बैशाख २३, २०८१ आईतबार

लकडाउनभित्रको चलखेलले ओलीलाई वाध्य बनायो अध्यादेश जारी गर्न

काठमाडौं । सोमबार साँझ बोलाइएको नेकपा सचिवालय बैठकमा सबैभन्दा पहिले पुगेका थिए नेकपाका प्रभावशाली नेता बामदेव गौतम । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही बेर कानेखुसी समेत गरेको बुझिएको छ ।

कोरोना महामारी र लकडाउनले सिर्जना गरेको संकटको मौका छोपेर मुलुकलाई अस्थिर बनाउने दाउपेच असफल भएको छ । राजनीतिक दल सम्बन्धी कानुन संशोधन गर्न अध्यादेश जारी भएसँगै राजनीतिक अस्थिरताको सम्भावना तत्कालका लागि टरेको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी र कांग्रेस समावेश सर्वदलीय सरकार बनाउने प्रयास थालेका थिए । यही कुरा बुझेर प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरुलाई विभाजित गर्ने गरी दल सम्बन्धी कानुन अध्यादेशबाट संशोधन गराएको बुझिन्छ ।

नेकपाका एक उच्च नेताका अनुसार प्रचण्डले मधेसवादी दलहरुलाई अगाडि सारेर नेकपाभित्र दवाब सिर्जना गर्न खोजेका थिए । क्वारेन्टाइन र सेल्फ आइशोलेसनमा बसेको बाहिर देखाएर भित्र चाहिँ प्रचण्डले भित्रभित्रै सरकार ढाल्ने तथा नेकपालाई नै भताभुंग बनाउने प्रपञ्च गरेको आरोप नेकपाका कतिपय नेताहरुले लगाएका छन् ।

स्रोत अनुसार प्रचण्डले लकडाउन भित्र बसेर गरिरहेको चलखेलबाट नेकपाका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम पनि शशंकित भइसकेका थिए । सेल्फ क्वारेन्टाइनमा बसेको छु भनेर कुनै राजनीतिक गतिविधि नगरेजस्तो देखाउने तर कांग्रेस र मधेसवादीसँग मोर्चा कस्ने काम प्रचण्डले गरिरहेका थिए ।

नेकपाभित्र आफ्नो बहुमत कुनै हालतमा नपुग्ने देखेपछि प्रचण्डले कांग्रेस र मधेसवादीको साथ लिएको माधव, झलनाथ र बामदेवहरुको पनि बुझाई रहेको छ । स्रोत अनुसार प्रचण्डले पार्टीको घेरा बाहिर गएर राजनीतिक चलखेल गर्न थालेपछि पूर्व माओवादीका कतिपय नेताहरु पनि शशंकित बनेका थिए । उनीहरुले प्रचण्डलाई यस्तो बेला विपक्षी कित्तासँग मिलेर पार्टीभित्र ब्ल्याकमेलिङको राजनीति गर्नु आत्मघाती हुने सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले माधव, झलनाथ र बामदेवहरुसँग सल्लाह गरेर अध्यादेश ल्याएका हुन् कि होइनन् भन्ने प्रष्ट भइसकेको छैन । तर, उनीहरु बाहिर जुन रुपमा प्रस्तुत भए पनि यो अध्यादेश ल्याएर प्रचण्डले पार्टीको घेरा बाहिर गएर गर्न थालेको चलखेल बन्द गरेकोमा भने खुसी छन् ।

यो अध्यादेश प्रकरणका कारण उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुट्ने निश्चित प्राय भएको छ । फुट्ने पक्षले दल दर्ता गर्नासाथ उनीहरुलाई सरकारमा सामेल गरिने बुझिन्छ । ‘नयाँ दल दर्ता गरेर सरकारमा जान १५ दिन जति लाग्छ होला तर यस बीचमा हामी फुट्ने पक्षलाई ४० प्रतिशत पुराउन दिँदैनौं’– उपेन्द्र यादव निकट एक नेताले सनराइज खबरलाई बताए ।

जानकारहरुका अनुसार उपेन्द्रको पार्टीमा बाबुराम भट्टराई मिसिएपछि त्यहाँभित्र निसास्निे बातावरण बनेको थियो । उपेन्द्रको शासनमाथि बाबुरामको पनि शासन थपिएपछि समाजवादीमा कतिपय सांसद्हरुलाई बसिनसक्नु भएको थियो ।। यो कारण पनि समाजवादी पार्टी फुट्न आधार तयार भएको बताइन्छ ।

मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्ने निर्णय गरेपछि उर्जा मन्त्री वर्षमान आक्रोशित भएको बताइन्छ । उनले मन्त्रिपरिषद् बैठकमा आफ्नो असन्तुष्टि खासै राखेनन् तर त्यसपछि भने उनी एक विशेष पात्रलाई भेट्न गएको स्रोतको भनाई छ । विशेष भेटघाट सकेर उनी उर्जा मन्त्रालयमा फर्किएको र मन्त्रालयमै पूर्व माओवादीको चारजना मन्त्रीलाई राखेर छलफल गरेको, सो छलफल सकेपछि प्रचण्डलाई भेट्न खुमलटार पुगेको स्रोतको भनाई छ । वर्षमानको रिपोर्टिङ सुनेर बसेका कारण सचिवालयको बैठकमा प्रचण्ड केही ढिला पुगेको बुझिन्छ ।

अब राजनीतिक खेल सीधा रेखामै अगाडि बढ्यो, बाह्य चलखेल भएन भने वर्तमान सरकारले कोरोना भाइरसको महामारीसँग जुझ्न दुई तिहाईको समर्थन पाउनेछ ।

आफ्नो पार्टीको सरकारले दुई तिहाईको समर्थन पाउने, सरकार झन् बलियो हुने अवस्था आएपछि प्रचण्डको अबको कदम कस्तो हुन्छ भन्ने आँकलन गर्न सकिएको छैन ।

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]