बैशाख २०, २०८२ शनिबार

शाहीको अभियानमा शंका : सम्पादकीय

भ्रष्टाचार विरुद्धको अभियान्ता बताउने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) को सन्दर्भमा शनिवार साँझबाट विभिन्न सवाल उब्जिएको छ । भ्रष्टाचारका विरुद्धमा आम नेपाली नागरिकको एकमत छ । यहाँ भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने कोहि छैन । सामाजिक सुशासनका लागि भ्रष्टाचार विरुद्धको अभियान आवश्यक पनि छ । नागरिकलाई सचेत बनाउन जरुरी छ । आफ्नो दैनिक जीवनलाई त्याग गरेर देशको लागि आवाज उठाउदै हिड्नु चानचुने कुरा होइन । भ्रष्टाचार विरुद्धको आवाज भनेको शक्तिसँगको लडाई पनि हो । शक्ति र पहुँचमा हुनेले नै भ्रष्टाचार गर्ने हुन । चाहे त्यो सरकारमा होस् वा सरकार बाहिर ।

पर्यटनमन्त्री योगेश भट्टराई वर्तमान सरकारमा भर्खरै जिम्मेवारी लिएर काम शुरु गर्दैछन् । शपथ पछि यत्तिको गति कुनै मन्त्रालयले लिएको छ भने त्यो पर्यटन मन्त्रालयले नै लिएको छ । उनी शनिवार साँझ नेपालगञ्ज विमानस्थल हुँदै काठमाडौं फर्किने क्रममा नेपालगञ्ज विमानस्थलमा निन्दनीय काम भयो । ज्ञानेन्द्र शाहीको समूहले योगेश भट्टराई विमानस्थल ढिलो आएका कारण जहाज नउडेको भन्दै हप्किदप्की गरे । १५ मिनेट ढिलो भएकोमा मन्त्री भट्टराईले यात्रीसँग माफी नै मागिसकेका छन् । तर, शाही समूहले गरेको हर्कत योजनाबद्ध भएको स्पष्ट छ । अभियानमा शंका उब्जिएको छ । अभियानको शुक्ष्म अनुसन्धान आवश्यक भइसक्यो ।

सरकारको विरुद्धमा योजनाबद्ध अभियान सञ्चालन गरेका शाही समूह परिचालित समूह भन्ने आरोप पनि लाग्ने गरेको छ । देश दौडाहामा जहाज प्रयोग गर्ने, महंगा होटलमा बास बस्ने आर्थिक स्रोत कहाँबाट जुट्दैछ ? यो आम नागरिकको प्रश्न बनेको छ । आइतबार उनै शाहीले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिन सकेनन् । उनको अभियानमा भइरहेको खर्चबारे सवाल तर्साउँदा अक्कनबक्क भए । जो भ्रष्टाचारी विरुद्धको अभियानमा लागेको छ । पहिले आफै छर्लङग हुन जरुरी छ । संविधानमा सूचनाको हक नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको छ । अभियानको नाममा षडयन्त्रमुलक काम गर्दै हिड्नुभन्दा यो हकको प्रयोग गरेर कहाँ कति अनियमितता भयो खोज्न सकिन्छ । जबरजस्ती भ्रष्टाचारको आरोप लगाउँदै हिड्नेहरुलाई कानुनी दायरामा ल्याउनु पर्छ । र, यस्ता अभियानमा जोडिनेहरुको छलकपट नियाल्न जरुरी छ ।

प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार  १२ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]