झापामा १ सय ३० करोडको लागतमा सामुदायिक आवास परियोजना
बिर्तामोड । शिवम हाउजिङले १ सय ३० करोडको लगानीमा दुई वटा सामुदायिक आवास परियोजना शुरु गरेको छ । पूर्वकै व्यापारिक केन्द्र बिर्तामोडमा शिवम हाउजिङले सुगम र हरिहर कोलोनीको निर्माण थालेको हो ।

पूर्वाञ्चलमै सबैभन्दा ठूलो स्मार्ट हाउजिङका रुपमा शिवम हाउजिङ प्रा.लिले बिर्तामोडको दुई स्थानमा सामुदायिक आवास परियोजना सञ्चालन गर्न लागेको सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एक दशकदेखी घरजग्गा व्यवसाय गर्दै आएको शिवम् हाउजिङले एक विगाह १५ कठ्ठा ६ धुरमा सुगम कोलोनी निर्माण गर्ने भएको छ । सो कोलोनी बिर्तामोडस्थित कन्चनजङ्गा बोर्डिङको दक्षिणपट्टि हर्कलाल मार्गमा निर्माण हुने सञ्चालक निर्मल भट्टराईले जानकारी दिए ।

यस्तै, हरिहर कोलोनीमा ८० वटा घर निर्माण हुने शिवम् हाउजिङका प्रवन्ध निर्देशक सुदिप प्रसाईले जानकारी दिए । सो कोलोनी ५ विगा ५ कठ्ठामा बन्ने भएको छ । उनले भूकम्प प्रतिरोधात्मक, वास्तु शास्त्र बमोजिम सबै कोठाबाट वरण्डा निकालिएको र अन्डर गा्रउन्ड , बिजुली, केवल र नेटको तारहरु भएको हुनेछ । घरको बुकिङ समेत खुल्ला भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो हाउजिङ्गमा एउटा घरको न्यूनतम मूल्य ९९ लाख पर्ने बताइएको छ ।
प्रत्येक घर १५ धुरमा निर्माण गरिने र घरहरु अढाई तले हुने सञ्चालकहरुको भनाई छ । कोलोनीमा सामुदायिक हल, स्विमिङ्ग पूल , पार्किङस्थल, फिटनेस सेन्टर र चिल्डे«न पार्कको समेत निर्माण गरिने छ । झापाको बिर्तामोडसहित विभिन्न स्थानमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले संयुक्त लगानीमा कोलोनी निर्माण गर्ने जनाएका छन् ।

बैंक तथा वित्तिय संस्थाको कर्जा समेतको लगानीबाट निर्माण गरिने कोलोनी किस्ताबन्दीमा समेत घर खरिद गर्न सकिने व्यवस्था रहेको बताइएको छ । किस्ताबन्दीमा खरिद गर्नेलाई भुक्तानी पश्चात मात्र पास गरिदिने भट्टराई जानकारी दिए । उनीहरुले बिर्तामोड स्वास्थ्य र शिक्षाको हब बन्दै गएकाले व्यस्त जीवनशैली भएका नागरिकलाई आवश्यक महसुस गरी काम थालेको बताएका छन् ।