बिर्तामोडमा बालश्रम शून्य भएको दावी
झापा । बालदिवसको अवसरमा आयोजित अन्तरक्रियामा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीले नगरमा बाल श्रमिकहरुको संख्या शुन्य भएको दाबी गरेका छन् ।

राष्ट्रिय बाल दिवस २०७६ अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले बाल मजदुरहरु राख्न पनि नपाइने भन्दै बाल मजदुर कोही पनि नरहेको दाबी गरे । अन्तरक्रिया कार्यक्रममा विभिन्न बालक्लबहरुबाट सहभागी भएका विद्यार्थीहरुले सोधेको प्रश्नको उत्तर दिदैँ शिवाकोटी सो कुराको जानकारी दिएका हुन् ।
कार्यक्रममा सहभागी बालक्लबका विद्यार्थीहरुले बिर्तामोड नगरपालिकाका मेयर धुव्रकुमार शिवाकोटी, शिक्षा अधिकृत दिनेश कुमार आचार्य, ट्राफिक प्रहरी प्रमुख होम प्रसाद अधिकारी, बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा इन्चार्ज खगेन्द्र दङ्गाल लगायतलाई प्रश्न गरेका थिए ।
बालबालिकाहरुले बिर्तामोड नगरपालिका भित्र बाल इजलास छ कि छैन यदि छ भने कहाँ छ र छैन भने किन छैन ?, नगरपालिकाभित्र हेल्थ सेनिटेरि किन सञ्चालन गरिएन ?, बाल अधिकार संविधानमा मात्र सिमित हो यदि होइन भने हाम्रो नगरमा कहिलेबाट पाउँछौ?, नगरभित्र बाल मजदुरको संख्या कति छ, हामीले बुझ्न चाहेमा कहाँ खोज्न सक्छौँ, नगरभित्रका प्रायः अधिकांश विद्यालयहरु सडक छेउमा छन् जसले गर्दा दुर्घटना बढेको छ यसलाई नियन्त्रण गर्न कस्तो किसिमको पहल गर्नुभएको छ ? लगायतका प्रश्न सोधेका थिए । जवाफमा सम्बधित क्षेत्रका प्रमुखले काम गरे पनि परिणाम निकाल्न प्रयासरत रहेको बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख धुव्रकुमार शिवाकोटीले नगरका हरेक विद्यालयमा कलको पानी खानुपर्ने व्यवस्थाको अन्त्य गरि स्वच्छ पिउने पानीको व्यवस्था गर्ने जानकारी दिए । त्यसका साथै नगर भित्रका रहेक विद्यालयमा शिक्षकका लागि मात्र भनेर बनेका शौचालयहरु नगरले ताला लगाउने जानकारी दिएका छन् । शिक्षक र विद्यार्थीको शौचालय एउटै भए मात्र सबै विद्यालयको शौचालय सफा हुनेमा नगरप्रमुखले जोड दिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सम्पूर्ण वडाबाट र अर्जुनधारा नगरपालिका गरि १० वटा भन्दा बढि बालक्लबहरुको सहभागिता रहेको थियो । बिर्तामोड वडा नम्बर ५ कोे आयोजना र सिर्जनशील एकता बालक्लब र उज्यालो मनकामना बालक्लबले व्यवस्थापन गरेको थियो । हाल बिर्तामोडमा ५ र ९ मा मात्र बालक्लब रहेको र अब सबै वडामा क्लब गठन हुने प्रतिबद्धता गरे ।
उज्यालो मनकामनाकी सचिव इनु थापाको स्वागत रहेको कार्यक्रममा सहजकर्ता सरोज पौडेलले प्रष्ट पारेका थिए । आयोजक वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र लिङ्देनले शुभकामना व्यक्त गर्दै बालबालिकाको क्षेत्रमा आफू सक्रियता पूर्वक लाग्ने बताए । मनिस न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिब श्रेया ढुंगानाले गरेकी थिइन् ।