बैशाख २६, २०८१ बुधबार

कस्तो पार्टी, कस्तो सरकार चाहेको कमरेड ?

प्रदीप परियार –

विश्व कोरोनाले विक्षिप्त भएको बेला नेपालमा राजनीतिक दाउपेज चलिरहेको छ । खास गरी सत्तारुढ पार्टी नेपाल कम्यूनिष्ट पार्टीभित्रै चलिरहेको अराजनीतिक गतिविधिले पार्टी कार्यकर्ता र शुभचिन्तक अहिले निराश बनेका छन् । सबैको चहाना पार्टी एकता मजबुद होस भन्ने छ । भावनात्मक रुपमा एकता नभएको नेकपामा केहि दिन देखिको उतारचडावले जस्तोसुकै परिणाम आउन सक्ने अनुमान लगाउन सकिन्छ ।


अहिलेसम्मको तयारी हेर्दा पार्टीका अध्यक्ष प्रचण्ड र नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल प्रधानमन्त्रीलाई कुनै पनि मानेमा हटाउने अभियान चलाइरहेका छन् । सन्तोषजनक काम गरेको नेकपाको सरकारमा अहिले नै कसैले छिर्के हान्ला भन्ने सोचिएको थिएन । तर, बकुल्लाहरु हरपल माछाको पर्खाइमा हुन्छन् । पार्टीभित्रका बकुल्लामा पनि त्यहि प्रबृत्ति ज्यूँदो रहेछ । सरकार कहाँ चुक्यो ? पार्टीलाई कहाँ हानी पुग्यो ? अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीबाट । वा , कुनै हानी नोक्सानी नभएकाले हो यो चलखेल गरेको ? यदि सरकारमाथि कुनै दुर्घटना आइपर्यो भने त्यसपछिको जिम्मा कसले लिन्छ ?

एमाले र माआवादी विचको एकता दुवै अध्यक्ष केपी ओली र प्रचण्डकै कारण भएको हो । त्यसलाई आम पार्टी सदस्यले अनुमोदन पनि गरे । लामो इतिहास बोकेको पार्टीमा एकता संभव थिएन । तर, पनि असंभवलाई संभव बनाउने दुवै नेता आज किन एकअर्कामा यस परिस्थितिको सामना गर्दैछन् ? सरकारले ल्याएको अध्यादेशले पार्टीलाई के नोक्सान पुगेको थियो ? जे होस सबैको सल्लाहमै फिर्ता पनि भैसक्यो ।

अहिलेको समस्याको जड अध्यादेश पक्कै होइन । सत्तारुढ बाहेकका पार्टीले सरकारमाथि आरोप लगाउनु स्वभाविक छ । तर, नेकपाभित्रै भ्रष्टाचारको मुद्दा उठाउनु पंगु कुरा हो । भ्रष्टाचार प्रमाणित भए निजले कारवाही भोग्नैपर्छ । त्यसको सजाय प्रधानमन्त्री पाउने हो र ? ओली विरुद्धको सबै खेल सत्ता स्वार्थकै लागि हो । स्वार्थमा लाग्नेहरुलाई समयले जाँच गरिसकेको छ । नेपाली जनता अब फेरि प्रचण्ड, माधव कुमार नेपाल र झलनाथलाई प्रधानमन्त्री स्वीकार्न तयार छैनन् । उनीहरुको चाला नेपाली जनताले पचाइसकेका छन् ।

कोरोनाको युद्ध मैदानमा रहेका प्रधानमन्त्री विरुद्ध राजनीतिक अपराध गरेर कुनै विजय हासिल गर्न सकिन्न । बरु, पार्टीले आवश्यक सहयोग गर्न सक्थ्यो । तर, त्यसको सट्टा चालवाजीको काम चलिरहेको छ । व्यवहारका हिसावमा हेर्दा अहिले डा.बाबुराम भट्टराई भन्दा के फरक भयो र कमरेड प्रचण्ड, माधव नेपाल र झलनाथमा ।

नेकपाभित्रको लडाई शुरु गर्ने कमरेड प्रचण्ड, माधव नेपाल र झलनाथले राजनीतिक चरित्र समेत देखाउन सकेनन् । मनमोहनलाई अस्पतालको बेडबाटै सत्ताच्यूत गर्ने कांग्रेसभन्दा उनीहरुमा विल्कुल फरकपन पाइएन । ठुलो पार्टी, बहुमतको सरकारमा पक्कै समस्याहरु थिए । तर, समाधानको समय अहिले होइन । अहिले हो भने, मौका छोपेको भनेर बुझौं ?

डा .बाबुराम भट्टराईको राजनीतिक जीवन अस्थिर छ । उनले अघिसारेको योजनामा नेकपाका नेता लागेर ओलीको वहिर्गमन संभव छ त ? त्यसपछि हुने दुर्घटनाको जिम्मा कसले लिन्छ ? यसैले अझै पनि समय छ । संयमताको सीमामा बसौं । तल्लो तहबाट अहिले पनि ओली सरकारको निरन्तरताको चहाना छ । पार्टी नेतृत्व पनि ठिक छ । भावनात्मक एकताको समस्या भए यसलाई मिलाएर अघि बढाऔं ।

प्रधानमन्त्रीको जनमतले स्थापित हुँदै गरेको नेकपामा दुर्घटना निम्त्याउन खोज्नेहरु आफै दुर्घटनामा पर्ने पनि देखिन्छ । मैदानमा रेफ्रीले दर्शकको हल्लालाई निर्णायक मान्दैन । रेफ्री स्वयम्को निर्णय नै अन्तिम निर्णय हुन्छ । तर, नेकपा र सरकारलाई बाहिरबाट हल्ला गरेर गल्ति देखाउँदा केहि नेता उनीहरुकै पछि लाग्नु विडम्बना हो । चाहेको जस्तो पार्टी छ । चाहेको जस्तो सरकार पनि छ । तमाम कार्यकर्ताको बृहत पार्टी अब कस्तो चाहिएको हो ? कस्तो सरकार चाहेको हो ? विगतलाई पनि ख्याल गरौं कमरेड माधव, कमरेड झलनाथ । प्रचण्ड कमरेड त सभ्य राजनीतिकको मैदानमा नयाँ हुनुहुन्छ ? उहाँलाई गलत बाटो किन देखाउने ?

अब हस्ताक्षर गरेर ओलीको वहिर्गमन गरियो भने तमाम कार्यकर्ता त्यसको विरुद्धमा उभिनेछन् । र, नेकपाको अस्तित्वमाथि धर्मसंकट आइपर्नेछ । इतिहासमा ओली नेतृत्वले प्राप्त गरेको जनमत नेकपाको निम्ति अन्तिम दस्तावेज मात्र बन्नेछ । त्यसपछि के गर्नुहुन्छ कमरेड ?

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]