बैशाख २२, २०८१ शनिबार

पूर्वका दुई नाका एक सातादेखि ठप्प, सवारीलाई रि–रुट गर्न दबाब

शंकर अर्याल –

काठमाडौं । भारतको केन्द्र सरकार र प्रदेश सरकार बीचको असहमतिको मारमा सीमावर्ती नेपाली बजार परेको छ । भारतको केन्द्र सरकारको नीतिविपरित पश्चिम बङ्गाल सरकारले भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने सबै सवारी साधनलाई गत चैत २६ गतेदेखि बन्द गरिदिएको हो । त्यसको औपचारिक जानकारी भारतको केन्द्र सरकारलाई दिइएको छैन ।

पश्चिम बङ्गाल सरकारले नेपालतर्फ मात्रै नभएर बंगलादेश र भुटानका नाकाहरु पनि सिल गरेको छ । नेपालको सुतियापोखरी र पानीट्याङ्की भन्सार कार्यालयका साथै बंगलादेशतर्फको फूलबारी नाका र भुटानतर्फ जाने सबै नाका बन्द गरेको छ ।

मेची भन्सार कार्यालयमा प्रमुख ध्रुवराज विश्वकर्माले एक सातादेखि सो भन्सारबाट गाडी आउन नसकेको जानकारी दिए । ‘२६ गतेदेखि यो नाका भएर गाडी प्रवेश गर्न दिइएको छैन । त्योभन्दा अघि ग्यास बुलेट र तरकारीहरु दैनिक रुपमा आइरहेका थिए, अहिले ठप्प छ,’ विश्वकर्माले भने, ‘यो जानकारी हामीले भन्सार विभाग, भारतस्थित नेपाली दूतावास र भारत सरकारलाई समेत गराइसकेका छौँ ।’

भारतको केन्द्र सरकारले भने आहिलेसम्म यसबारे आफूलाई केही जानकारी नभएको भनेको छ । तर पश्चिम बंगाल सरकारले भन्सार सबै भन्सार कार्यालयलाई पत्र पठाएर कोरोनाभाइरस महामारीको अन्त्य नभएसम्म भन्सार सिल गर्न निर्देशन दिएको आफूहरुलाई जानकारीमा आएको समेत भन्सार प्रमुख विश्वकर्माले बताए ।

भन्सारमा आएका गाडीलाई रि–रुट गर्न दबाब

२६ गते भारतीय भन्सार कार्यालयले गाडी छोडेको थियो । त्योबेला नियमित रुपमा आउने गाडीहरु आएका थिए । भन्सार सिल भएपछि अहिले ती गाडीहरु आउन छाडेका छन् । तेस्रो मुलुकबाट कोलकत्ता हुँदै आएका गाडीहरु अहिले भन्सारमा रोकिएका छन् ।

भारतीय भन्सार अधिकारीहरुले ती गाडीहरुलाई रि–रुट गरेर जान दबाब दिइरहेको छ । ‘हाम्रो नाका कोरोना नसकिएसम्म खुल्दैन, यहाँ कुरेर नबस्नुस्, रिरुट गरेर जानुस् भनेर उहाँहरुलाई भनिएको रहेछ’, विश्वकर्माले भने, ‘हामी केन्द्र सरकारको पहलको प्रतिक्षामा छौं ।’

प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार  १२ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]