शिक्षा क्षेत्रमा योगदान पुर्याउनेलाई इटहरी उपमहानगरको सम्मान
इटहरी । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा इटहरी उपमहानगरले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

इटहरी उपमहानगर शिक्षा,युवा तथा खेलकुद महाशाखाले एक कार्यक्रमका विच उत्कृष्ठ विद्यार्थी,शिक्षक,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षासेवी, सेवा निवृत्त शिक्षक लगायतलाई सम्मान गरेको हो । शिक्षासेवी जगदिश ओलीलाई सम्मान गरिएको छ । यसैगरि उत्कृष्ठ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राष्ट्रिय मावि इटहरीका अध्यक्ष ज्ञान वहादुर विश्वकर्मा, ज्योति मावि इटहरीका प्रधानाध्यापक भैरव सापकोटा र गोपाल पराजुली जब्दी मावि इटहरीका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । त्यसैगरि एसईई २०७५ मा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरु दिपेश घिमिरे, स्मिता दनुवार, जेनिशा मिश्र, आशिष दाहाल र सम्पदा निरौलालाई पुरस्कृत गरियो ।
कार्यक्रममा ६ जना अवकास प्राप्त शिक्षक र ९ जना अवकास हुन लागेका शिक्षकलाई सम्मान गरिएको छ । सो अवसरमा शैक्षिक झलक २०७६ विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज साँवा र उपमहानगर प्रमुख द्धारिकलाल चौधरीले शैक्षिक झलक पुस्तकको लोकापर्ण गरेका छन् । शैक्षिक झलकमा इटहरीको शिक्षा क्षेत्रको सम्पूर्ण जानकारी समेटिएको छ । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख कुमारी अम्विका शाहले इटहरीमा ८६.२५ प्रतिशत साक्षर रहेको जानकारी दिए ।
उनका अनुसार सवैभन्दा बढि वडा नम्वर ६ मा ९४.२३ प्रतिशत र सबैभन्दा कम १५ नम्वर वडामा ६४ दशमलव ४ प्रतिशत साक्षर रहेका छन् । दिवसका अवसरमा विहान इटहरी उपमहानगरमा प्रभातफेरी गरिएको छ । प्रभातफेरीको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले सुरुवात गर्दै देश विकासको मुल आधार शिक्षानै हो भनेका छन् ।