झापाको दश ठाउँमा कांग्रेसको विरोध सभा
झापा । नेपाली कांग्रेसले मंगलवार झापाको दमकसहित जिल्लाका दश ठाउँमा सरकार विरुद्ध खबरदारी तथा विरोध सभा गरेको छ । पार्टीले १४ दिनदेखि जारी राखेको हिमाल पहाड तराई मधेस ( हिमपत ) दोश्रो जनजागरण राष्ट्रिय अभियान अन्तर्गत सबै प्रदेश सभा क्षेत्रमा एकैसाथ त्यस किसिमका विरोध सभा गरेको हो ।
झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा ख क्षेत्रको आयोजनामा दमक चोकमा भएको सभालाई सम्बोधन गर्दै वक्ताहरुले सरकारको कार्यशैली राज्य र सामाजिक संघ संस्थाहरुमा पार्टीकरण भएको आरोप लगाए । सभामा अभियानका केन्द्रीय प्रतिनिधि विनोद राईले कांग्रेसले जनजागरण मार्फत सरकारलाई सांकेतिक विरोध गर्न बाँध्य हुनुपरेको उल्लेख गरे ।
सभामा कांग्रेस सांसद एवम नेतृ महेन्द्रकुमारी लिम्बुले प्रहरी प्रशासनमा समेत नेकपाको पार्टीकरण भित्रिँदा हिंसा पीडित महिला तथा उत्पीडितहरुले न्याय पाउन नसकिरहेको भन्दै अन्यायका विरुद्ध जनताको प्रतिनिधित्व गर्दै जुनसुकै आन्दोलनको पनि अगुवाई गर्न तयार रहेको उद्घोष गरिन् । उनले राज्यका निकायहरुमा बढ्दो पार्टीकरण र तानाशाही प्रवृत्तीले लोकतन्त्रमाथिनै खतरा बढेको आरोप लगाईन् । कार्यक्रममा पार्टीका जिल्ला उपसभापति राम कटटेलले पनि मन्तव्य राखेका थिए ।
पार्टीका ५ नम्बर क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रम प्रदेश ख क्षेत्रका संयोजक पदम लिम्बुको सभापतित्वमा भएको थियो । क्षेत्र नं ५ अन्तर्गतको क क्षेत्रको गौरादहमा पनि सोहि प्रकृतिको सभा भएको बताइएको छ । अभियानका केन्द्रीय प्रतिनिधि शेखरचन्द्र थापाको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रम रोहितकुमार शाहको सभापतित्व, यादवराज सेढाईको स्वागत र सूर्यभक्त सिटौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।
‘कम्युनिष्टले मुलुकलाई विकास र निकास दिदैन’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सरिता प्रसाईले कम्युनिष्टहरुबाट देशले निकास र विकास दुवै नपाउने भनाई राख्दै चारजना कम्युनिष्ट प्रधानमन्त्री हुँदा नबनेको संविधान नेपाली कांग्रेसले जारी गरेर मुलुकलाई निकास दिएको बताएकी छन् ।
कांग्रेस झापा क्षेत्र नं–२ अन्तर्गत प्रदेश ख ले शनिश्चरे बजारमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा लिप्त कम्युनिष्ट सरकारलाई ठूलो आश गरेर हिजो भोट हालेका जनताले अहिले राम्ररी चिनिसकेको बताईन् ।
कांग्रेस झापाका सभापति उद्वव थापाले तोडफोड र हिंसाको राजनीतिमा कांग्रेसले विश्वास नगर्ने बताउँदै शान्तिपूर्ण विरोध प्रदर्शनले ठूलाठूला परिवर्तन भएको उदाहरण प्रस्तुत गरे । संसारले त्याग्दै गएको कम्युनिष्ट शासन नेपालमा सम्भव नरहेको बताउँदै असम्भव कुरामा समय खेर फालेर देश र जनतालाई दुःख नदिन सत्ताधारीलाई सभापति थापाले सुझाव दिए ।
प्रदेश ख सभापति किरण श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला प्रतिनिधि लोकराज ढकालले विरोधसभाले औचित्यमाथि प्रकाश पारेका अर्जुनधारा नगर सभापति हेमराज खरेलले ले बताएका छन् । यसैगरी झापा क्षेत्र नं–२ प्रदेश क को आयोजनामा विर्ताबजारमा विरोधसभा सम्पन्न भएको छ । जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो सभामा जिल्ला प्रतिनिधि भक्तिप्रसाद सिटौलाको विशेष आतिथ्यमा तथा संविधानसभा सदस्य अमृतलाल राजवंशी, सजेश शिवाकोटी, भुमा घिमिरे, चन्द्र गिरी, विष्णु खरेल, भोजराज सिटौला, लिलाबहादुर कटुवाल, यज्ञप्रताप अधिकारी, उर्मिला पोखरेललगायतले वोलेका प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बाले जानकारी दिए ।
अभियानकै क्रममा कांग्रेस झापा क्षेत्र नं–१ ले प्रदेश क र ख को संयुक्त विरोधसभा काँकरभिट्टाको हनुमान मन्दिर परिसरमा सम्पन्न गरेको छ ।
कोणसभालाई जागरण अभियानका केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि रमेशजंग रायमाझी, विशेष अतिथि विन्दिया कार्की , जिल्ला प्रतिनिधि सुधिरकुमार शिवाकोटी, राजेन्द्रप्रसाद भण्डारी, क्षेत्रीय सभापति मणि उप्रेती, मेचीनगर सभापति इन्द्र बुढाथोकी, तरुण दल झापाका सभापति गोपाल तामाङलगायतले बोलेका थिए ।
हर्क फियाकको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सिता पोखरेल र सञ्चालन बद्री खड्काले गरेका थिए ।
यसैगरी झापा क्षेत्र नं– ३ प्रदेश क ले पृथ्वीनगरको सोमबारेमा विरोधसभा सम्पन्न गरेको छ । जागरण अभियानका केन्द्रीय प्रतिनिधि केदार कार्कीको प्रमुख आतिथ्य र सन्तोषकुमार मेयाङबोको विशेष आतिथ्यमा भएको कार्यक्रम चिन्तामणि खरेलको सभापतित्व, गणेश पोखरेलको स्वागत र गिताप्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी क्षेत्र न–३ प्रदेश ख ले हल्दिबारी गाउँपालिकाको मंगलबारे बजारमा विरोधसभा सम्पन्न गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य हसन अन्सारीको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि ताराविर कटुवालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत भूपाल बस्नेतले गरेका थिए भने प्रदेश क्षेत्रीय सभापति नविन विमलीको सभापतित्व र सञ्चालन तुलसी ओलीले गरेका थिए ।
यसैगरी झापा क्षेत्र नं–४ प्रदेश क ले दुधेबजारमा कोणसभा सम्पन्न गरेको छ । ब्यापक जनसहभागितासहित दुधे बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो । केन्द्रीय प्रतिनिधि दिपेन्द्र सेन्दाङको प्रमुख आतिथ्य र जिल्ला प्रतिनिधि प्रेम सम्बाहाम्फेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा किरण भट्टराई, कात्तिकलाल राजवंशी, गोविन्दवहादुर अधिकारी, रतन थिङलावो, पर्शुराम ढुङ्गाना, मिता सिटौला, दिवस बास्कोटा लगायतले बोलेको प्रदेश क्षेत्रीय सभापति कमल भण्डारीले बताए ।
यसैबीच झापा–४, प्रदेश ख ले सुरुङ्गाबजारमा विरोधसभा सम्पन्न गरेको छ । नाराजुलुससहित बजार परिक्रमापश्चात दुर्गा मन्दिर परिसरमा पुगेर कोणसभा सम्पन्न गरिएको सभामा केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि लोकप्रसाद संग्रौला, विशेष अतिथि डिल्लीप्रसाद सिटौला, कविता बस्नेतलगायतले बोलेका थिए । भीमप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत नेत्र चिमरिया र सञ्चालन शिव कडेलले गरेका थिए ।