जेष्ठ ११, २०८२ शनिबार

अमेरिकामा विश्‍वमै सबैभन्दा बढी संक्रमण

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेको संख्या अमेरिकामा ह्वात्तै बढेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा रहेको छ ।

शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ५ सय ९४ पुगेको छ। त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय पुगेको छ। त्यस्तै अमेरिकामा करिब २ हजार संक्रमित निको भएको पनि त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने शुक्रबार बिहानसम्म संक्रमितको संख्या ८१ हजार ३ सय ४० पुगेको छ। चीनमा अहिलेसम्म ३ हजार २ सय ९२ को मृत्यु भएको छ भने करिब ७५ हजार निको भएका छन्।

कोरोना संक्रमणले आक्रान्त अमेरिकामा पछिल्लो हप्ता मात्रै ३३ लाख नागरिक बेरोजगार भएका छन्। व्यापार व्यवसाय ठप्प छन् भने अर्थतन्त्र डामाडोलको अवस्थामा छ। न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले चेतावनी दिएझैं अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा बढिरहेको छ। बिहीबार मात्रै अमेरिकी सिनेटले कोरोना प्रकोपसँग जुझ्न २ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ।

स्पेनमा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

इटालीपछि सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको स्पेनमा शुक्रबार बिहानसम्म ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ।
शुक्रबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ। मार्च १३ देखि पुरै लकडाउन गरेर कोरोनाको महामारी नियन्त्रणका लागि कदम चाले पनि सफल हुन सकेको छैन। स्पेनले नेटो, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संघसंस्थालाई औषधि र व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) लगायतका सामग्री उपलब्ध गराइदिन आग्रह गरेको छ।
त्यस्तै शुक्रबार बिहानसम्म कोरोना संक्रमणबाट इरानमा २ हजार २ सय ३४, फ्रान्समा एक हजार ६ सय ९६, बेलायतमा ५ सय ७८, नेदरल्यान्ड्समा ४ सय ३४, स्विजरल्यान्डमा १९२, बेल्जियममा २२० र दक्षिण कोरियामा १३९ जनाको मृत्यु भएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले पुरै विश्वभर फैलिइसकेको छ। शुक्रबार बिहानसम्म विश्वभर ५ लाख ३२ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् भने २४ हजार ८७ जनाको मृत्यु भएको छ। त्यस्तै एक लाख २४ हजारभन्दा बढी निको भएका छन्।



प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]