सिडियोलाई थ्रेट गरेपछि ज्ञानेन्द्र शाही पक्राउ
ललितपुर । हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही पक्राउ परेका छन । ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० लाई नै थ्रेट गरेको तथ्य खुलेपछि शाही पक्राउ परेका हुन । मनपरी राहत बाँड्न नपाएको भन्दै शाहीले सामाजिक सञ्जालमार्फत सिडियोको नम्बर सार्वजनिक गरेका थिए ।
शाहीले विगत केही दिनदेखि जथाभावी राहत वितरण गर्दै आएका थिए । लकडाउनको समेत उल्लंघन गर्दै राहत वितरण गरेपछि स्थानीय प्रशासनले शाहीलाई स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर राहत बाँड्न भनेको थियो । तर, जथाभावी राहत वितरण गर्दै हिडेपछि प्रशासनले उनलाई नबाँड्न भनेका थियो ।

राहत वितरण गर्न नपाएपछि उनले प्रेस विज्ञप्ति निकाल्नुका साथै फेसबुक लाइभमा आएर सिडियोको नम्बर सार्वजनिक गर्दै दवाव दिन भनेका थिए । उनको सो भिडियो सार्वजनिक भएसँगै ललिपतुरका सिडियो भागिरथ पाण्डेलाई देश विदेशबाट फोनमा धम्क्याउने, मेसेजहरु पठाएर धम्की दिने क्रम बढेको थियो । शाहीको भिडियो सन्देशपछि देश विदेशबाट धम्की दिएपछि सिडियो पाण्डेले गृह मन्त्रालयका समकक्षीहरुसँग समेत परामर्श गर्नुभएको थियो ।
संक्रमणको महामारीका बेला जथाभावी राहत वितरण गर्दा जोखिम हुन्छ भन्दै प्रशासनले शाहीलाई सम्झाएको थियो । स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर राहत वितरण गर्दा जोखिम कम हुने सुझाव दिएका थिए । तर, शाहीले भिडियो सार्वजनिक गर्दै सिडियोलाई नै थ्रेट गरेपछि मंगलबार राति १० बजे उनको डेराबाट नै पक्राउ गरिएको हो ।
दिउँसोदेखि नै उनलाई पक्रनका लागि प्रहरीले निगरानी बढाएको थियो । तर, उनी भने डेरामा आएनन् । बेलुका डेरामा आएपछि उनी पक्राउ परे । ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले लकडाउन उल्लंघन गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।
के हुन्छ कारवाही रु
पक्राउ परेका शाहीलाई तत्काल लकडाउन उल्लंघनको आरोप छ । तर, उनलाई प्रहरीले संक्रमण ऐन, २०२० लगाउने तयारी गरेको छ । शाहीको भिडियो सन्देशपछि सिडियो पाण्डेलाई फोन, मेसेजमार्फत धम्की दिनेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।
देशका विभिन्न स्थानबाट धम्की दिनेबारे नेपाल प्रहरीको साइबर व्यूरोको समन्वयमा अनुसन्धान प्रक्रिया अघि बढाउने ललितपुर प्रहरीले तयारी थालेको अनुसन्धान अधिकृतले बताउनु भयो । विदेशबाट धम्की दिनेहरुबारे इन्टरपोलमार्फत उनीहरुलाई पक्राउ गर्नेबारे प्रक्रिया अघि बढाउने तयारीमा प्रहरी छ ।
शाही यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौजमा उत्रिएका थिए । उनलाई ललितपुर प्रहरीले नै यसअघि पनि पक्राउ गरेको थियो । शाहीको साथमा शक्तिराज शाही पनि पक्राउ परेका छन् । शक्तिराज ज्ञानेन्द्रका घरपेटी हुन् । उनी ज्ञानेन्द्रका चालक समेत रहेको प्रहरीले जनाएको छ ।