बैशाख २३, २०८१ आईतबार

अब के हुन्छ ?

धर्मेन्द्र मामा

विद्यार्थीका लागि वर्ष भरीको कमाई भित्राउने बेला थियो । विद्यार्थीहरु अथक मेहनतका साथ वार्षिक परीक्षा दिँदै थिए । परीक्षा सकेर कोही आफ्नो मामाघर त कोही आफन्त कहाँ घुम्न जाने रमाइलो गर्ने भित्री योजनाहरु बुनिरहेका थिए । कसैलाई पहिलो दोस्रो हुने र अरुका अगाडि अब्बल विद्यार्थी भएको देखाउने प्रतिस्पर्धा थियो । देशमा एक प्रकारको कालो बादल मडारिरहेको आभास हुन्थ्यो । देशमा मात्रै नभएर विश्वभरी नै कोरोना भाइरसको महामारी फैलिरहेको थियो । दिनहुँ यति मरे उति मरे यति संक्रमित भए भनेर सञ्चार माध्यमहरुले फुकिरहेका थिए ।

यतिकैमा सरकारले फागुन २८ गते बाट परीक्षा सुरु गरी चैत्र छ गते भित्रमा सक्नु भनेर उर्दी जारी गरियो । विद्यालयमा पढाइ अन्तिम अन्तिम तिर पूगेको मात्र के थियो हतारहतार परीक्षा सञ्चालन हुन थाल्यो । परीक्षा सक्नु पाइन्छ कि पाइदैन भन्ने आशंका बीचमा रुमलिएको परिस्थितिबीच पनि विद्यार्थीहरु परीक्षामा होमिएका थिए । कतिपय स्कूलहरूले समयमा नै परीक्षा सञ्चालन गरे भने कतिले केही ढिला गरी सुरु गरे । केहीले त परीक्षा सुरु नै गरेका थिएनन् । उनीहरुले सरकारी सूचनालाई बेवास्ता गरिरहेका थिए ।

सरकारले चैत्र ५ गते बेलुका ६ गतेदेखि सम्पूर्ण विद्यालय कलेजहरु बन्द रहने र कुनै पनि परीक्षा नहुने जानकारी गरायो । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा एसईई दिन तयार रहेका विद्यार्थीहरु जो परीक्षा केन्द्रसम्म पुगिसकेका थिए । उनीहरु निराश भएर घर फर्के । अब के हुन्छ ? सबैको मनमा यही कुरा उठिरहेको थियो । विद्यार्थी बालबालिकाहरूको सपनाहरु चक्नाचुर भए । कसैको परीक्षा सकिएको थियो । कसैको एक दुई विषय बाँकी रहेको थियो भने कसैको सुरु नै भएको थिएन । यसले बाल मनोविज्ञानमा ठूलो आघात पुग्न गयो । फेरि प्रश्न उही अब के हुन्छ ? परीक्षा सकेकाहरु रिजल्ट कहिले आउँछ भनेर कुरेको महिना दिन बिति सक्यो । नयाँ शैक्षिक सत्र शुरु भएको पनि दशौं दिन भइसक्यो । नयाँ लुगा लगाई नयाँ झोलामा किताब बोकेर नयाँ कक्षामा पढ्न जाने र साथीहरूसँग रमाउने नयाँ सर मेडमहरुसँग रमाउने उमंग बोकेका साना नानीहरु अहिले घरको एउटा कोठामा कोचिएर बस्नुपर्दा जीवनकै नरमाईलो क्षणको अनुभव गरिरहेका छन् ।
बजारहरु बन्द छन् । पसलका सटरहरु खिया लागिसके ।

विद्यालयका गेटहरुमा तालाचाबी लागेका छन् । नानीहरूलाई बोक्ने ती पहेँला गाडीहरु अब स्टार्ट नै नहुने अवस्थामा पुगेका छन् । बजार गएर झोला किताब कपीहरुको जोहो गर्ने बेलामा यो अवस्था आइपरेको छ । यसबेलामा बजारमा किताब किन्ने झोला किन्ने हरूको घुईंचो हुन्थ्यो । आफ्ना अभिभावकहरुलाई नानीबाबु हरूको किताब कपी जोहो गर्न कति धौधौ पथ्र्यो । तर अहिले हाइसञ्चो भएको छ चिन्ता छ मनमा । अब के हुन्छ ?

अझै अनिश्चित छ सबै कुरा । परीक्षाको रिजल्ट आएको छैन । लकडाउनको अवधि बढ्दैछ । दसैंअघि स्कूल कलेज नखुल्ने हल्लाले झन् मानसिक दबाब पर्न थालेको छ । घरघरमा अब घरेलु हिंसा बढ्ने आशंका बढ्न थालेको छ ।बालबालिकाहरुमा अनावश्यक दबाब पर्न थालेको छ । अझ कतिपय अभिभावकहरुले बाबु नानीहरूलाई पटक–पटक पढ्न मात्र दबाब दिँदा मानसिक दिक्दारी पैदा भएको छ । यस्तो हुँदा बालबालिकाहरू रिसाउने कराउनेसँगै बस्न नरुचाउने झगडालु बन्ने एकान्त प्रेमी बन्ने जस्ता नकारात्मक असरहरुले बालबालिकाहरू ग्रसित बन्न थालेका छन् । बालबालिकाहरूको मनोविज्ञान बुझ्न नसक्ने अभिभावकहरूलाई त झनै समस्या परेको छ । यस्ता समस्याको उचित व्यवस्थापन गर्न नसक्दा दीर्घकालीन असरहरु देखा पर्न सक्छन् । त्यसैले यस्तो अवस्थामा बालबालिकाहरुसँग निरन्तर असल सम्बन्ध र सम्पर्क बनाइराख्नु पर्दछ । यसका लागि समय तालिका बनाई उनीहरुलाई ब्यस्त बनाउने कोशिस गर्नुपर्दछ । समय तालिका बनाउँदा रुचिलाई प्राथमिकता दिनुपर्दछ । त्यसो गरेमा बालबालिकाहरुले आफूलाई दबाब परेको महसुस गर्ने छैनन् अनि बीचबीचमा आफ्ना कुराहरु पनि समावेश गर्नुपर्छ ।

जस्तै यो गरिसकेपछि यसो गर्नुपर्छ ल भनेर सम्झाउनुपर्छ । उनीहरुलाई सानातिना तर अत्यन्त महत्वपूर्ण कुरा सिकाउनु पर्छ जस्तै टाँक लगाउनु , फाटेको कपडा सिउन , चित्र कोर्न , रङ्ग भर्न , कविता वाचन गर्न , बढार्न कपडा पट्याउन , गोडमेल गर्न , सफाअक्षरमा लेख्न आदि आदि ।
नानी बाबुहरू तिमीहरुले यो एउटा संकट पूर्ण तर महत्वपूर्ण समयको अनुभव गर्ने अवसर पाएका छौ । इतिहासमा यस्ता धेरै किसिमका संकटहरु आएका थिए । आफ्ना हजुरबुवा हजुरआमा लाई सोधी हेर त त्यस्तो बेला उहाँहरुले के गर्नुभयो कसो गर्नुभयो कसरी गर्नुभयो भन्ने कुरा थाहा पाउनेछौं ।

अनि अब फेरि स्कुल सुरु हुनेछ । नयाँ लुगा नयाँ किताब नयाँ साथीसँग रमाइलो गर्न त फेरि पाइहालिन्छ नि । तिमीहरूको रिजल्ट पनि आउँछ । स्कुल पनि खुल्छन् , साथीभाइसँग भेटघाट हुन्छ । स्कुल आउँदा तिमीहरुसँग कुराहरु सुनाउन कोसेली लिएर आउनु है । यो लकडाउनको बेला गरेका भोगेका अनुभवहरुलाई साथीहरुसँग सरहरुसँग सुनाउनु पर्छ नि । म पनि मैले अनुभव गरेका कुरा तिमीहरूलई सुनाउने छु । अब त्यो दिन आउन धेरै बाँकी छैन । चाँडै कोरोना भगाएर हामी सबै स्कुलमा भेला हुनेछौं र रमाउने छौं । त्यसबेलासम्म घरमै बसेर बेलाबेलामा साबुनपानीले हात धुन नबिर्सनु है ।

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  १ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]