बिर्तामोड नगरपालिका वडा नं. ३ ले आफ्नो तीनवर्षे कार्यकालमा विकास निर्माण, सामाजिक सुधार र जनसरोकारका विषयमा के–कस्ता काम ग¥यो ? स्थानीय तहमा बजेटको सीमितता र नागरिकका असीमित अपेक्षाबीच सन्तुलन मिलाएर काम गर्नु कति चुनौतीपूर्ण छ ? यी प्रश्नको जवाफ खोज्ने क्रममा हामीले बिर्तामोड नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथोकीसँग विस्तृत कुराकानी गरेका छौँ । प्रस्तुत अन्तर्वार्तामा वडाध्यक्ष बुढाथोकीले आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधार निर्माणका उपलब्धि, पिछडिएका र विपन्न समुदायको उत्थानको प्रयास, बजेट व्यवस्थापनका जटिलता र जनप्रतिनिधिका रूपमा भोग्नुपरेका व्यक्तिगत तथा व्यावहारिक चुनौतीहरूबारे खुलेर आफ्ना धारणा राख्नु भएको छ ।
१. बिर्तामोड नगरपालिका वडा नं. ३ ले चालु आर्थिक वर्षमा गरेका कामहरू के–के छन् ?
बिर्तामोड वडा नं. ३ को यस चालु आर्थिक वर्षको कामको कुरा गर्दा, सुरुमा संघीय सरकारतर्फको सूर्य नगर जोड्ने बाटो २ करोड बराबरको लगानीमा सडक कालोपत्रे भएको छ । अहिले मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलअगाडि १ करोड बराबरको कालोपत्रे र पिलर लगाइएको छ ।
त्यस्तै, डोमालाल राजवंशी रंगशालामा एक करोडको घेराबार भएको छ । विगतमा डोमालालको जग्गा अतिक्रमण गरी बसोबास गरेका एक दर्जन परिवारले सो स्थान छाडेर रंगशाला निर्माणमा सहयोग गर्नु भएको छ ।
प्रदेश सरकारतर्फबाट बिर्ता बजारमा ३० लाख बराबरको लगानीमा तटबन्धन भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा ३–४ वटा बाटोहरूको स्तरोन्नतिका काम भएका छन्, जसअन्तर्गत करिब एक÷डेढ करोड प्रदेश सरकारबाट आएको हो ।

वडाको सिलिङ बजेट एक करोडको थियो । गतवर्ष काम हुने गरी ‘रिभल्विङ फन्ड’बाट ३० लाख रुपैयाँ घटेर आएको थियो । बाँकी रकमबाट नगरको ४० प्रतिशत, वडा सरकारको ४० प्रतिशत र स्थानीय उपभोक्ताको २० प्रतिशत लागत साझेदारीमा १३ वटा बाटाहरू पेवर्स भएका छन् । हामीसँग उभिएको बजेट भनेको एक वर्षमा जम्मा ७० लाख रुपैयाँ थियो ।
सोही ७० लाखबाट क्रमागत पेवर्स, पिलर, लक्षित कार्यक्रम, सडक बत्ती, विद्युतीकरण र सीसीटीभी क्यामेरा जडानका काम भएका छन् । नगरपालिकाको सहयोग र इलाका प्रहरी कार्यालय, बिर्तामोडको निगरानीमा ९ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । वडा नं. ३ बजार क्षेत्र भएकाले यहाँ हुने चोरी तथा चोकमा हुने लागुपदार्थ दुव्र्यसनको समस्या न्यूनीकरण गर्न सीसीटीभी क्यामेरा जडान गरिएको हो ।
लक्षित कार्यक्रमअन्तर्गत, वडा नं. ३ का बासिन्दाले आफ्नो जातीय पहिचान र राष्ट्रियता नबिर्सिऊन् भन्ने उद्देश्यले जातीय खानाका लागि बिर्ता बजारको महेन्द्ररत्न अनारमनी कलेजको प्रवेशद्वारबाट भित्र जाने ठाउँमा ६ वटा स्टल लगभग तयारी भइसकेका छन् । सो स्टलमा जुनसुकै जातीय खाना बेच्न पाइनेछ । सम्भवतः वडा नं. ३ मा सडक बत्तीको समस्या सकिएको छ ।
आउँदो वर्षको बजेटमा भने योग शिविर, थप सीसीटीभी क्यामेरा जडान र बिर्ता बजारमा हरियाली पार्क बनाउने महत्वाकांक्षी योजना रहेको छ । कामको तनावबाट मुक्त हुन र आराम गर्न यसले सहयोग पुग्नेछ ।
२. भौतिक पूर्वाधारबाहेक अन्य क्षेत्रमा के गर्नु भएको छ ?
हामीले भौतिक पूर्वाधारसँगै मानव विकासका कार्यक्रमहरू पनि दिएका छौं । लक्षित कार्यक्रमअन्तर्गत जुन तरिकाले खर्च विनियोजन गरेर कार्यक्रम गरियो, त्यसको नतिजा २० प्रतिशत मात्र आयो, ८० प्रतिशत नतिजा आउन सकेन । अहिले यति धेरै माग आउँछ कि माग थेग्न सक्ने अवस्था छैन ।
बिर्तामोड वडा नं. ३ मा विपन्न समुदाय, सुकुम्वासी, दलित समुदायको संख्या धेरै भएका कारण उनीहरूको राम्रो आर्थिक उपार्जन नहुँदा तालिमका लागि एक दिनको पारिश्रमिक छुट्याएर आउन सक्ने अवस्था छैन । नत्र भने उनीहरू आउन सक्नुहुन्न । अहिलेसम्म हामीले त्यो समूहलाई समेट्न नसकेको जस्तो लाग्छ ।
३. ती समुदाय र समूहको अवस्था कसरी परिवर्तन गर्ने त ?
‘एडभान्स’ तालिम भनेर बोलाउँदा एक घरबाट एक व्यक्ति आउनुहुन्छ । रंग लगाउने, प्लम्बर, कार्पेन्टरको तालिम दिँदा पनि उहाँहरूलाई आकर्षण गर्न सकिएन । तर, उहाँहरूको गाउँ, टोल र घरमा पुगेर विद्यालय भर्नाको काम गरिएको छ । यी समुदायको अवस्था परिवर्तन गर्न व्यवस्थित खाका बनाएर अघि बढ्छौं ।
४. वडावासीहरूको माग कुन क्षेत्रमा धेरै छ ?
लक्षित कार्यक्रममा वडा नं. ३ धेरै संघ–संस्था भएको वडा हो । उहाँहरूलाई वडासँगको भेटघाट कायम राख्न सरदरमा ३०-३० हजार सहयोग प्रदान गरेका छौं । वडावासीको धेरै माग बाटोघाटो र सडक कालोपत्रे आदिमा आउँछ ।
५. कनिका छरे जस्तो बजेट छर्दा उपलब्धि आउँछ त ?
यो सहयोग उपलब्धिभन्दा पनि शिर उठाउने काम मात्र हो । सबैलाई खुसी पार्दै जानुपर्दो रहेछ । खुसी पारेर उहाँहरूको भावना समेटेर काम गर्दा हाम्रो वडाको १४ हजार जनसंख्या रहेको छ। १४ हजारको भावना समेट्नुपर्ने, भौतिक संरचना, सडक, खानेपानी, युवा, खेलकुद, बिजुली, महिला कार्यक्रम सबै त्यही ७० लाखबाट खर्च गर्नुपर्ने अवस्था र समस्या छ ।
६. आर्थिक वर्ष ०८१-०८२ को नीति कार्यक्रम अनुसार के कति काम पूरा भयो ?
संघीय सरकारबाट आएको बजेटबाट ३ करोडका सडकहरू कालोपत्रे सम्पन्न भइसकेका छन् । रंगशालाको कम्पाउन्ड निर्माण सम्पन्न भएको छ । बजेट कार्यान्वयन गर्न अप्ठ्यारो भनेको ठूला योजनामा हो । तर, हाम्रोमा आएका संघीय सरकारका ठूला योजनाहरू सम्पन्न भइसकेका छन् । त्यसमा म खुसी छु । विराटपोखरको पोखरी ९० लाखको बजेट विनियोजन भएको थियो । ७५ लाखमा ठेक्का लागेर काम अन्तिम चरणमा पुगेको जानकारी पाएको छु । प्रदेश सरकारको एउटा ३० लाख र अरू १०-१० लाखका योजनाहरू परेका थिए, ती पूरा हुने क्रममा छन् । वडाका पनि धेरै योजना सम्पन्न भइसकेका छन् ।
७. आर्थिक वर्ष ०८२-०८३ को बजेट बनाउँदा के कुरालाई प्राथमिकता दिनु हुनेछ ?
अब हाम्रो वडामा काम गर्न निकै गाह्रो अनुभव गरेको छु । किन गाह्रो भने, संघ–संस्थाको कुरा गरौँ, मेहरमान स्मृति कभर्ड हल, गुरुङ, राजवंशी, तामाङको भवन यहीँ छ । विराटपोखरको भवन, नेत्रहीन संघको भवन पनि यहीँ छ । भरत–विराट विश्रान्ति भवन पनि यहीँ छ । मस्जिद, मठ–मन्दिर यहीँ छन् । संघ–संस्था धेरै भएकाले महेन्द्ररत्न मावि, अनारमनी पब्लिक कलेज पनि यहीँ छ । एउटालाई दियो भने अर्को रिसाउने, उसको माग ५ लाख बढी छ । कसरी धान्ने ?
शिक्षा, स्वास्थ्यको विषयमा उल्लेखनीय प्रगति भएको छ । वडाले बजेट नछुट्याए पनि उहाँहरूको पक्षमा पालिका र अन्य निकायमा बजेट पार्नका लागि पहल, लबिइङ र समन्वय गरिरहेका छौं । २०७९ पछि बिर्तामोड नगर अस्पतालमा धेरै परिवर्तन भएको छ । लागुऔषध प्रयोगलाई कम गर्न युवा लक्षित खेलकुद कार्यक्रम, योग सञ्चालन, ज्येष्ठ नागरिक चौतारी पार्क, सीसीटीभी क्यामेरा जडान लगायतका योजनालाई प्राथमिकता दिने बताएका छौँ ।
८. वडा नं. ३ मा रहेका मदरसाको हिजोको स्थिति कस्तो थियो, आज कस्तो छ ?
मदरसाको कुरामा नगरपालिकाले बजेट व्यवस्था गरेको छ । संस्थालाई पनि नगरपालिकाले बजेट दिने गरेको छ । वडाले दिनेभन्दा पनि लबिइङ गर्ने गरेका छौं । मदरसालाई सहयोग गर्नुको कारण उनीहरू पनि पिछडिएका वर्ग हुन् । मुस्लिम समुदाय धर्ममा बढी आस्था राख्छन् । महिला, बालिकालाई घरभित्र मात्र राख्ने मुस्लिम समुदायका बालिकालाई पनि पढाउन मदरसा पठाउने गरेको पाइएको छ । यसले सकारात्मक सन्देश दिएको छ । मुस्लिम समुदायको नेतृत्वमा चलिरहेको मदरसामा विद्यार्थी संख्या बढ्ने क्रम जारी छ । मुस्लिम समुदायभित्र पढ्नु र पढाउनुपर्छ भन्ने कुरामा सचेतना आएको छ ।
९. पिछडिएका क्षेत्र र समुदायको उत्थानका लागि बजेट बनाउँदा कस्ता योजना ल्याउनु हुन्छ ?
आगामी बजेटमा पिछडिएका समुदायले सिक्न चाहेको रोजगारी दिने खालका सीप सिकाउने कुरालाई पहिचान गरी प्राथमिकता दिएर कार्यक्रम ल्याउने छौं ।
१०. वडाको मेलमिलाप केन्द्रमा कुन–कुन प्रकृतिका मुद्दा आउने गरेका छन् ?
वडामा सबैभन्दा धेरै लेनदेनका मुद्दा आउने गरेका छन् । दोस्रो, घरेलु हिंसाका घटनाका मुद्दा । शिक्षाबाट वञ्चित भएका कारणले पनि घरेलु हिंसाका घटनाका मुद्दा आउने गरेका छन् । अन्य वडामा आउने मुद्दा नै यहाँ पनि आउँछन् ।
११. मेलमिलाप केन्द्रमा आएका मुद्दा छिनोफानो गर्दाका अवसर र चुनौती के पाउनु भयो ?
मुद्दा छिनोफानो गर्ने क्रममा राम्रो पक्ष भनेको जनप्रतिनिधिहरूले सिक्ने अवसर पाइयो । कसैलाई न्याय दिनुपर्दा बुझ्नुप¥यो, बुझ्दाखेरि पढ्नु प¥यो । एक पक्ष रिसाउने र अर्को पक्ष खुसाउने हुन्छ । गतवर्ष ७० मुद्दा दर्ता भएकोमा ६४ वटा मुद्दा टुंग्यायौं । २ वटा विचाराधीन छन् र ४ वटा मुद्दा नगरपालिकाको न्यायिक समितिमा पठाएका छौं ।
१२. समृद्ध वडाका लागि के कस्ता योजनाहरू ल्याउन लाग्नु भएको छ ?
जम्मा ७० लाख रुपैयाँ हुँदोरहेछ। योजना त बनाउनै सकिँदैन रहेछ । सबैलाई चाहिने बाटो हो । हाम्रो वडाको कुरा गरौँ, ३२ वटा टोल विकास संस्था छन् । ७० लाखले ती टोलको कहाँ, कति विकास गर्ने ? जनता, वडावासीको अपेक्षा धेरै छ । जनताले पनि सुध्रिनु पर्छ, नेतालाई मात्र भन्ने होइन। ४-५ लाख रुपैयाँमा धुरको जग्गा बेच्ने तर एउटा बिजुलीको पोल नगाड्ने प्रवृत्ति छ । सबै कुरालाई व्यवस्थापन गर्न गाह्रो छ । केन्द्रले पठाएको बजेट खर्च गर्ने निश्चित खाका हुन्छ । वडाध्यक्षले ५ लाख रुपैयाँले वडाको काम गरेर देखाउनुपर्ने रहेछ ।
१३. वडावासीहरूको माग र अपेक्षा त धेरै हुन्छ, तर आन्तरिक कर संकलनको अवस्था कस्तो छ ?
वडाको कर संकलन गर्दा गतवर्ष सबै वडामध्ये हाम्रो वडा तेस्रो स्थानमा थियो । कर संकलन जस्तो गाह्रो केही पनि रहेनछ । त्यसैले नामै ‘कर’ भएको रहेछ । घर–बहाल करको मुद्दा आउँछ । धेरै व्यवसायीलाई करको दायरामा ल्याउन सकिएको छैन । जनताले कर तिर्न नचाहने तर उहाँहरूलाई नै विकास चाहिने स्थिति छ ।
१४. तपाईंहरूले जनप्रतिनिधिको जिम्मेवारी पाएको ३ वर्ष भयो । के राम्रा कुरा पाउनुभयो, के सिकाइ भयो ?
जनप्रतिनिधिलाई सबैले चिन्ने व्यक्तित्व विकास गर्ने अवसर पाइने रहेछ । सुधार गर्नुपर्ने कुरामा, चाहना र आवश्यकता धेरै छन्, तर बजेट थोरै छ । धेरै जनताले कर तिर्न मान्दैनन् । सरकारी कामअन्तर्गत संरचना बन्यो भने दिनभरि कसैले केही सामाजिक सञ्जालमा पोस्ट गर्दैन । नबनेका कुरामा चाहिँ ‘यो किन बनेन ?’ भनेर बिहान–दिउँसो जतिखेरै फोटो हाल्ने, मान्छेलाई खुइल्याउने, जेसुकै कुरामा औंला उठाउनुपर्ने । अहिलेको अवस्थामा ‘राम्रो गर्छु, राम्रो होस्’ भन्नेका लागि टिक्न गाह्रो छ ।
बिहानदेखि बेलुकीसम्म ‘फुलटाइमर’ हुनुपर्छ । राति १२ बजे जनताले बोलाउँदा जानुपर्छ । तर, उसको व्यक्तिगत जीवन नहुने रहेछ । उसको पनि घर–परिवार, बालबच्चा छन् । वडाले दिने पारिश्रमिकले ऊ चल्न सक्दैन । उसले पनि बिहान–बेलुकी व्यापार–व्यवसाय गर्ने वातावरण दिनुपर्छ भन्ने कुरा बुझिदिए राम्रो हुन्थ्यो । – प्रस्तुति : मनकुमार गदाल







प्रतिक्रिया