जेष्ठ ७, २०८१ सोमबार

अर्जुनधारामा दाजुभाईको कृषिक्रान्ति

झापा बुद्धशान्तिका प्रशुन तिम्सिना, इलाम सुर्याेदयका गोपाल खतिवडा र ताप्लेजुङ फक्तालुङका गोपी पौडेल अर्जुनधारा ५ कञ्चनवारीमा कृषि क्रान्तिको युद्ध मैदानमा छन् ।
नौजवान तिन युवा प्रशुन, गोपाल र गोपी मेची क्याम्पसमा सँगै अध्ययन गरेका साथी हुन् । विविएस र विएससी अध्ययन पुरा गरेका उनीहरु अहिले दाजुभाई कृषि फर्म सञ्चालन गरिरहेका छन् । सँगै अध्ययन गरेका साथी साथी मिलेर ८ विगा भन्दा बढि जग्गा भाडामा लिएका छन् । जहाँ ठुला गाई, केरा खेती, कुखुरा पालनसँगै मकै, धान, तोरी खेती गरिरहेका छन् । त्यहि उनीहरुले कुरीलो पनि उत्पादन गरिरहेका छन् ।


पढाउँदा बन्यो योजना
हाल कृषि फर्म रहेको सो जग्गामा उखु वारी थियो । दुई वर्ष अघिको कुरा हो । अध्ययनसँगै शिक्षण गरिरहेका उनीहरुले कृषि क्षेत्रमा काम गर्ने योजना बनाए । प्रशुन एकाउन्ट टिचर थिए । उनले शिक्षण कै क्रममा व्यापारको विषय पढाउदै गर्दा कृषिमा काम गर्ने सोच बनाए । साथीहरुलाई कृषिमा काम गर्ने योजना बारे सुनाए ।

११ जना साथीहरुलाई सुनाएपछि सबैले काम गरौ भने र योजना बनाए । काम थाल्ने समयसम्म २ जना मात्र रहे । वाँकीले काम नगर्ने मनस्थिति देखाए । अन्तिमसम्म प्रशुन र गोपालको मत मात्र काम गरेरै छोड्ने ठाउँमा पुग्यो । पछि गोपी पनि जोडिए । तिन जना जो अहिले कृषिमा आफ्नो सपना पुरा गरिरहेका छन् ।


शुरुमा दुई गाई
२०७३ सालदेखि काम शुरु गरे । कृषिमा भविष्य देखेका युवाले अन्ततः विशाल कृषि फर्म सञ्चालन गरिरहेका छन् । शुरुआतमा साथीभाई छुटेपछि लगानीको समस्या भएको थियो । त्यै पनि ऋणपानको सहारामा थालेको कामले विस्तारै उपार्जन थालेको तिम्सिनाको भनाई छ । शुरुमा मकै, तोरी लगाएर भएपनि जमिनको उपभोग गर्ने तयारी भयो । त्यसबाट आम्दानी हुन थालेपछि हौसला पाएका युवा कृषक आजसम्म आइपुग्दा नमूना कृषक बनिसकेका छन् । दुई वटा लोकल जातको गाई शुरुमा खरिद गरेको अर्का कृषक गोपालको भनाई छ । २ थान गाईबाट शुरु गरिएको दाजुभाई फर्म मज्जाले हुर्किसकेको छ ।


लगत्तै होलिस्टेन जातको ४ वटा गाई उनहरुले फर्ममा ल्याए । दुध बेच्न थाले । अहिले १२ वटा राम्रो जातका गाई छन् । त्यसमा ११ वटा दुहुना छन् । गाईले दिने दुध एनएमसी डेरीले खरिद गरिरहेको छ । अहिलेसम्म बढिमा १ सय २० लिटरसम्म दैनिक दुध विक्रि गरेका उनीहरुले हाल ७० लिटर दुध विक्रि गरिरहेका छन् । ४ वटा गाई सुत्केरी हुने तयारीमा रहेका छन् । पहिलो चरणमा ग्वालाले दुध लैजान्थे । अहिले ठुला डेरी उधोगले दुध उठाइरहेका छन् ।

मेहनत र उर्जाले भरिएका युवा किसानले गत वर्ष २ विगाह क्षेत्रमा तोरी लगाएका थिए । पर्याप्त जमिन लिएका उनीहरु प्रायः जमिन बाँझो राख्दैनन् । ३२ मन तोरी उब्जाए । त्यो तोरी पेलाउँदा १६० लिटर शुद्ध तोरीको तेल उत्पादन भएको गोपालको भनाई छ । यो वर्ष १ विगाहमा लगाएका थिए । १०÷१२ मन तोरी फलेको थियो ।


केरा,धान र मकै
दाजुभाई कृषि फर्ममा केराको १ हजार बोट छन् । १० कठा क्षेत्रमा केरा बगान छ । हरियो, जाजी, व्हीलशन जातका केरा लगाएका छन् । ९ महिना अघि रोपिएको केरामा ४ सय घरी केरा झुण्डिसकेको छ । निजगढबाट विरुवा आयात गरेर केरा वगान लगाएका हुन् ।


कृषि फर्म सञ्चालन गरिरहेका उनीहरुले गाई मात्र पालेका छैनन् । त्यहाँ हरेक वर्ष विभिन्न जातको धान समेत उत्पादन गरिरहेका छन् । रञ्जित,वासमती, जिरा मसिनो धान लगाएर पनि राम्रो आम्दानी गरिरहेको उनीहरुको भनाई छ । ३ विगाहमा धान रोपेर करिव ३ सय मन धान पनि विक्रि गर्छन् । जमिनको उच्चतम प्रयोग गर्ने रणनीति अनुसार यहाँ उत्पादन संभव भएसम्म सबै बाली लगाउने गर्छन् । सँगसँगै २÷३ विगाहमा मकै फलाइरहेको अर्का युवा किसान गोपीको भनाई छ ।


उन्नत काक्रा
कृषिमा विशाल सपना देखेका युवाहरुले कामको थालनीमा धेरै किसिमको चुनौती व्यहोर्नु परो । त्यहि पनि काममा ढिट देखाएका प्रशुन र गोपालले अहिले गोपीलाई पनि साथमा ल्याएका छन् । शुरुआत निकै कष्ट विताएको बताउँछन् । शुरुआतमा उनीहरुलले फर्सी पनि रोपे । त्यसको मुन्टा बजारसम्म पर्याइयो । पहिलो वर्ष सयपत्री फुल पनि लगाएका थिए ।

तरकारी वारी पनि लगाए । तर, तरकारीमा विषादी प्रयोग गर्नुपर्नेबाध्यताले यतिवेला तरकारी वारीलाई प्राथमिकतामा राखिएको छैन । दाजुभाई कृषि फर्ममा यतिवेला काक्रा ठुलो परिमाणमा रोपिएको छ । चाँदनी, राजा र साइनिङ टु नामक काक्राको विरुवा १० कठठामा लगाइएको छ । २विगाहमा काक्रा विस्तार गर्ने योजना रहेको प्रशुनले सुनाए ।


दुई महिनाअघि देखि लोकल कुखुरा पनि पालिरहेका छन् । १२ सय लोकल कुखुरा एकातिर हुर्किरहेका छन् भने अर्कातिर कालो जातको चल्ला पनि हुर्किरहेको पाइएको छ । अण्डा कालो, मासु कालो कालो चल्लाको विशेषता हो ।

स्वदेशकै कच्चा
कृषिमा राज्य पक्षको बुझाई बदलिदै गएको उनीहरुको भनाई छ । प्रशुन भन्छन्, कृषिलाई हेर्ने नजर बदलिएको छ । यहाँ कृषिका लागि कच्चा पदार्थ बाहिर देशबाट ल्याउनु नपर्ने प्रशुनको दावी छ । एउटा यस्तो उधोग हो , कृृषि जसको कच्चा पदार्थ स्वदेश मै छ । अर्जुनधारा नगरपालिकाले पानी तान्ने मेसिन उपलब्ध गराएको छ ।

धान काट्ने मेसिन, पावर टिलर ५० प्रतिशत अनुदानमा नगरपालिकाले दिएको छ । नगरको सहयोग र मेयर हरि कुमार रानाको प्रेरणाले कृषिको क्षेत्रमा निरन्तर लाग्न उत्साह मिलेको युवा किसानको भनाई छ । उनीहरुको लगनशिलता र कृषिमा देखेको सजना पुरा गर्न प्रधानमन्त्री कृषि परियोजनाले २ लाख ८२ हजार अनुदान दियो । तर, उनीहरुका अनुसार राज्य पक्षले किसानलाई अनुदान भन्दा पनि सस्तो व्याजमा विना झण्झट ऋण उपलब्ध गराउनु पर्छ ।


कृषिमा उज्यालो भविष्य
दुई वर्षदेखि कृषिमा जमेका तिन युवा बेरोजगार युवाहरुका लागि प्रेरणा हुन् । स्वदेश मै स्वरोजगार बन्न सकिन्छ भन्ने दरिलो उदाहरण हुन् , तिम्सिना, खतिवडा र पौडेल । अहिले वेरोजगारको संख्या बढ्दै गइरहेको बताइन्छ । राज्य पक्षले बेरोजगारको लगत समेत संकलन गरिरहेको छ ।

काम गर्ने इच्छा शक्ति हुनेहरु मुलुकमा कोहि पनि बेरोजगार नबन्ने युवा कृषकको बुझाई छ । आफ्नो लागि आफै गर्नुपर्छ । अर्काकोमा पसिना बगाउनु भन्दा आफ्नैमा पसिना बगाउँदा दिर्घकालिन उधमी बन्न सकिन्छ, प्रशुन भन्छन् । आफ्नो भविष्य आफैले निर्धारण गर्ने हो भन्दै उनीहरुले आम युवालाई वेलैमा सचेत हुनुपर्ने बताएका छन् ।


अर्काकोमा काम गर्दा नसक्ने भएपछि छोड्नु पर्छ । मेहनत अनुसार पारिश्रमिक पनि पाइदैन । सरकारी जागिर पनि उस्तै हो, एउटा उमेर हद सकिएपछि जागिर छोड्नु पर्छ । प्रशुनका अनुसार कृषिमा मेहनत गर्ने हो भने भविष्य उज्यालो छ । उनीहरुको योजना दाम मात्र होइन । कृषिमा नाम र दाम दुवै कमाउने योजनामा छन् । जहाँ रहने भन्दा पनि कृषि प्रधान देशमा कृषि मै परिवर्तन ल्याउने उनीहरुको संकल्प छ ।


विकल्प खाडीको बालुवामा होइन, स्वदेशकै माटोमा रोजौं । नारामा उनीहरुको दाजुभाई कृषि फर्म दर्ता छ । तिनै जना अविवाहित हुन् । आफ्नो आफ्नो कामको जिम्मेवारी बाँढिएको छ । सबै काममा तिनै जनाको सहभागिता छ । ४ जना , उनीहरु बाहेकले त्यहाँ रोजगारी पाएका छन् । काम धेरै भएको समयमा बाहिरबाट कामदार ल्याउने गरिएको छ ।

योजना
अहिलेसम्मको काममा उनीहरुले चित्त बुझाएका छन् । तर, उनीहरुको लागि यति मात्र पर्याप्त होइन । कृषिमा धेरै योजना बुनेका छन् । दैनिक १ हजार लिटर उत्पादन गर्ने योजना बनाएका छन् । १०० गाई पाल्ने, प्राङ्गारिक मल उत्पादन गर्ने, दैनिक च्याउ उत्पादन गर्ने, लोकल कुखराको चल्ला उत्पादन गर्ने, अर्गानिक तरकारी दैनिक उत्पादन गर्ने गरीको योजना रहेको सञ्चालक प्रशुनले जानकारी दिए । बजार खुल्ला प्रतिस्पर्धा गर्ने ठाउँ हो, उनले भने गुणस्तर उत्पालनले राम्रो मुल्य पाउनेछ । बजारको अभाव छैन । आफ्नै फर्मको दुध उनीहरुले ४२ रुपैयाँदेखि ६२ रुपैयाँसम्म प्रति लिटर विक्रि गरेका छन् ।


नौ वर्षका लागि जग्गा भाडामा छ । प्रति विगाह ५५ हजार वार्षिक रुपैयाँ बुझाउछन् । उनीहरुको लगनशिलतालाई सबैले प्रशंसा गरिरहेका छन् । सँगै प्रशुनका छिमेकी रत्न बहादुर राय छन् । उनको आफ्नै जिम्मेवारी छ । गोठ सफा गर्ने देखि दुध पर्याउनेसम्म । अर्का बनहु चौधरी पनि त्यहाँ मजदुरी गर्छन् । बारीको रेखदेख उनको पहिलो जिम्मेवारी छ ।


प्रशुन सरकारी जागिरेका छोरा हुन् । शिक्षित परिवारका उनलाई परिवारको पनि उत्तिकै बलियो साथ छ । विविएस अध्ययन गरेका उनले शिक्षण गर्ने वा व्यापार गर्ने सोच बनाएका थिए । व्यापारमा पनि कृषि उनको रोजाईमा पर्यो । उनलाई फर्मको बाहिरी कामको जिम्मेवारी छ ।


यस्तै, अर्का सञ्चालक गोपाल खतिवडा सरकारी जागिरे बन्ने होडमा थिए । उनलाई प्रशुनको कृषि योजना मन परयो । र, उनी पनि त्यहि जोडिए । उनी फर्मको आन्तरिक काम हेर्ने गर्छन् । अहिलेसम्म ३५ लाख भन्दा बढि लगानी गरिसकेका छन् । ५ लाखबाट शुरु गरेका उनीहरुले आम्दानीलाई लगानीमा रुपान्तरण गरिरहेका छन् ।

प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]