बैशाख २८, २०८२ आईतबार

झापाको पन्ध्रै तहमा कृषि परियोजना

भद्रपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि १० करोड ९१ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि बजेट तथा कार्यक्रम अनुसार मकै जोन कार्यक्रमका लागि एक करोड २४ लाख ६५ हजार रुपैयाँ, धान सुपरजोनका लागि पाँच करोड ८८ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै रबर जोनमा एक करोड १४ लाख ३० हजार रुपैयाँ, सुपारी जोनका लागि एक करोड १६ लाख ८५ हजार रुपैयाँ, अन्य खर्चका लागि नौ लाख २६ हजार रुपैयाँ र कर्मचारीको तलब भत्तालगायत प्रशासनिक खर्चका लागि एक करोड ३७ लाख नौ हजार रुपैयाँ खर्च हुने कार्यालयका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिए । उनले १० वर्षे परियोजनामा आधारित प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम झापाका १५ वटै स्थानीय तहमा यसै आर्थिक वर्षदेखि सञ्चालन गरिने बताए । यसअघि कचनकवल गाउँपालिकामा मात्र सुपरजोन परियोजना सञ्चालित थियो ।

यस वर्ष परियोजनाअन्तर्गत ‘कष्टम हाइरिङ’मा किसानलाई अनुदान, खेती प्रवर्द्रधन, क्षमता अभिवृद्धि, तालीम, गोष्ठी, कृषि औजार वितरण, प्रचारप्रसार सामग्री, अनुगमन लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको उनले बताए । गत वर्षसम्म छुट्टाछुट्टै रुपमा सञ्चालित सुपरजोन, सुपारी जोन र रबर जोन अब एउटै एकाइबाट सञ्चालित हुने उनले जानकारी दिए । कार्यक्रममा कनकाईका प्रमुख राजेन्द्र पोखरेलले किसानलाई अनुदान दिँदा सुपरजोनले स्थानीय तहसँग समन्वय नगरी नदिन आग्रह गरे । उनले सरकारले उत्पादनमा वृद्धि गर्न र कृषिमा किसानको लागत घटाउन परियोजना लागू गरेको बताए । गाउँपालिकाका प्रमुख जयनारायण साहले झापामा लागू भएका तीन वटै जोनका कारण युवा स्वरोजगार हुने, गरिबी घट्ने र किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने भएकाले सफल बनाउन सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]