युवालाई प्राथमिकता देऊ
सम्पादकीय
पहिलो पटक झापामा युवा सम्मेलन भएको छ । जहाँ नेतृत्व तहमा रहेका युवा सहभागी भए । राजनीति, स्थानीय तह, विधार्थी र व्यवसायको क्षेत्रमा क्रियाशिल युवाले युवा आन्दोलनसहित विविध विषयमा व्यापाक छलफलको अवसर पाए । काठमाडौमा केन्द्रीत यस प्रकारका बहसलाई जिल्ला समन्वय समिति झापाले जिल्ला तहमै आयोजना गरेर सबै खाले युवाको आवाज सुन्ने र सुनाउने महत्वपूर्ण कार्यक्रम बनायो । यो अवसरका लागि आम युवाले आभार प्रकट गरे ।
रचनात्मक कामका लागि जिसस झापाले आयोजना गरेको सम्मेलनले आम युवालाई नयाँ सोच विकास गर्न उद्दत बनामएको छ । राजनीति क्षेत्र र स्थानीय तहसँगै सबै क्षेत्रका युवाले नयाँ धारणाको विकास गर्ने अवसरको रुपमा लिएको सम्मेलन महत्वपूर्ण र अर्थपूर्ण छ । हरेक क्षेत्रको अस्वस्थ्य प्रतिस्पर्धाले आम युवाले समाजमा खेल्नुपर्ने भूमिका खेलिरहन सकिरहेका थिएनन् । यसै सम्मेलनले सामाजिक रुपान्तरणका लागि लाग्न थप प्रोत्साहित नै गरेको छ ।
राज्यको नीति निर्माण गर्ने तहमा युवाको सहभागिता विस्तारै बढ्दैछ । तर, अझै पनि युवाको आवाज पूर्ण रुपमा सम्बोधन भइरहेको अवस्था छैन । त्यसका लागि झापाबाट आम युवाहरुले स्वस्थ्य तवरबाट रचनात्मक ढंगले आवाज उठाउन जरुरी छ । शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा युवाको अर्थपूर्ण सहभागिता जरुरी छ । राज्यको नीति निर्माण गर्ने तहमा रहेका युवा नेतृत्वलाई तल्लो तहबाट आवश्यक सूझाव र खवरदारी गर्न पनि उत्तिकै आवश्य देखिन्छ । यसैले रुपान्तरणको अभियानलाई शसक्त र मजबुद बनाउन युवा सहभागिता नै प्राथमिक बन्नुपर्छ ।