नकारात्मक उर्जाबाट कसरी बच्ने
रमेश ढकाल
सामाजिक संजालहरुमा होस् या पत्रपत्रिका तथा रेडियो टेलिभिजन अहिले सबैतिर एउटै बिषयका बारेमा चर्चा भइरहेको छ । नहोस् पनि किन ? किनकी अहिले संसार भरिकै बातावरण एक किसिमको भय र चिन्ताले डगमगाएको अवस्था छ । शायद हामीले यो भन्दा पहिला यस्तो अवस्थाको सामना कहिले पनि गर्नु परेको थिएन । अब अहिले विश्वका प्रायः सबै देशहरुमा यो अत्यन्तै चुनौतीपूर्ण समस्याको रुपमा देखा परेको छ । केही देशहरूले त यसलाई ‘हेल्थ वार’ भनेर पनि भनेका छन् ।

यस्तो अवस्थामा, के गर्दा चै उचित होला भनेर हामी लगातार सोची रहेका छौं र आफूलाई बचाउन जोगाउन आआफ्नो ठाउँबाट सक्दो प्रयास पनि गरिरहेको छौं । यो पुरा प्रकृयामा, हाम्रो मानसिक स्वास्थ्यमा यसको कुनै नकारात्मक असर पुगोस् भने हामी चाहदैनौ अथवा यो बिषयमा हामी सचेत रहन चाहन्छौं । यसका लागि हाम्रो सोच सही हुन आवश्यक छ भन्ने कुराको ज्ञान पनि हामीलाई छ । तर केवल यसको ज्ञान हुनु मात्र पर्याप्त छैन । किनकी हामीले यो कुरालाई सैद्धान्तिक रूपमा त बुझेका छौँ तर मुख्य समस्या भनेको यसको व्यवहारिक कार्यान्वयन हो, जुन कल्पना गरे जस्तो सहज छैन ।
आज प्रविधिको विकाससँगै देश दुनियाँका घटनाहरुका बारेमा मिनेट मिनेटमा प्राप्त हुने समाचारहरुले हामीलाई नचाहाँदा नचाहँदै पनि हरेक पल त्रसित र चिन्तित बनाई रहेको अवस्था छ । यस्तो माहोलमा हामी मानसिक रुपमा कसरी ‘काम् र अनएफेक्टेड्’ रहन सक्छौं भने बिषयमा ब्रह्मा कुमारी विश्व आध्यात्मिक विश्वविद्यालयकी शिक्षक, प्रख्यात मोटिभेशनल स्पिकर तथा विश्व मनोचिकित्सक संघकी राजदूत सिस्टरशिवानीले ‘थिन्क् राईट्’ टिभी कार्यक्रम मार्फत शेयर गर्नुभएका केही महत्वपूर्ण सुझावहरूलाई अहिले यो महामारीका कारण बनेको असहज परिस्थितिमा हामीलाई शक्तिशाली बनिरहन सहयोग पुगोस् भन्ने उद्देश्यले यो लेख मार्फत शेयर गर्दै छु ।
सिस्टर शिवानीका अनुसार अहिलेको यो परिस्थितीमा हामीले ख्याल राख्ने सूचीमा सबै भन्दा धेरै यि तिनवटा कुराहरुलाई महत्व दिएर शेयर गरिरहेका छौँ (१) समय समयमा हात धोइ राख्ने (२) सामाजिक रुपमा एक अर्काबाट टाढा बस्ने (३) आफ्नो घर तथा परिसर सफा र स्वच्छ राख्ने । यि सबैकुराहरुको अलावा, हाम्रो सुचीको सबै भन्दा माथि हुने पर्ने एउटा अर्को महत्वपूर्ण फ्याक्टर अथवा कुरो हो हाम्रो सोच । अहिलेको यो बिसम परिस्थितिमा हाम्रो सोच सही र सकारात्मक हुन एकदमै आवश्यक छ ।
हामी शारीरिक रूपमा मेहनत गरेर हाम्रो घरलाई सफा, सुग्घर र स्वच्छ राख्न सक्छौं । तर यदि त्यो घरमा बस्ने सदस्यहरुको मन भित्र भने जतिखेर पनि डर, त्रास, चिन्ता जस्ता नकारात्मक उर्जाहरु प्रवाह भइराखे भने यसलाई हामी सफा घर भन्न सक्दैनौं । यस्तो अवस्थामा, त्यो घरमा बस्ने वा प्रवेश गर्ने जोकोही यसबाट प्रभावित हुनेछन् । यसले गर्दा घरका सम्पूर्ण सदस्यहरु प्रतक्ष वा अप्रतक्ष रुपमा जतिखेर पनि डर, त्रास र चिन्तामा पिरोल्लिएर बस्ने हुनाले घरमा अर्को एउटा नयाँ चुनौती थपिन पुग्छ ।
यो अवस्थामा के गर्न हुन्छ र के गर्न हुंदैन भनेर हामीले आआफ्नो मनमा आफुले अपनाउनु पर्ने जुन एउटा सावधानीको सूची तयार पारेको छौं, त्यसको सबै भन्दा माथि ‘थिङ्क राइट’ अर्थात हाम्रो सोच सधैं सहि र सकारात्मक हुनु पर्छ भन्ने कुरा चै शीर्ष स्थानमा हुनुपर्छ । हामीले बारम्बार आफ्नो हात धुनु पर्छ । यो धेरै, धेरै महत्वपूर्ण छ तर यसको साथसाथै हामीले हाम्रो दिमाग याने सोच सधैं सफा राख्नु पर्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले यि दुइटै कुरालाई संगसंगै लैजान अत्यन्तै आवश्यक छ । र अर्को कुरा जबसम्म हामी यो कुरा आफैलाई बारम्बार सम्झाउदैनौं बुझाउदैनौं, त्यति सजिलैसँग यसमा हाम्रो ध्यान केन्द्रित हुनेवाला छैन अथवा हामी सहजै कन्भिन्स् हुनेवाला छैनौं । यस्ता कुरामा हाम्रो स्वभाव निक्कै ज्याद्रो भएर प्रस्तुत हुन्छ ।
शारीरिक रूपमा हात धुन सजिलो छ । यदि यो कुरा हामीले एउटा सानो बच्चालाई सिकायौं भने पनि उसले अर्को पल बाट आफ्ना आमा बुबालाई हात धुनुहोस् भनेर बारम्बार सम्झाउन सुरु गर्छ । किनभने यो गर्न सजिलो छ । तर हामीले हाम्रो दिमाग पनि सफा राख्नु पर्छ अर्थात हाम्रो सोच सकारात्मक हुनुपर्छ भन्ने कुरा आँफै सम्झन वा अन्य कसैलाई सम्झाउन बुझाउन उति सहज छैन । यसका लागि निक्कै प्रयास गर्नु पर्ने हुन्छ, त्यसैले यो कुरा आफु स्वयम तथा परिवार समाजमा सबैलाई बारम्बार सम्झाउन बुझाउन त्यतिखेर सम्म आवश्यक छ, जब सम्म यो हाम्रो नेच्युरल ह्याबिट् बन्दैन ।
हाम्रो दिमाग अर्थात हाम्रो सोच सकारात्मक किन हुनुपर्छ? यसका लागि हामी भित्र सिर्जान हुने सोचले कहाँ असर गरिरहेको छ भन्ने कुरालाई अलिक गहिरिएर हेरौं। चिकित्सा विज्ञानका अनुसार हामी भित्र एकदिनमा ६० देखि ८० हजारसम्म विचारहरूको सिर्जना हुने गर्छ। मतलब, एक मिनेटमा सरदर ४० देखि ५५ वटासम्म विचारहरू मनमा जन्मदै मर्दै गर्ने रहेछन् । हामी भित्र जन्म हुने यि हरेक सोचरविचारले हाम्रो भावनालाई असर गरिरहेको हुन्छ । मानौं हामी भित्र कुनै विचारको जन्म हुन्छ जस्तै, यो संक्रमण बाट धेरै व्यक्ति प्रभावित भैसके, यो अत्यन्तै छिटो फैलदै छ, यसबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गैरहेको छ’ यस्ता विचारहरुको आधार भनेको हमीलाई पल पलमा प्राप्त हुने सम्बन्धित अप्डेट्स् नै हुन् । हामी यस्ता अप्डेट्स् तथा जानकारीहरुको आधारमा मन भित्र अनेकौँ सोचहरुको सिर्जना गर्छौं । जसका कारण हामी भित्र त्रासको भावना पैदा हुन थाल्छ । जस्तो सोच, भावनाको विकास पनि उसैअनुरुप हुने गर्छ ।
अक्सर हामी आफु भित्र भावना पैदा गर्दैछौं भन्ने कुरालाई महसुस गर्दैनौं वा महत्व दिदैनौं । कुरै कुरमा हामी कहिलेकाही यस्तो भावनाको निर्माण मैले थोडी जानी जानी गरेको हो र? यो त आफै हुनेगर्छ भनेर भनिरहेका हुन्छौं । यसको मतलब हामी यो विश्वास गर्छौं कि हामी भित्र उत्पन्न उने विचार तथा भावना अन्य कहिबाट आउँने गर्दछन् । तर सत्य के हो भने हामी भित्र उत्पन्न हुने हरेक विचार तथा भावनाहरुको सिर्जना हामी स्वयम नै गर्ने गर्दछौं । उही जानकारीलाई लिएर फरक–फरक मनिसहरुमा फरक–फरक सोच तथा भावनाहरुको सिर्जना हुने गर्छन् । तर हरेक ब्यक्ति भित्र सिर्जना हुने विचारको छनौट ऊ स्वयमले गर्ने गर्छ र त्यसको असर उसको भावनामा पर्दछ । र त्यस्तो भावनाको असर सिधा मानसिक स्वास्थ्यमा पर्ने गर्छ । अर्को महत्वपूर्ण कुरा, हामी भित्र उत्पन्न हरेक विचारहरु शरीरका एक एक अङ्गहरुमा प्रवाह हुन्छन् । चिकित्सा विज्ञान भन्छ, हामी भित्र उत्पन्न विचारहरु हाम्रो शरीरको हरेक कोषमा पुग्ने गर्छन् र उसै रुपको असर गरिरहेका हुन्छन् ।
अब कल्पना गर्नुस, प्रति मिनेट सरदर ४० देखि ५५ वटासम्म विचारहरू हाम्रो मनमा जन्मदै मर्दै गर्दा, ति उत्पन्न विचार तथा भावना सहि र सकारात्मक भैदिएनन् भने त्यसले हाम्रो मानसिक स्वास्थ्यमा कुन हद सम्मको असर गर्न सक्ला ? यसका बारेमा हामी आँफै पनि अनुमान लगाउन सक्छौं ।
अहिले हामी धेरै जसो लगातार आफु भित्र डर तथा चिन्ता पैदा गरिरहेका छौं । अहिलेको अवस्थामा यो संक्रमण सम्पूर्ण रुपमा उन्मुलन हुनलाई केहि समय लाग्ने देखिन्छ तर यो उन्मुलन हुने कुरामा भने हामी सय प्रतिशत ढुक्क रहन सक्छौं । जसका लागि हामीले अरु केही हप्ता महिना सावधानि अप्नाउनु पर्ने हुनसक्छ तर त्यसबेला सम्म लगातार डर चिन्ता आफु भित्र पैदा गरिराख्नुलाई कतै बुद्धिमानी वा समझदारी मान्न सकिदैन ।
हमीले याद गर्नु पर्ने एउटा महत्वपूर्ण कुरा के छ भने, हाम्रो शरीरको कुन चाहीं अंग अलिक कमजोर छ भन्ने कुराको ज्ञात हामीलाई हुँदैन । कसैको मुटु थोरै कम्जोर हुन सक्छ, कसैको कलेजो त कसैको किड्नी, त्यस्तै कसैको मेरुदण्डनै पनि थोरै कम्जोर भएको हुनसक्छ । यस्तो अवस्थामा, यदि हामीले लगातार आफु भित्र डर चिन्ता रेडिएट् गरिराख्यौं भने यसले पहिला बाटनै केही कमजोर रहेका ति अंगहरुलाई अझ कम्जोर बनाउने निश्चित छ । त्यसैले हामी भाइरस बाट त जोगिन्छौं नै तर यो सम्पूर्ण प्रकृयामा हाम्रो शरीर भित्र अन्य कुनै नयाँ समस्याहरु उत्पन्न नहुन् भन्ने कुरामा पनि हामी सचेत रहन उत्तिकै आवश्यक छ ।
उदाहरणका लागि डर तथा चिन्ताका कारण हाम्रो सुगर, कोलेस्ट्रा‘ल, ब्लडप्रेसरको लेभलमा नकारात्मक प्रभाव पर्न सक्छ । किन भने हामी मध्ये धेरै पहिले बाट नै यस्ता धेरै बिमारीहरुको बोर्डर लाइनमा बसिरहेका हुन्छौं । एउटा तनदुरुस्त मान्छेका लागि त खासै फरक नपर्ला, तर जो पहिलेबाट नै यस्ता बिमारीहरुको बोर्डर लाइनमा छ, त्यस्ता ब्यक्तिको मानसिक तथा शारीरिक सामथ्र्य डर चिन्ता जस्ता कुराहरुलाई लामो समय सम्म झेल्न सक्ने हुँदैन । यस्तो अवस्थामा उत्पन्न चिन्ता युक्त सोच हाम्रो शरीरको हरेक कोष कोषमा रेडिएट् हुन पुग्छ । यसले सबै भन्दा पहिला त हाम्रो भावनालाई असर गर्छ, दोश्रो हाम्रो शरीरलाई, तेस्रो हाम्रो सोचलाई र अन्तत हामी मार्फत यो अन्य मानिसहरुमा पनि रेडिएट् हुने भएकोले यसको असर हाम्रो संपर्कमा आएका सम्पूर्ण मानिसहरुमा पर्न जान्छ ।
हामी आफुलाई भाइरसबाट जोगाउनका लागि मानिसहरु संग शारीरिक रूपमा अलग बस्न सक्छौं । अहिले हामी आआफ्नो घरमा बसेर त्यसो गरिनै राखेको छौँ । महत्वपूर्ण कुरा के हो भने हामी घरमा बसेर अन्य मानिसहरुबाट शारीरिक रूपमा टाढा रहन सक्छौं, तर अन्य मानिसहरुको सोच र उनिहरु बाट उत्पन्न हुने भाइब्रेशन्बाट अलग्गिन टाढिन सक्दैनौं । उदाहरणका लागि यदि मेरो छिमेकमा कोही लगातार डर चिन्ता ब्यक्त गर्न थाल्यो भने त्यसको तरङ्गको प्रभाव मेरो घरमा पनि प्रवेश गर्छ । त्यसैले सामाजिक रूपमा आफूलाई टाढा राखे पनि हाम्रो आसपास तथा समाजमा उत्पन्न हुने नकारात्मक तरङ्गहरु बाट आफुलाई टाढा राख्न सक्दैनौं ।
त्यसो भएको कारणले हामीले बिर्सन नहुने एउटा महत्वपूर्ण कुरा के हो भने मेरो मनमा अनावश्यक रुपमा उत्पन्न हुने सोचले मलाई मात्र हानी गर्दैन, यसले घरका अन्य सबैलाई हानि पुर्याउँछनै संगसंगै यसले छिमेक, समाज, देश हुँदै अन्ततः यस्तो सोचले सम्पूर्ण विश्वलाई नै प्रभावित बनाउन सक्छ । यसकारण आफु भित्र सिर्जना हुने सबै प्रकारका नकारात्मक सोचहरुलाई हामीले तुरुन्त रोक्नु पर्छ, मोड्नु पर्छ, त्यस बाट ध्यान हटाउनु पर्छ । किनकी हामी जब सोच्छौं, हामी अन्तहिन गतिमा सोच्न थाल्छौं । एउटा लाग्छ, ऊ के सोचिरहेको छ भन्ने कुरा अर्कोलाई थाहा हुँदैन त्यसैले प्राप्त यो स्वतन्त्रतालाई ऊ सोच्ने कर्ममा खुब प्रयोग गर्छ ।
जब हामी डराएको अवस्थामा हुन्छौं, कुनै अनिष्ट पो हुने हो कि भनेर सोच्ने गर्छौ । सोच्दा सोच्दै हामी त्यो हदसम्म सम्म पुग्छौँ जहाँ कदाचित् मलाई केहि भैहाल्यो भने मेरो परिवारको के हुन्छ होला ? बच्चाहरूको भविष्य के होला ? भनेर चिन्ता गर्न पुग्छौं । यसको मतलब जब हामी डराउँछौं हाम्रो सोचको कुनै सीमा रहदैन, हामी हर हद पार गरिदिन्छौं । यो अवस्थामा हामीले मेरो मनमा उत्पन्न डर चिन्ताले यो पृथ्वीका हरेक प्राणीहरुलाई प्रभाव पार्दै छ भनेर आफूलाई सेचेत गराउनु पर्छ, सम्झाउनु पर्छ र तुरुन्त त्यस्तो सोचलाई रोक्नु पर्छ, मोड्नु पर्छ ।
यसो गर्न सक्यौं भने हाम्रो सोच परिवर्तन हुनेछ । हामी स्वयम परिवर्तन हुनेछौँ। जसका कारण हाम्रो घर, छिमेक, समाज हुँदै हाम्रो देश तथा सम्पूर्ण विश्वमा एउटा सकारात्मक उर्जाको प्रवाह हुनेछ । त्यसैले जब जब तपाईं भित्र कुनै डर चिन्ताको सिर्जना हुन्छ, यसले पुर्याउन सक्ने नोक्सानलाई याद गर्दै आफुलाई सचेत गराउनु पर्छ । संक्रमण सर्ने तथा फैलिने कुराहरुमा हामी त्रसित हैन सजग रहनु पर्छ । अहिले हामी आआफ्नो घरभित्र सुरक्षित छौँ । केही समय हामी घर भित्रनै बसौँ। धैर्य गर्न सक्नुपर्ने, मनलाई सम्हाल्नुपर्ने तथा उच्च स्तरको सुझबुझ देखाउने यही बेला हो ।
भद्रपुर–७ ( हाल दोहा, कतार) [email protected]