बैशाख २४, २०८२ बुधबार

मर्यादाक्रम विवादले कांग्रेसको कार्यक्रममा भाँडभैलो

राजविराज । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन सप्तरीमा भने नेताहरुको मर्यादा क्रमलाई लिएर भाँडभैलो भएको छ । जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरीबीच बाझाबाझ मात्र भएन, आफ्नै पार्टीका नेता मञ्चबाटै धकेलेर निकालिएको छ ।

राजविराजमा भएको आमसभामा अजय चौरसिया प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । सप्तरीका सांसद चौधरीलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो । तर कार्यक्रम सञ्चालकले चौधरीभन्दा अगाडि पूर्वराज्यमन्त्री समेत रहेका रामकुमार चौधरीलाई विशेष अतिथिको आसन ग्रहण गराए ।

अरुलाई आसन ग्रहण गराएर मात्र आफ्नो नाम लिएको भन्दै सांसद चौधरीले असन्तुष्टि जनाए । आफूलाई बोलाएर अपमान मात्र गरेको उनको गुनासो थियो । त्यस लगतै यादव पक्षधरका नेताहरुको समूह मञ्चमा उक्लिएर चौधरीसँग विवाद मात्र गरेनन्, धकेलाधकेल गरेर मञ्चबाट निकालेका छन् । यसमा जिल्ला सभापति स्वयंम संलग्न भएको भन्दै नेता रञ्जित कर्णले भने, ‘मर्यादाक्रमलाई लिएर सामान्य विवाद भयो । जिल्ला सभापति आफैं उठेर सांसदलाई हान्न लाग्नुभयो, घोक्र्याउँदै मञ्चबाट निकालियो ।’

चौधरीको समूहले जनआन्दोलन चोकमा छुट्टै कार्यक्रम गरेको छ र, जिल्ला सभापति यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्दामा उजुरी दिने तयारी भइरहेको कर्णले बताए ।

जिल्ला सभापति यादवले भने सांसद चौधरीमाथि हातपात गरेको आरोप अस्वीकार गरे । उनले भने, ‘तेजुलालजीले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेपछि समस्या विवाद भएको हो । मैले उहाँलाई केही गरेको छैन । आफैं कार्यक्रम छाडेर हिँड्नुभयो ।’

प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]