सम्पादकीय : किसानलाई प्रोत्साहन देऊ
बिर्तामोड नगरपालिकाले गत मंगलवार दिनभर किसानको बारीसम्म पुग्ने वातावरण बनाइदियो । बिर्तामोडमा खासगरी कृषि क्षेत्रको अनुगमनमा नगरपालिकाले अध्ययन गर्ने मौका पनि दियो । मेयर धु्रव कुमार शिवाकाटीले बोले जस्तै कृषिमा क्रान्ति भइरहेको छ वा छैन भन्ने बुझ्न नगरका प्रतिनिधि र पत्रकार समेत अनुगमनमा हिँडे । झापामा बिर्तामोड भन्नासाथ शहर बुझिन्छ । तर, यहि बिर्तामोडमा कृषि क्षेत्रको विकास हेर्दा लोभलाग्दो भइसकेको छ । स्थानीय सरकारले कृषि क्षेत्रमा ठुला लगानी गर्न सकेको छैन । तर, सानो आँट मात्र दिएको छैन । ठुलो आँट र सानो सहयोग पाएका बिर्तामोडका किसानले कृषिमै सुन्दर सपना देख्न थालेका छन् ।
गाउँगाउँमा सिंहदरवार आएको कुरा प्रमाणित गर्ने अवसर जनप्रतिनिधिलाई मिलेको छ । नेपालमा जनप्रतिनिधिले कृषिलाई एक चरण प्राथमिकता दिने हो भने मुलुकमा कायापलट हुने संभावना छ । झट्ट हेर्दा पूर्वाधार विकासको कामलाई मात्र प्राथमिकता दिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । प्रायःस्थानीय सरकार त्यहि बाटोमा छन् । तर, बिर्तामोड नगरपालिकाले कृषिलाई अन्य कार्यक्रम मध्ये प्राथमिकतामा राखेको स्पष्ट छ । बिर्तामोड नगरका सबै जसो वडामा कृषि उत्पादनमा जोड दिइएको छ । बिर्तामोडले एक समूह एक उत्पादनलाई कार्यक्रमका रुपमा अघि पनि बढाएको छ । अधिकांश कृषक अर्गानिक उत्पादनमा लागिपरेका छन् ।
मेगर शिवाकोटीलाई अर्गानिक मेयर भन्दै गिज्याउने काम पनि भइरहेको छ । उनले विषादी मुक्त कार्यक्रम नै बनाएर किसानको विचमा पुगिरहेका छन् । अहिले बिर्तामोडको भित्रभित्र किसान उत्साहका साथ काम पनि गर्दैछन् । स्थानीय सरकारले आर्थिक रुपमा १९ लाख लगानी गरेको छ । जहाँबाट कृषकले करिव डेढ करोड आम्दानीको लक्ष्य बनाएका छन् । नगरभित्र कृषि शाखा प्रमुख राजेन्द्र कडरियाका अनुसार तोरी ९८ विगाहमा १४ सय ७० मन, फापर ३० विगाहमा ६ सय ६० मन, आलु १० विगाहमा ३ हजार मन, राज्मा २० विगाहमा २ सय मन र सुर्यमुखी ३० विगाहमा ९ सय मन उत्पादन गर्ने लक्ष्य छ । कृषि क्षेत्रका लागि यो शुभ संकेत हो । यसैले स्थानीय सरकारबाट प्रोत्साहनको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक देखिन्छ ।