स्नातक गर्दै बिर्तामोडकी सन्थाल युवती , शिक्षण गर्ने धोको
बिर्तामोड । अझै पनि सन्थाल समुदाय बालबालिकालाई विधालय पठाउन सचेत देखिदैनन् । दैनिक जनमजदुरी मै समय खर्चिने सन्थाल समुदाय शिक्षालाई प्राथमिकता दिइरहेका छैनन् । तर, झापाको बिर्तामोड–८ मा रहेकी एक सन्थाल युवतीले स्नातक तहको अध्ययन शुरु गरेकी छन् ।

भद्रपुरमा रहेको विरेन्द्र नमूना क्याम्पसमा स्नातक तहको पहिलो वर्ष अध्ययन शुरु गरेकी सविता रायको परिवार पनि दैनिक मजदुरी गरेरै जिवनयापन गर्दै आएका छन् । १८ वर्षीया राय शिक्षा संकाय लिएर अध्ययन गरिरहेकी छन् । उच्च रक्तचापका कारण बुबाको मृत्यू भएपछि उनलाई अध्ययनमा समस्या भएको थियो ।
अहिले आमाले दैनिक मजदुरी गरेर घर चलाउदैं छोरीको अध्ययनमा समेत साथ दिएको स्थानीयको भनाई छ । सविताले भनिन्, – आमाले मात्र काम गरेर हुन्न, ठुलो परिवार छ । म पनि मजदुरी गर्दै पढिरहेकी छु । आमासँगै घर निर्माणको काममा जाने सविता एक समय स्थानीय बालबालिकालाई ट्यूसन समेत पढाउछिन् । ११ जनाको परिवारमा धेरै खर्च लाग्छ, घर धान्न र अध्ययन गर्न निकै गाह्रो छ । सविताले भनिन्,– अध्ययनको लागि सहयोग नभए आगामी दिनमा समस्या हुन्छ जस्तो लागेको छ ।
सार्वजनिक बसमा चढेर चन्द्रगडी क्याम्पस जाने उनले शिक्षिका बन्ने सपना सुनाइन् । उनले आफ्नो सपना पुरा गर्न परिवारको मात्र सहयोगले नपुग्ने बताएकी छन् । सोमवार बिर्तामोड–८ मा आयोजित एक कार्यक्रममा आफ्नो समस्या बारे जानकारी गराएकी उनले सहयोगको अपील गरेकी थिइन् । उनको समस्या सुनेपछि बिर्तामोड नगरपालिकाका प्रमुख धु्रव कुमार शिवाकोटीले नगरपालिकाको तर्फबाट अध्ययनमा सहयोग गर्ने बचन दिएका छन् ।