चैत्र ६, २०८० मंगलबार

घट्दैछन् फेरी लगाउने जोगी

सुशिल दाहाल

बाहुन्डाँगी । झापाको पूर्वउत्तर क्षेत्र बाहुनडाँगीमा शनिवार भेटिएका बुद्धिमान जोगी व्याग सिलाउँदै बसिरहेका थिए । भोली उनी भारत जाने तयारीमा छन् । उनी मात्र होइन, सो क्षेत्रमा बसोवास गर्ने जोगीहरु फेरी लगाउन भारत जाने तयारीमा भेटिए ।

उनैका छिमेकी राजकुमार जोगी शुक्रवार नै भारत छिरे । झापा मेचीनगर– ४ मा जोगीहरुको ठुलो बस्ती छ । वर्षौदेखि बसोवास गरिरहेका उनीहरुको गाउँको नाम पनि जोगी डाँडा हो । धार्मिक जानकारका अनुसार फेरी लगाउँदा अनिष्ट भाग्ने गर्छ । भुतप्रेत नलागोस् भनेर जोगीलाई फेरी लगाउन लगाइन्छ । विशेष गरी वर्षको तिन महिना फेरी लगाउने महिना हो । वर्षको अन्तिम महिना शुरु भएपछि बुद्धिमान, राजकुमार जोगी भारत छिर्न लागेका हुन् । कालो साउन, कालो कार्तिक र अपुताली चैतमा फेरी लगाउने प्रचलन रहेको बुद्धिमान बताउँछन् । ‘बाउ बाजेले चिनजान गराएको ठाउँमा बजाउन जान्छौ’ बुद्धिमानले भने । भोली उनी तारावारीबाट बजाउन शुरु गर्दैछन् । पुर्खाले बजाएको ठाउँमा सानैदेखि बजाउँदै आएका उनलाई तिन महिना भारतको विभिन्न ठाउँबाट बोलाउने गरेको सुनाए । भारतमा बस्ने नेपाली मुलमा नागरिकले जोगीलाई सम्मान गर्ने उनीहरुको बुझाई छ । दान दक्षिणा पनि धेरै हुन्छ, माया सद्भाव पनि छ । त्यसैले नेपालमा भन्दा पनि भारत मै बजाउन जान्छौ । ४२ वर्षीय बद्धिमानको बुवाले बजाउन छोडिसके । सन्तानले बजाउने इच्छा नदेखाएको बुद्धिमानको भनाई छ । उनका छोरा दिपेश जोगी फेरी लगाउँदै हिड्ने मानसिकतामा नरेहको बताउँछन् । उनीहरु भारतको सिलिगुरी, जयगाउँ, ग्यान्टोक , दार्जिलिङ र भुटानसम्म पुग्ने गरेका छन् ।

झापाको विभिन्न ठाउँमा छिटपुट जोगीको बसोवास छ । त्यसमध्ये सबैभन्दा धेरै बाहुनडाँगीमा ३५ परिवार बसोवास गरिरहेका छन् । उनीहरुको मुख्य आय स्रोत कुनै बेला फेरी बाहेक केहि थिएन । यतिवेला सरकारी जागिर, वैदेशिक रोजगार, श्रममजदुरी, कृषिमा आत्मनिर्भर हुन थालेका छन् । स्थानीय दिलबहादुर जोगी भन्छन्, अब फेरी बजाउने हाम्रो अर्को पुस्ता छैन । उनकै छ जना छोरा छन् । तर, १ जना मात्र फेरी लगाएर हिड्छन् ।

अंशबण्डामा धनसम्पत्ति र जग्गा जमिन बाँढ्ने चलन भएपनि उनीहरुको समुदायमा बजाउन प्रयोग हुने सामग्री (सिङहीनाथ) बँराटको टुक्रा काटेर बरावर बाँढ्ने परम्परा रहेको दिल बहादुरले बताए । उनका अनुसार जोगीले रिमालको घरमा बजाउन हुदैन । एउटै खोलाको पानी नखानु, रिमालको घरमा नबजाउनु र एउटै बजार नभर्नु, भनेका छन् पुर्खाले – उनले थपे ।

प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार  ३ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]