आजदेखि मौसममा सुधार हुने
बिर्तामोड । भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ ।

उक्त प्रणालीको असर बुधबार रातिसम्म कायम रहको र आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।
सामान्यतया नेपालमा जुन १० मा मनसुन शुरु भएर सेप्टेम्बर २३ मा सकिने गर्छ । यस वर्ष नेपालमा १० दिन ढिलो गरी मनसुन भित्रिएको थियो । बुधबारसम्म देशका अधिकांश भागमा आंशिक तथा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा भएको थियो ।
मौसममा सुधार हुने भए पनि शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्य बदली हुनाका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।