जेष्ठ ४, २०८१ शुक्रबार

धुलावारी हत्या प्रयास प्रकरण : दशदिनमा पनि अभियुक्त सार्वजनिक गरिएन

नगरवासी आक्रोस, स्वास्थ्य अवस्था नाजुक

pic : ijalas

मेचीनगर । घटना भएको दश दिन बितिसक्दा समेत मेचीनगर–१० धुलावारीकी आरती बुढाथोकी र उनकी छोरी अर्पणा बुढाथोकीलाई हत्या प्रयास गर्ने अभियुक्तहरु सार्वजनिक नगरेकोमा स्थानीयबासी प्रहरीसँग आक्रोशित भएका छन् ।


धुलावारीका बासिन्दाहरुको ठूलो समूहले शुक्रवार धुलावारी प्रहरी कार्यालय घेराउ गर्दै घटनाका दोषीहरुलाई तत्काल सार्वजनिक गरी कानूनी कार्वाही गर्न माग गरेको छ ।


गत जेठ ८ गते बुधवार राति सासु र नावालिका छोरीसँग घरमा सुतेकी आरती बुढाथोकीमाथि साङ्घातिक हमला गरी आक्रमणकारीहरु भागेका थिए । आक्रमणमा परी गम्भीर घाइते भएकी आरती हालसम्म बीएन्डसी हस्पिटलमा उपचारमा रहेकी छन् ।

उनको टाउकोमा चार इञ्च गहिरो र निधारदेखि घुच्चुकसम्म लामो चोट छ । उपचारमा रहेकी उनको हालसम्म होश फिरेको छैन । आक्रमणकारीहरुले छोरी अर्पणाको घाँटी ङ्याँकेका थिए ।
स्थानीयवासीको नेतृत्व गर्दै आएका नेकपा मेचीनगर वडा नं. १० का अध्यक्ष प्रकाश खड्का आरती र उनको छोरीको हत्या प्रयास गर्नेहरुलाई प्रहरीले यतिका दिनसम्म सार्वजनिक नगर्दा शङ्का उब्जिएको बताउँछन् ।


शुक्रवार सयौं महिला प्रहरी कार्यालय घेराउमा सहभागी भएका थिए भने उनीहरुले प्रहरीले अनुसन्धानको प्रगति र अभियुक्त बारेमा केही पनि तथ्य सार्वजनिक नगर्दा प्रहरीको नियतमाथि पनि प्रश्न उब्जिने आरोप लगाएका थिए ।


मेचीनगर वडा नं. १० का अध्यक्ष सुदय पनेरुले घेराउमा सहभागी भएका धुलावारीवासीलाई प्रहरी कार्यालयभित्र सम्बोधन गर्दै अनुसन्धानका लागि पक्राउ परेका स्थानीय दुई युवा नै अभियुक्त हुन् भन्नेमा आफु ९० प्रतिशत विश्वस्त रहेको बताएका छन् ।


उनले पक्राउ परेका युवाहरुको घरबाट रगत लत्पतिएको लुगा बरामद भएको र घाइते नावालिका अर्पणाले तिनै व्यक्ति नै आक्रमणकारी हुन् भनेर सनाखत गरिसक्दा समेत उनीहरुलाई सार्वजनिक नगरिएकोमा प्रहरीको आलोचना गरेका छन् ।


‘म र मेरो वडाका चारैजना जनप्रतिनिधिहरु तिनै पक्राउ परेका दुई व्यक्ति अपराधी हुन् भन्ने निष्कर्षमा पुगेका छौं’, वडाका अध्यक्ष पनेरुले भने–‘तर हिरासतमा रहेका तिनीहरुले अहिलेसम्म अपराध स्वीकार गरेका छैनन् ।’


घेराउ कार्यक्रममा वडाका अध्यक्ष सुदय पनेरु, निन्दा टोल समितिका अध्यक्ष एवम् सङ्घीय समाजबादी पार्टीका नेता गोकुल हुमागाई, घाइते आरतीका पति ओमबहादुर बुढाथोकी, घाइतेकी जेठी छोरी अनिसा बुढाथोकी, घाइतेकी मामाससुरा टेकबहादुर रिजाल, नेकपा नेतृ रेणुका डाँगी, नेपाली काङ्ग्रेस नेतृ सीता पोखरेल, नेकपा वडा नंं. १० का अध्यक्ष प्रकाश खड्का, वीपी भट्टराई, दलबहादुर कट्टेल लगायतले अभियुक्तहरुलाई छिटो भन्दा छिटो सार्वजनिक गर्न र कानूनी कार्वाही गर्न जोडदार माग गरेका थिए ।


प्रहरीले सो आक्रमणको घटनामा संलग्न भएको आरोपमा मेचीनगर–१० का श्रेष्ठ र गिरी थरका दुई युवालाई घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो । उनीहरुलाई म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसैविच, घेराउमा आएका धुलावारीवासीलाई इलाका प्रहरी कार्यालय धुलावारीका इञ्चार्ज टिकाबहादुर कार्कीले अभियुृक्तहरुलाई कुनै हालतमा नछाडिने र छिटै सार्वजनिक गरिने आश्वासन दिएका छन् ।


‘दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक कार्कीले भने–‘हस्पिटलमा उपचारमा रहेकी घाइतेको वयान लिनासाथ अभियुक्तहरु सार्वजनिक गर्ने छौं ।’
तर, धुलावारीवासीहरुले यथेष्ट प्रमाण पुगिसकेको भए अभियुक्तहरु तत्काल सार्वजनिक हुनु पर्ने माग गरेका छन् ।


उनले घटनाको जाहेरी प्रहरीले लिन नमानेको भन्ने आरोपको खण्डन गरेका छन् । ‘हामी आफैले जाहेरी ल्याउनु होस् भनिरहेका छौं’, उनले भने–‘अपराधी छिटो सार्वजनिक गर्न हामी पनि लागिरहेका छौं, त्यसका लागि प्रमाण जुटाउने काम भइरहेको छ ।’

बोल्दिनन् बुढाथोकी

घाइते आरती बुढाथोकी दश दिनदेखि बिर्तामोडको बीएन्डसी हस्पिटलको आइसीयु कक्षमा रहेकी छन् ।
हेरचाहमा रहेकी जेठी छोरी अनिसा बुढाथोकीका अनुसार आरतीको स्वास्थ्य अवस्था नाजुक छ । उनी बोल्न चल्न सक्दिनन् ।

‘सय चोटी बोलायो भने एकपल्ट बल्ल पुलुक्क हेर्नु हुन्छ’, अनिसा भन्छिन्–‘डाक्टरहरुले उहाँको उपचार भए पछि पनि मेमोरी लस हुनसक्छ भनेका छन् ।’
टाउकोको अगाडि निधारबाट चिरिएको चोट पछाडि घुच्चुकसम्म रहेको र अलिअलि हातखुट्टा चलाउने गरेको उनले बताइन् ।


उपचारमा हालसम्म १२ लाख जतिको बिल उठिसकेको र आफुहरुले सुरुमा २ लाख जम्मा गरेको उनले जानकारी दिइन् । तत्कालै ५ ालख रुपैयाँ अरु जम्मा गर्न हस्पिटलले भनेको समेत उनले बताइन् ।


आरतीका पति ओमबहादुर बुढाथोकीले उपचारका लागि खर्च गर्ने रकम आफुहरुसँग नभएको पीडा व्यक्त गरेका छन् । उनले अपराधीहरुबाटै उपचार खर्च तिराउन माग गरेका छन् ।

लोकतन्त्र पोष्टबाट

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]