मदन भण्डारी राजमार्गमा स्थानीयबासीको अवरोध
सुर्खेत । स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध पारेका हुन् ।

स्थानीयवासीको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि भइरहेको सर्भे रोकिएको छ ।
राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयवासीबीच सहमति जुट्न सकेको छैन । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सङ्घीय सडक बोर्डले साधारण मार्ग खोलिएका दुईलाई राजमार्ग र सहायक मार्ग भनेर छुट्याउन नसक्दा विवाद बढेको बताए ।
स्थानीयस्तरमा विवाद बढेपछि सडक बोर्ड र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदले विवाद सहजीकरण गर्नुपर्ने उनको सुझाव छ । नगर प्रमुख थापाका अनुसार पञ्चपुरी–२ बेनीघाटदेखि वडा नं. ६ जाने र वडा नं. ३ को सालकोट हुँदै वडा नं. ९ को विद्यापुर जोड्ने सडकमा विवाद देखिएको छ ।
पञ्चपुरी–५ का अध्यक्ष होमबहादुर रामजालीले विवाद समाधानका लागि तल्लो र माथिल्लो बस्तीका बासिन्दासँग छलफल अघि बढाइएको जनाए । उनले छोटो दूरी, वन क्षेत्रमा पर्ने असरका साथै अधिग्रहण गर्नुपर्ने घरजग्गा कम भएको स्थानलाई छनोट गर्नुपर्ने बताए ।
“सहमतिका लागि स्थानीयस्तरमा प्रयास भइराखेको छ, धेरै दिन सर्भे रोकिनुहुन्न भन्नेमा हामी जनप्रतिनिधि सचेत छौँ,” उनले भने । डीपीआर तयार गर्ने जिम्मा सिल्टर सीआरसी र जिओकम जेभी ललितपुरले पाएको छ ।
आन्दोलित स्थानीयवासीले पञ्चपुरी–२ खम्बागाडे–सालकोट–चतुरे बाबियाचौरसम्म सर्भे हुनुपर्ने माग गरेका छन् । असन्तुष्ट स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर सर्भे रोक्नाका साथै उक्त खण्डमा चल्ने सवारीसाधन ठप्प पारेका छन् ।
सङ्घर्ष समितिका संयोजक झक्कबहादुर सिँजापतिले बढी जनसंख्या भएको क्षेत्र राष्ट्रिय राजमार्गबाट लाभान्वित हुनुपर्ने तर्क गरे । उनले आफूहरूको माग पूरा नभए आन्दोलन जारी राख्ने चेतावनी पनि दिए ।