भ्रमण वर्ष २०२० लाई लक्षित गरी काग तिहारदेखी ‘हल्दिवारी महोत्सव’
बिर्तामोड । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको हल्दिवारीस्थित लोकतान्त्रिक सहिद स्मृति पार्कमा काग तिहारदेखि ‘हल्दिवारी महोत्सव’ आयोजना गरिएको छ ।

आज हल्दिवारी गाउँपालिकाको सहिद पार्कमा बसेको कार्यपालिका बैठकले काग तिहारदेखी छठको भोलिपल्टसम्म हल्दीबारी महोत्सव आयोजना गर्ने निर्णय गरेको प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।
हल्दिबारी गाउँपालिकाको गौरवको आयोजनाको रुपमा अघि सारिएको भेलागढी सामुदायिक बनको हाता भित्र निर्माण हुदै गरेको लोकतान्त्रिक सहिद स्मृति पार्कको प्रवद्र्धन समेत गर्ने उदेश्यले महोत्सव आयोजनाको तयारी गरिएको बताइएको छ । ‘फेरि पनि घुम्न जाउँ, हल्दीबारी गाउँ’ अभियान कार्यान्वयन गर्न प्रत्येक वर्षको काग तिहारदेखी छठको भोलिपल्टसम्म ‘हल्दीबारी महोत्सव’ आयोजना गर्ने निर्णय गरेको उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।
सोमवार बिहान कार्यपालिकाको बैठक सोही पर्यटकीय स्थलको काठको पुल माथि सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । प्रथम हल्दीबारी महोत्सवको आयोजनाका लागि भेलागढी सामुदायिक वन उपभोक्ता समुहलाई जिम्मेवारी सुम्पदै बैठक सम्पन्न गरिएको उनको भनाई छ । महोत्सवलाई सभ्य र भव्य तरिकाले सफल तुल्याउन सबै पक्षको सहयोगको अपेक्षा गरिएको अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस् , हल्दिवारीको गौरव : लोकतान्त्रिक स्मृति पार्क (फोटो फिचर)