । तर,यसपाली कोरोनाले उनको मेहनत डुवाउने लगभग पक्का भएको छ । खरबुजा रोपेर त्यसको रेखदेखका लागि लगाइएका श्रमिकको ज्याला पनि विक्री गरेर दिने सोचमा थिए । उनी भन्छन्, ऋणको साँवा व्याज र श्रमिकको ज्याला कसरी तिर्नु ?
सो क्षेत्रमा ३० जनाभन्दा बढि युवाले उत्साहका साथ खरबुजा रोपेका थिए । मोरङबाट आएका मनौज चौधरीले त्यहाँ ४ लाख लगानी गरेर खरबुजा लगाएका थिए । नारायणघाट देखि काठमाडौंसम्म पुर्याउने तयारी गरिरहेको अवस्थामा लकडाउन शुरु भयो ।

भारतको बिहारबाट खरिद गरिएको प्रति केजी ४० हजारको विउबाट ४५ हजार विरुवा उत्पादन गरेको किसानको भनाई छ । पौष महिनाको चिसो मौसममा खोला किनारमा बसेर गरेको मेहेनत डुब्ने चिन्ता किसानलाई छ ।

व्यापारीले बगरमै ट्रक लगेर झापा सहित इटहरी, नारायणघाट, गोलबजार , जनकपुरदेखि काठमाडौंसम्म लैजाने गरेका थिए । जाडो मौसममा रोपेर गर्मीमा खाइने खरबुजा यो वर्षमा बजारमा पनि अभाव हुने भएको छ । मलपानी राम्रो भएमा एउटै खरबुजा २० केजीसम्म हुने किसानको भनाई छ । होलसेलमा प्रति केजी २० रुयैयाँले व्यापारीले लैजाने गरेका थिए ।

गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले खरवुजा किसान अन्यायमा परेको बताएका छन् । उनले लाखौं रुपैयाँ क्षति व्यहोरेका किसानलाई स्थानीय सरकारबाट सम्बोधन गर्नुपर्ने बताए । अर्का स्थानीय केशव प्रसाद भट्टराईले किसानलाई ऋण, व्याज तिर्ने वातावरण बनाइदिन माग गरेका छन् । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट यि किसानको समस्या बुझिदिनुपर्ने बताए ।

प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]