बैशाख २०, २०८१ बिहीबार

खाद्यान्नमा मूल्य वृद्धि , उपभोक्ताको गुनासो

– सञ्चिता घिमिरे

झापा । लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ । बजारमा चामलको मूल्य प्रतिकिलो रु चार/पाँच, तेलको रु १५ देखि २५, मैदा रु तीन/चारसम्म बढेको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत बताउँछन् । बजारमा खाद्यान्नको भाउ बढ्नुको कारण खुद्रा व्यापारी थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् ।

लकडाउन समयमा उपभोक्ता मूल्यमात्रै नभएर गुणस्तर र नापतौलमा ठगिएको उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । यो समयमा बजारमा खाद्यान्न कम आएको भन्दै म्याद सकिएका सामानसमेत बिक्री हुनसक्ने भएकाले सरकार चनाखो हुनुपर्ने उनले बताए । सरकारले खाद्यान्नको आपूर्तिमा कुनै रोकावट नहुने भने पनि विभिन्न स्थानमा पानी, दूधलगायत खाद्यान्न बोक्ने गाडी नै रोकेको पनि उनले बताए । कतिपय स्थानमा स्थानीयवासीले अन्यत्रका मानिस आउन नपाउँन् भनी बाँस राख्ने त कतै पुल रोक्ने काम गरेका छन् । उनले भने, ‘यसले गर्दा पनि खाद्यान्नको आयातमा नै समस्या आइरहेको छ ।’

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि सरकारले गरेको लकडाउनमा पनि सरकारले बजारको नियमित अनुमगन गर्नुपर्ने उनको भनाइ छ । केन्द्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा प्रदेश सरकार र स्थानीय सरकारले अनुगमन गर्नुपर्ने भए पनि त्यो नभएको उनको भनाइ छ । सरकारकै एउटा मन्त्रालय र अर्को मन्त्रालय र तीन तहबीच आपसी समन्वयमा मात्रै बजार नियमित अनुगमन र गल्ती भएमा कारवाही हुनसक्ने उनले बताए । उनले भने, ‘अहिले पनि गृह मन्त्रालयले यी–यी गाडी चल्न पाउने भनी अनुमति दिएकामा स्थानीय सरकारले रोकेको पाइएको छ ।’

खाद्यान्नको पसल खुल्ने समय एउटै नहुँदा उपभोक्तामा अन्योल देखिएको छ । एउटै पालिकाभित्र पनि कुनै वडाले बिहान ६ देखि ८ र अर्को वडाले ६ देखि ९ सम्म खोलेको पाइन्छ । कतिपय स्थानमा बिहान मात्रै बजार खोल्ने गरेको त कतिपय स्थानमा बिहान र बेलुका दुवै समयमा खोलेको पाइएको उनले बताए । बिहान एउटा समयमा र थोरै समयका लागि मात्रै पसल खोलिएका स्थानमा उपभोक्ताको भीडभाड बढी पाइएको उनले बताए । उपभोक्तालाई दुई घण्टा भित्रैमा दूध, तरकारी, दाल, चामल किन्नुपर्दा एकातिर भ्याइनभ्याइ हुने गरेको छ भने अर्कातिर बजारमा पनि भीडभाड भएको पाइन्छ । तरकारी र फलफूललगायत छिटो बिग्रने कुरा बेच्न नपाउँदा पसलमै बिग्रिएको व्यापारीले गुनासो गरेका छन् । बिहान साँझ नै तीन–तीन घण्टाका लागि बजार खोल्दा भीड कम हुने उहाँले बताए । उनले भने, ‘यसले गर्दा उपभोक्ता र व्यापारी दुवैका लागि सजिलो हुन्थ्यो ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपकराज पोखरेलले खाद्यान्नको मूल्य केही बढे पनि तरकारी र फलफूलको मूल्य कम भइरहेको बताए । अहिले ढुवानीको खर्च बढेकाले दाल, चामल र तेलको मूल्य लकडाउन पहिलेभन्दा अहिले बढेको हुनसक्ने उनले बताए । अझै पनि व्यापारीले तेकिएको मूल्य सूचीभन्दा बढी नलिएको उनको भनाइ छ । पहिले तेल, चामललगायत खाद्यान्न मूल्य सूचीभन्दा कममा बिक्री गर्ने गरेकाले पनि उपभोक्तालाई मूल्य बढेको लाग्ने उनले बताए । उनले भने, ‘पहिले पहिले तेलको प्याकेटमै रु १८० लेखिएको भए पनि रु १४० मा दिने तर अहिले उद्योगबाटै बढेकाले रु १७० सम्म लिएको पाइएको छ ।’

विभागले दैनिक विभिन्न स्थानमा अनुगमन गरेर कुनै गल्ती पाइएमा कारवाही गरिरहेको निर्देशक पोखरेलले बताए । विभागले लकडाउनकै अवधिमा तोकिएभन्दा बढी मूल्यमा मासु बिक्री गरेको भन्दै पाँच मासु पसललाई कारवाही गरिएको छ । त्यस्तै, किराना पसलले पनि तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएका स्थानमा कारवाही भइरहेको उनले बताए । विभागले उपभोक्ताको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरेको छ । जसमा सबैभन्दा बढी राहतसम्बन्धी गुनासो आइरहेको छ । उनले भने, ‘त्यससँगै खाद्यान्नको पनि मूल्य पहिलेभन्दा बढेको गुनासो आइरहेको छ ।’

लकडाउनको एक महिना बित्दा बजारमा अहिले तरकारी र फलफूलको मूल्य भने ह्वात्तै घटेको छ । लकडाउनको एक साता पहिलेदेखि नै तरकारी र फलफूलको भाउ बढिरहेको थियो । लकडाउनको एक सातापछि बजारमा गोलभेडा प्रतिकिलो १३० सम्ममा बिक्री हुन थाल्यो । अहिले कागतीबाहेक अधिकांश तरकारीको मूल्य कम भएको छ । लकडाउनसँगै काठमाडौँ उपत्यकाका काँठ क्षेत्र र उपत्यका नजिककै जिल्लाबाट तरकारी ढुवानी हुन नसक्दा उपत्यकामा भाउ बढेको थियो । अहिले किसानले खेतबारीमा उसै खेर जानुभन्दा सस्तो मूल्यमा बिक्री गरेको अध्यक्ष तिमल्सिनाले बताए । उनले भने, ‘अहिले गोलभेडा किलोको रु ३०/३५ छ भने अरु तरकारी पनि घटेको छ ।’

प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]