डेंगुका कारण १८ वर्षीय किशोरको मृत्यू
विराटनगर । डेंगुका कारण विराटनगरमा एकजनको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का १८ वर्षीय अभिनाश शर्मा रहेका छन् । शर्मा विराटनगरको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए ।

मंगलबार गोल्डेन अस्पताल विराटनगरमा भर्ना भएका शर्माको बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोसी नर्सिङ होममा लगिएको थियो ।
स्वास्थ्य परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको रिपोर्ट अस्पतालले दिएको थियो । त्यसपछि आरामका लागि घरैमा बसेका शर्मालाई ज्योरोले च्यापेपछि गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।