बैशाख २५, २०८१ मंगलबार

मेची भन्सार तत्काल सुचारु गर्न व्यवसायीको माग

भद्रपुर । ठप्प रहेको मेची भन्सार तत्काल सुचारु गराउन झापामा व्यवसायीले माग गरेका छन् । उनीहरुले विराटनगर भन्सार भएर आउन महंगो हुने भन्दै बैंक ब्याज छुट हुनुपर्ने मागसहित आज झापाका सबै उद्योग तथा वाणिज्य संघहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

जिल्लाका सबै उद्योग तथा वाणिज्य संघहरूले १० बुँदे माग पत्रसहितको ज्ञापन पत्र तीनै तहका सरकारलाई बुझाएका छन् । संघका अध्यक्षहरूले प्रधानमन्त्री, मुख्यमन्त्री, जिल्ला समन्वय समिति झापा र प्रमुख जिल्ला अधिकारीलाई लिखित मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले शुक्रबार दिउँसो जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल र प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका थिए । जिसस अध्यक्ष पोर्तेल र प्रजिअ राना मगरमार्फत छुट्टाछुट्टै रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शेरधन राईलाई समेत ज्ञापन पत्र पठाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै अध्यक्षहरूले भने, ‘हाम्रा माग समयमै पूरा नभए सबै उद्योग व्यवसायका तालाचाबी सरकार र बैंकहरूलाई बुझाएर आन्दोलनमा उत्रन्छौं ।’ साथै ‘आन्दोलनमा उत्रनुपर्ने बाध्यात्मक अवस्था आए त्यो क्षण अकल्पनीय हुने अग्रिम स्मरण गराउँदछौं’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कोभिड –१९ महाभारी नियन्त्रणका लागि भएको लकडाउनबाट सबैभन्दा बढी पीडित र ठूलो क्षति उद्योग व्यवसायले बेहोरेको तथा कतिपय उद्योग व्यवसाय कहिल्यै उठ्न नसक्ने गरी डुब्न लागेका उनीहरूले जनाएका छन् ।

उद्योग–व्यवसाय टिक्न सक्ने वातावरणका लागि ब्याज तथा कर छुट, राहतलगायत विशेष प्याकेज घोषणा गर्न सरकार समक्ष उनीहरुले माग गरेका छन् । कोभिड –१९ नियन्त्रणका लागि विभिन्न तहमा बनेका संयन्त्र र त्यसले गर्ने निर्णयहरूमा निजी क्षेत्रको प्रतिनिधित्व नगराइएकोमा समेत आपत्ति जनाइएको छ । ‘उद्योग व्यवसाय खोल्ने र बन्द गर्ने निर्णय हुन्छ, अनुगमन हुन्छ तर तिनै उद्योग व्यवसायको नेतृत्व गरिरहेको उद्योग तथा वाणिज्य संघहरूलाई सहभागिता गराइनु त टाढाकै कुरा हो निर्णयहरू जानकारी समेत गराइँदैन’, उद्योगी व्यवसायीको दुखेसो छ, ‘निजी क्षेत्रबाट लिने मात्र अनि उसका कुनै पनि समस्या नबुझ्ने नसुन्ने अवस्थामा हामी गुज्रिरहेका छौँ ।’ अन्योल र पीडा बढ्दै गएपछि वैशाख २३ गते बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा झापाका सम्पूर्ण उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश १ का प्रतिनिधिको संयुक्त बैठक बसेको थियो ।
बैठकले वर्तमान अवस्थालाई सहज बनाउन विभिन्न उद्योगी–व्यवसायीका समस्या र अघि बढाउने मागहरू पहिचानसहित १० बुँदे निर्णय गरेको थियो । झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले जिसस प्रमुख पोर्तेललाई र गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जितबहादुर कार्कीले प्रजिअ राना मगरलाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]