गायिका मेनुकालाई उत्कृष्ट नागरिक सम्मान
सिएम शर्मा
कनकाई । दृष्टिबिहीन गायिका मेनुका पौडेल उत्कृष्ट नागरिक सम्मानबाट सम्मानित भएकी छन् । लायन्स क्लब अफ कनकाई सुरुङ्गाको तेस्रो तथा लियो क्लब अफ कनकाई सुरुङ्गाको दोस्रो पद हस्तान्तरण समारोहको अवसरमा बुधवार क्लबको सभाहलमा आयोजित कार्यक्रममा मेनुकालाई लायन्स बर्ष २०१८/१९ को उत्कृष्ट नागरिकबाट सम्मान गरिएको छ ।

झापा जन्मथलो या कर्म थलो भएका मध्येबाट बर्षेनी कुनै एक विधामा उत्कृष्ट नागरिकलाई सम्मान गर्दै आएको क्लबले यसपटक गायन विधा छनौट गरि झापा जिल्ला तत्कालीन हल्दिवारि गा.वि.स. वडा नं. ४ वडावारीमा २०५५ सालमा जन्मिएर झापालाइ नै कर्मथलो बनाउँदै आएकी मेनुका रेडियो नेपालबाट २०७२ सालमा आयोजित राष्ट्रिय स्तरको आधुनिक गायन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल , नेपाल आईडल सिजन १ मा एघारौं स्थानसम्म पुग्न सफल , भारतको जीटिभीले आयोजना गर्ने इन्डियन रियालिटी सो सारेगममा भाग लिई एघारौंसम्म पुगेर नेपालको गौरव विदेशमा समेत फैलाउन सफल दृष्टि बिहीन गायिका मेनुकालाई सम्मान गरिएको हो ।
सम्मानित मेनुकालाई कार्यक्रमका प्रमुख अतिथि लायन्सका डिस्ट्रिक गर्भनर ईन्द्र खत्री ‘राजन’ र कार्यक्रमका तथा क्लबका अध्यक्ष रुपनारायण खतिवडाले संयुक्त रुपमा दोसल्ला , सम्मान पत्र र एघार हजार एक सय एघार नगद सहित सम्मान गरेका थिए । सोही समारोहमा कनकाई नगरका दर्जनौं संघसंस्थाले पनि सम्मान पत्रद्वारा मेनुकालाई सम्मान गरेका थिए ।