जेष्ठ १, २०८२ बुधबार

झापामा बिना प्रमाणित ‘डिस्इन्फेक्टेन्ट’ टनेल जडान

टनेल प्रमाणित गर्ने होइन – संयोजक

बिर्तामोड । कोरोना संक्रमण फैलिन थालेपछि झापाको पाँच स्थानमा ‘डिस्इन्फेक्टेन्ट’ टनेल राखिएको छ । रोकथामका लागि भीडभाड हुने ठाउँमा मेची अभियानको पहलमा टनेल राखिएको अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए । यद्दपि यसको कतै प्रमाणित भएको छैन ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा टनेल राख्ने क्रम बढेपछि विज्ञहरुले यसको औचित्य र प्रभावकारिताका बारेमा प्रश्न उठाइरहेका छन् । विज्ञ भन्छन्, ‘डिस्इन्फेक्टेन्ट टनेलको कामै छैन, देखावटी र खर्च बढाउने काम मात्रै हो ।

झापाको मेची अञ्चल अस्पताल भद्रपुर, जिल्ला प्रहरी कार्यालय झापा, इप्रका काँकरभिट्टा, बिर्तामोडको मुक्ति चोक र जिल्ला प्रशासन कार्यालय भद्रपुरमा राखिएको छ । तिन स्थानमा सौजन्य गरिएको छ भने दुई ठाउँमा सशुल्क जडान गरिएको डालमियाले जानकारी दिए । उनका अनुसार टनेल निर्माणको काम झापामै भइरहेको छ । सामग्री ल्याएर हामी आफै बनाइरहेका छौं, डालमियाले भने – यसको मुल्य प्राविधिक खर्च बाहेक मोटामोटी ४० हजार पर्छ ।

झापामा जडान भएका टनेलको प्राविधिक पक्ष कतै प्रमाणित नभएको बुझिएको छ । डालमियाका अनुसार टनेल प्रमाणित गर्ने होइन, यसमा प्रयोग हुने औषधि प्रमाणित भएको हुनुपर्छ । झापाका सबै टनेलमा सेनिटाइजर प्रयोग गरिएको छ, त्यो मेची अस्पतालले बनाएको हो । केमिकल प्रयोग बारे सचेत नभएमा स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै डालमियाले भने, – सेनिटाइजर बनाउने अस्पतालले पक्कै प्रमाणित भएरै प्रयोगमा ल्याएको हुनुपर्छ । केहि ठाउँमा धुलावारीका कृषि बैज्ञानिक रामहरि नेपालले बनाएको केमिकल प्रयोग भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले सेनिटाइजर टनेल बनाउने योजना समेत बन्द गरिसकेको छ । चिकित्सकले टनेलबाट छर्किने केमिकलले स्वास्थ्यमा असर गर्ने सल्लाह दिएपछि यो परियोजना बन्द गरिएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिए ।

त्यस्तै गाडीलाई संक्रमणमुक्त पार्न नागढुंगामा ‘डिस्इन्फेक्टेन्ट टनेल’ बाट सोडियम ‘हाइपोक्लोराइट सोलुसन’ र ‘इनोक्लिन’ मिसाइएको पानी छर्किने गरिएको छ । गाडी आएका बेला स्विच थिचेपछि पाइपले रसायनयुक्त पानी छर्किन्छ । कोभिड–१९ संक्रमण फैलिएको क्षेत्रबाट समेत गाडी आउने भएपछि सुन्दर यातायातले गत शुक्रबारदेखि टनेल सञ्चालन गर्दै आएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भने यस्ता टनेलबाट रसायनयुक्त पानी छर्कनुको अर्थ नरहेको बताउँछन् । ‘गाडीभित्र बसेका मानिसले सरसफाइका विधि अपनाएर सुरक्षित भइन्छ । गाडी बाहिर सफा गरेर केही अर्थ छैन ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ माइक्रोबायोलोजिस्ट निरन्जन थापाले डिस्इन्फेक्टेन्टको मिश्रण छर्किनुको अर्थ नरहेको बताए । ‘लुगालाई संक्रमणमुक्त बनाउन खोजेको हो भने पनि त्यसलाई केही समय डिस्इन्फेक्टेन्टमा डुबाएर सुकाएपछि मात्रै त्यो संक्रमणमुक्त हुन सक्छ,’ उनले भने, ‘गाडीको बाहिरी सतहमा छर्किनुको कुनै औचित्य छैन । भाइरस त्यसरी मर्दैन ।’

थापाले आविष्कारका नाममा यस प्रकारका उत्पादनले स्रोतसाधन दुरुपयोग मात्रै गरेको बताएका छन् । माइक्रोबायोलोजिस्ट थापाको विचारसँग संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि सहमत छन् । ‘कोभिड–१९ कसरी सर्छ भनेर थाहै नभएको मानिसले झैं व्यवहार गरेको देख्दा अचम्म लाग्छ । कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आए मात्रै यो रोग सर्छ । अहिले सडक, गाडी सफा गरेर नाटक गर्ने समय होइन । राम्रोसँग साबुनपानीले हात धोए भइहाल्यो नि,’ उनले भने ।
यी रासायनिक पदार्थको सम्पर्कमा आउँदा आँखा, नाक, मुख, कानका साथै फोक्सो र छालामा पनि असर गर्ने छालारोग विशेषज्ञ डा. सुशील पौडेलले बताए । ‘अस्पतालको भुइँ पुछ्ने रसायन आँखा, नाक, कान, मुख वा छालामा पर्यो भने सुरुमा चिलाउन थाल्छ । धेरै पर्याे भने अरू असर पनि देखिन्छ । त्यसको गन्ध पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ,’ उनले भने ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा. सञ्चिवकुमार शर्माले यस्ता केमिकल निश्चित विधिबाट तयार गरी निश्चित समयमा प्रयोग गर्दा प्रभावकारी हुने बताएका छन् ।

उनले भने, ‘डिस्इन्फेक्टेन्टमा प्रयोग गरिने केमिकलले मानिसको छाला, फोक्सो, आँखामा प्रत्यक्ष असर गर्छ । म त टनेलभित्र छिरेर आएँ भनेर मानिसले हात सफा नगर्ने पनि हुनसक्छ ।’ सोडियम हाइपोक्लोराइट मानव शरीरका लागि हानिकारक हुने उनले बताए ।

प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार  १ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]