जेष्ठ ८, २०८२ बुधबार

बालुवाटार जग्गा प्रकरण : पूर्व अख्तियार प्रमुखसहित १०० बढी विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरुमाथि बुधवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको ११४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरेको आरोपमा पूर्व अख्तियार प्रमुख दिप बस्न्यात लगायत करीब १०० भन्दा बढी माथि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमि सुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
त्यसैगरी पूर्व सचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गरिएको छ । बस्न्यात अख्तियारको आयुक्त हुँदै प्रमुख आयुक्त भइसकेका व्यक्ति हुन् । पन्त चुनावी सरकारमा मन्त्री थिए ।

भ्रष्टाचार आरोपको सूचीमा २२ रोपनी जग्गा ‘घुस’ लिएका पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, गृहमन्त्रालयका पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाई अनि सासु सोदाकुमारी चापागाई समेत छन् ।

हाल चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतममाथि पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनी विसं २०६६ सालमा मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गलत राय दिएको आरोपमा परेका हुन् । 

ललिता निवासको २९९ रोपनी जग्गा पञ्चायतकालीन सरकारले अधिग्रहण गरेको थियो । 

विसं २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक अतिक्रमण भएको उक्त जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । गैरकानूनी रुपमा व्यक्तिको नाममा दर्ता गरिएको जग्गा करीब१ ४० रोपनीभन्दा बढी छ ।

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  ६ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]