बैशाख २३, २०८१ आईतबार

के हो मुस्लिम समुदायको जमात ?

एजाज अहमद अन्सारी

केही दिनदेखि नेपालमा पनि देखासिकीमा विभिन्न अनलाइन पोर्टलहरूमा तब्लीग जमातसम्बन्धी अनर्गल समाचारहरू आइरहेका छन् । सामाजिक सञ्जालमा मिथ्या ढंगले विषयवस्तुलाई अन्यत्र मोड्ने गरी कुरा उठाइँदैछ । तसर्थ, यस लेख लेखमार्फत् यस सम्बन्धी केही भ्रम र अज्ञानताहरूलाई प्रष्ट्याउने प्रयास गरेको छु ।

तब्लीग जमातको संक्षिप्त इतिहास

सन १९२६ मा भारतको दिल्लीमा तत्कालीन प्रख्यात मौलाना इलियास कान्धल्वीले दिल्लीकै निजामुद्दीनमा आफ्नै निजी भवनलाई केन्द्र बनाई तब्लीगको काम गर्नका लागि तब्लीग जमातको सुरुवात गरे । चरम अशिक्षा र अन्धकारमा फसेको त्यो बेलाको समाजलाई इस्लामको बास्तविकताबाट अबगत गराउन त्यो अभियान निकै सफल साबित भयो । हरियाणाको मेवातीहरूमा यस अभियानले ठूलो परिवर्तन ल्यायो । मानिसहरूको जीवनशैलीमा परिवर्तन देखा पर्न थाल्यो । यसपछि तब्लीग जमातको अभियान सम्पूर्ण भारतको मुस्लिम समुदायमा निकै चर्चित हुँदै गयो । यसलाई मुस्लिम समाजले स्वीकार गर्दै गयो । सन् १९४७ मा भारत बिभाजन भएर पाकिस्तानको स्थापना भयो । नयाँ मुलुक पाकिस्तानमा तब्लीगको ब्यवस्थापनका लागि मौलाना इलियासले हाजी अब्दुल वहाबलाई पठाए । अब्दुल वहाबले पाकिस्तानमा तब्लीगको ब्यवस्थापन कार्यलाई आफ्नो जिम्मेवारीमा सञ्चालन गरे । पाकिस्तानमा यस कार्यलाई अझ बढी स्वीकार्यता प्राप्त भयो । तब्लीग यति हदसम्म प्रभावकारी भयो कि कुनै समयमा पाकिस्तानका सबै क्रिकेटरहरू तब्लीगमा जाने गरेको दृश्य सार्वजनिक हुन थाल्यो । तब्लीगको कार्य क्रमशः विश्वभरि फैलिंदै गयो । एक सय साठीभन्दा बढी मुलुकमा यसका ठूला ठूला कार्यक्रमहरू हुन थाले, मर्कज (केन्द्र) हरू स्थापना हुन थाले ।

प्रशिक्षण

तब्लीग जमातले पस्कने मूल विषय प्रशिक्षण हो । यसले इस्लाम धर्मका आधारभूत विषयहरूको सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिने गर्दछ । यसमा सहभागी हरेक व्यक्ति आफैंमा प्रशिक्षक र प्रशिक्षार्थीसमेत हुने गर्दछ । जमातले आफ्नो पाठ्यक्रम निर्धारण गरेको छ । यसको सेरोफेरोमा प्रशिक्षण हुने गर्दछ । यसले जमातमा लागेका व्यक्तिहरूको व्यक्तित्व विकास गरी अल्लाहसँग जोड्ने काम गर्दछ ।
‘फजाइले आमाल’ नामक पुस्तक जमातको मूल पाठ्यक्रम र पाठ्यपुस्तक हो । यस पुस्तकमा छ अध्याय छन् :

(१) ईमान – अल्लाह र उनका दूत मुहम्मद (सल्ल.) को शिक्षाप्रतिको आस्था ।
(२) नमाज – दिनको पाँच पटक गरिने प्रार्थना ।
(३) इल्म व जिक्र – इल्म (ज्ञान) प्राप्त गर्ने र जिक्र (ध्यान) गर्ने ।
(४) इकरामे खल्क – ‘खल्क’ अर्थात् अल्लाहले सृष्टि गरेका सम्पूर्ण चिज जस्तै– मानव, पशुपंक्षी, रुख बिरुवा, नदीनाला, पर्यावरण, ब्रह्माण्ड, प्रणाली आदि । ‘इकराम’ अर्थात् सम्मान । अर्थात् अल्लाहले सृष्टि गरेको प्रकृतिको उचित प्रयोग । जस्तै– पानी खेर न फाल्नू, जनावर यदि बाँधिएको छ भने समयमा खाना दिनू, छिमेकीले खायो– खाएन नबुझी आफू नखानू, यदि गरीबी र आर्थिक समस्याले छिमेकीले खान पाएन भने तिम्रो खाना तिम्रो लागि हराम हो ।
(५) इख्लासे नियत – नियतको पवित्रता अर्थात् कुनै पनि सामाजिक एवम् धार्मिक कार्य देखौवाको लागि होइन अल्लाहको प्रसन्नता प्राप्तिको लागि गर्नुपर्छ ।
(६) तब्लीग – तब्लीगको शाब्दिक अर्थ बयान गर्नु, उपदेश दिनु आदि हुन्छ । तब्लीग जमातमा मानिसहरू उपदेश लिन, ज्ञान प्राप्त गर्न वा आफूभन्दा जानेका ज्ञानी व्यक्तिबाट प्रशिक्षित हुन यात्रा गर्दछन् । अन्य मुस्लिम बस्तीहरूमा पुग्दछन् । मस्जिदहरूलाई गन्तव्य बनाउँदछन् । त्यहाँ इस्लाम धर्मका आधारभूत विषयहरूको व्यवहारिक र प्रयोगात्मक ज्ञान लिने र दिने गर्दछन् ।

यात्रा प्याकेज

तब्लीग जमातमा पुरुषहरू पाँच किसिमका यात्रा गर्दछन् । (क) तीन दिने (सेरोजा) (ख) १० दिने (असरा) (ग) ४० दिने (चिल्ला) (घ) चार महिने (तीन चिल्ला) (ङ) सात महिने विदेश यात्रा, र (छ) एक वर्षे (ओलमाको लागि मात्र) । महिलाहरूका लागि तीन दिने (सेरोजा), १० दिने (असरा) र ४० दिने (चिल्ला) यात्रा हुने गर्दछ ।

संगठनात्मक संरचना

तब्लीग जमातको एक केन्द्रीय नियन्त्रण निकाय हुने गर्दछ । यसलाई सुरा भनिन्छ । यसमा भारतका पाँच, पाकिस्तानका चार र बङ्लादेशका एक गरी दस जना सदस्य हुने चलन छ । तब्लीग जमातको अन्तर्राष्ट्रिय मर्कज (केन्द्र) भारतको नयाँ दिल्लीमा भए पनि यसको केन्द्रीय नियन्त्रण समिति (सुरा) को बैठक सदस्यहरूको सहजता र भारत–पाकिस्तानको राजनीतिक समस्याले गर्दा भारतको दिल्लीमा न बसी बर्सेनी हजयात्राको समयमा मक्काको मस्जिदुल हराममा बस्ने गर्दछ ।
नेपालमा यसका ६ वटा मर्कज (केन्द्र) छन् । यी मर्कजहरूले विभिन्न जिल्लाहरूमा जमातका कामहरूको व्यवस्थापन गर्ने गर्दछन् । नेपालका मर्कजहरू बिराटनगर (८ जिल्ला), बीरगञ्ज (८ जिल्ला), काठमाडौ (६ जिल्ला), पोखरा (२९ जिल्ला), भैरवा (६ जिल्ला) र नेपालगञ्ज (२० जिल्ला) मा छन् । यी मर्कजहरूले नियन्त्रण गर्ने जिल्लाहरूको संख्याहरू समय परिस्थिति अनुसार घटबढ हुने गर्दछ ।

नेपालका ८०५ मस्जिदहरूलाई तब्लीग जमातले आफ्नो गन्तव्य बनाएको छ । तिनमा निरन्तर यी मर्कजहरूबाट वितरित भएर जमातहरू पुग्ने गर्दछन् । यो काम वर्षैभरि जारी रहन्छ । मस्जिदहरूमा तब्लीग जमातहरू आउने जाने प्रक्रिया निरन्तर जारी रहन्छ ।

सम्मेलनहरू

तब्लीग जमातले इलाका, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नियमित इज्तेमा (भेला) गर्दछ । भखैरै फागुन ३–५ गतेसम्म नेपालमा जमातले सप्तरीमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रयास गर्यो । नेपाल सरकारले ब्यवस्थापनको समस्यालाई देखेर यसलाई राष्ट्रिय स्तरमा मात्र गर्न स्वीकृति दियो । यद्यपि भारतीय सहभागीहरूलाई सरकारले रोकेन । उक्त मिति र स्थानमा राष्ट्रिय स्तरको एउटा विशाल सम्मेलन सफलतापूर्वक सम्पन्न भयो ।

तब्लीग जमातप्रतिको भ्रम

तब्लीग जमातलाई मिसिनरी भन्नु वा धर्म प्रचारक भन्नु पूर्ण रूपले गलत हो । न यसले कुनै धर्म प्रचार गर्छ न यसले कसैलाई इस्लाम बनाउछ । यो त मुस्लिम सुमुदायलाई आचरण सिकाउने समूह मात्र हो । मुस्लिम समाजलाई ज्ञानी बनाउनु जमातीको मुख्य लक्ष्य हो । यस बाहेक यसको कुनै स्वार्थ छैन । यसलाई भ्रमित बनाएर आम मुस्लिम समुदायमा चोट पुर्याउन हुदैन ।

(लेखक – जामे मस्जिद मनुवारा , बिर्तामोड – १ का सचिव हुन् ।)

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]